Comments Add Comment

सीपीएलको लिग चरणमा सन्दीपको स्पिन जादु

२३ भदौ, काठमाडौं । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली स्पिनर सन्दीप लामिछानेको बलिङ खुबै चम्केको छ । लिग चरण सकिँदा उनी प्रतियोगिताकै घातक बलरहरुको सुचीमा अटाएका छन् ।

जमैका तालावाजबाट खेलिरहेका सन्दीपको स्ट्राइक रेट र इकोनोमी दुवै राम्रो छ । उनले लिग चरणका सबै १० वटा म्याच खेल्दै (९ वटा म्याचमा बलिङ) १२ विकेट लिन सफल भए । विकेट संख्याभन्दा उनको इकोनोमी बढी आकर्षक छ । उनले प्रतिओभर मात्र ५.०५ को औसतमा रन खर्चेका छन्, जुन टि–२० मा निकै लोभलाग्दो हो । अहिलेसम्म कुनै पनि टिमका ब्याट्सम्यानले सन्दीपविरुद्ध खुलेर ब्याट चलाउन सकेका छैनन् ।

सन्दीपको टिम जमैकाले आफ्नो अन्तिम लिग म्याच हिजो राति सेन्ट लुसियाविरुद्ध खेल्यो । यस खेलमा पनि सन्दीपको स्पिन विपक्षी ब्याट्सम्यानले पढ्न सकेनन् । पहिलो तीन ओभरमा सन्दीपले एक मेडनसमेत राख्दै केवल ८ रन खर्चेका थिए । चौथो ओभरमा एक छक्का र चौका खाँदा उनको इकोनोमी ५ मा उक्लियो । तर पनि आफ्नो टिमका सबैभन्दा किफायती बलर सन्दीप नै भए । उनले चार ओभरमा २० रन खर्चेर एक विकेट लिए ।

सन्दीपले उत्कृष्टता देखाए पनि जमैकाले खेल हार्‍यो । ब्याट्सम्यानहरुले खराब प्रदर्शन गर्दा उसले १ सय ४६ रनको सामान्य लक्ष्यसमेत भेट्न सकेन । यो हारले जमैकालाई ठूलो धक्का भने लागेन किनकी उसले पहिल्यै सेमिफाइनलमा स्थान बनाइसकेको थियो । तर, लगातार चारवटा म्याचमा हार व्यहोर्दा टिमको मनोबल खस्केको पक्कै छ । जमैकाले १० वटा म्याचमध्ये ३ वटामा मात्रै जित हासिल गरेको थियो ।

जमैकासँग सन्दीपसँगै अफगानी युवा स्पिनर मुजिब उर रहमान पनि छन् । एउटै स्तरका मानिने यी दुई बलरको प्रदर्शनको तुलना पनि भइरहेको छ । मुजिबले सन्दीपले भन्दा बढी विकेट लिएका छन् । अहिलेसम्म प्रतियोगितामै सबैभन्दा बढी १५ विकेट (इमरान ताहिरसँग बराबरी) लिने बलर हुन् मुजिब । इकोनोमीमा भने मुजिबभन्दा सन्दीप अगाडि छन् । मुजिबको इकोनोमी ५.२३ छ । सन्दीप र मुजिबको स्पिन जोडी हरेक विपक्षी टिमका लागि टाउको दुखाई बनिरहेको छ ।

यस सीपीएलमा सन्दीपको प्रदर्शनमा यति राम्रो एकरुपता छ कि उनले बलिङ गरेका कुनै पनि म्याचमा विकेटविहीन रहनुपरेको छैन । जमैकाले खेलेका १० म्याचमध्ये ९ वटामा उनले बलिङ गरेका थिए । वर्षाले प्रभावित एउटा म्याचमा भने उनले बलिङ गर्न पाएनन् । ६ वटा म्याचमा उनले एक–एक एक विकेट लिए भने तीन म्याचमा २–२ विकेट प्राप्त गरे ।

यस प्रतियोगितामा खेलिरहेका अन्य स्पिनरहरुमा साउथ अफ्रिकाका इमरान ताहिर, अफगानिस्तानका रसिद खान, वेस्ट इन्डिजका सुनिल नारिन, अफगानिस्तानका मोहम्मद नाबी, न्यूजिल्यान्डका मिचेल सान्टनर लगायत छन् । उनीहरु सबै वल्र्ड क्लास स्पिनर हुन् । सन्दिप उनीहरुभन्दा कमजोर देखिएका छैनन् । अफगानिस्तानका चर्चित स्पिनर रसिद खान अहिलेसम्म विकेट संख्या र इकोनोमी दुवैमा सन्दिपभन्दा पछाडि छन् । लिग चरणका १० वटै खेल खेलका रसिदको विकेट संख्या ११ र इकोनोमी ६.८५ छ ।

यो प्रतियोगितामा वर्ल्ड क्लास ब्याट्सम्यानहरुको भने कमी छ । अधिकांश टीममा वेस्ट इन्डियन ब्याट्सम्यान छन् । वेस्ट इन्डिजका ब्याट्सम्यान ठूला सट खेल्न माहिर हुन्छन्, तर घुमेर आउने बलसँग भने संघर्ष गर्ने गरेका छन् । त्यसको फाइदा स्पिनरहरुलाई मिलेको छ ।

सन्दीपले खेलेको यो तेस्रो सीपीएल हो । पहिलो पटक २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको थियो । त्यसमा आफूलाई प्रमाणित गरेपछि सन्दीपको मूल्य आकाशियो । अघिल्लो सीपीएलमा उनलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर हाल्यो । यसपालीको सीपीएलमा जमैकाले उनलाई अझ महंगो मूल्य (९० हजार डलर) मा खरिद गरेको हो ।

आफूमाथि हालिएको महंगो मूल्यको औचित्य सावित गरेका छन् र टिम व्यवस्थापनलाई सन्तुष्ट बनाएका छन् । यद्यपि, सेमिफाइनल र फाइनल (यदि पुग्यो भने) मा उनको अन्तिम परीक्षा बाँकी नै छ । लिगमा चौथो स्थान बनाएको जमैकाले सबै खेल जितेर पहिलो स्थानमा रहेको ट्रिनबागो नाइट राइडरसँग सेमिफाइनलमा भिड्ने छ ।

त्यसो त अन्तर्राष्ट्रिय–२० फ्रेन्चाइजमा सन्दीपले आफूलाई प्रमाणित गरिसकेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) देखि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) सम्ममा उनको क्षमता देखिएको छ । अघिल्लो वर्ष भएका फ्रेन्चाइज प्रतियोगिताहरुमा भने उनको प्रदर्शन सोचेजस्तो हुन सकेको थिएन । अहिले सीपीएलमा फेरि उनी उत्कृष्ट लयमा फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment