Comments Add Comment

कोरोना संक्रमितको शव विसर्जनमा लफडा : विज्ञ भन्छन् ‘त्रास र भ्रम बढी भो’

जब कोरोना संक्रमितको मृत्यु हुन्छ, शव व्यवस्थापन झमेला बन्छ । सुरक्षित ढंगले शव विसर्जन गर्न अनेकन अड्चन छ । न परिवारजन-आफन्तले शवलाई विधीपूर्वक सद्गद गर्न पाउँछन्, न गाड्ने-जलाउने ठाउँ नै ।

संक्रमितको शव विसर्जन गर्न खोज्दा कहीँ छिःछि गर्ने त कहीँ ढुंगामुढा गर्ने प्रवृत्ति देखिन्छ । अर्कोतिर के पनि देखिन्छ भने, कोरोना संक्रमितको शवलाई व्यवस्थापन गर्ने क्रममा सलाम (स्यालुट) गरिएको ।  यसले केही साझा प्रश्न पैदा गरिदिएको छ । के कोरोना संक्रमितको शवलाई सुरक्षित ढंगले आफन्तले नै विधीपूर्वक व्यवस्थापन गर्न मिल्दैन ? के आफ्नो वसोबास क्षेत्र नजिक कोरोना संक्रमितको शव गाड्न, पोल्न दिएमा त्यहाँ भाइरसको भयानक जोखिम बढ्छ ?

पहिलो पटक जेठ ३ मा धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव व्यवस्थापन आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा जलाएर गरियो । उनको मृत्युपछि न त परिवारले अन्तिमपटक अनुहार हेर्न पाए न त शवलाई नै । उनीहरूमा एक किसिमको त्रास पैदा गराइयो कि कोरोनाका कारण मृत्यु भएका व्यक्तिको नजिक गयो भने कोरोना सरिहाल्छ भनेर ।

पीपीई लगाएका स्वयंसेवकहरूको सहयोगमा साइरन बजाएर ती महिलाको शव पशुपति ल्याइयो । जेठ ३ देखि भदौ २२ गतेसम्मको तथ्यांक हेर्दा हालसम्म ३०० जनाको ज्यान गइसकेको छ । एकाधको रिपोर्ट आउनुपूर्व नै अन्त्येष्टि भएको बाहेक अरू सबैको आफ्नो संस्कार विपरीत शव व्यवस्थापन मात्रै गरिएको छ, न कि दाह संस्कार र अन्त्येष्टि कर्म ।

जोखिमका बीच किन शव व्यवस्थापनमा परिवारका सदस्यलाई सहभागी गराउनु प¥यो ? जोखिमबाट बच्न संस्कृतिको पछि लागेर हुँदैन भन्ने तर्क पनि आउला । विज्ञहरू भने मृत्यु भइसकेका व्यक्तिबाट कोरोना सर्ने सम्भावना अत्यन्त कम हुने भएकोले सुरक्षा सावधानी अपनाएर परिवारकै सदस्यले परम्परा अनुसार मृतकको अन्त्येष्टि गराउँदा कुनै जोखिम नहुने दाबी गर्छन् । उनीहरू मृतकबाट कोरोना संक्रमण सर्ने सम्भावना न्यूनातिन्यून हुने दाबी गर्छन् ।

डा. समीरमणि दीक्षित भन्छन् ‘अहिले शव व्यवस्थापनको नाममा आफ्नो संस्कार विपरीत शव व्यवस्थापन गर्ने कार्यविधि बनेको छ, त्यो गलत हो । मृत्यु भएका व्यक्तिबाट कोरोना संक्रमणको जोखिम अत्यन्त कम हुने गर्छ ।’

डा. समीरमणि दीक्षित

अन्त्येष्टि संस्कार अघि विभिन्न जातजातिको आ–आफ्नै विधि हुन्छ । अधिकांशको मृत्युलगत्तै नाकमा कपास राख्ने प्रचलन हुन्छ । शवलाई सेतो कपडाले छोप्ने । मृत्युका कारण भावुक बनेका अभिभावकहरूले अंकमाल नै गर्दा समेत मृतकको शरीरमा रहेको संक्रमण नसर्ने गरी विधि पु¥याइएको हुन्छ । जोकोहीलाई शव छुन नदिने, मलामी गएकाहरू घाटमा गएपछि अनिवार्य नुहाउनुपर्ने र घर फर्किएपछि समेत शुद्ध बनेपछि मात्रै अरूलाई छुन सकिने संस्कारहरू छन् । मृतकको बढी संसर्गमा रहने छोराछोरी र श्रीमतीलाई १३ दिनसम्म कसैले छुन नमिल्ने गरी किरिया कर्ममा जोड्ने संस्कार पनि छ । तर कोरोना भाइरसको संक्रमणको त्रास देखाएर बनाइएको नयाँ कार्यविधि पश्चिमाको सिको गरेर बनाइएको आरोप लगाउँछन् डा. दीक्षित ।

दीक्षित भन्छन् ‘मृतक व्यक्तिले न सास फेर्छ न खोक्ने वा हाछ्युँ गर्ने नै गर्छ । आफूले उसको शरीरमा छुँदा संवेदनशील बन्ने हो भने मृतकबाट कोरोना सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन । परिवारका सदस्यलाई हेर्न पनि नदिई शव व्यवस्थापनमा लाग्नु उपयुक्त होइन ।’ उनले हिन्दु संस्कार अनुसार गरिने अन्त्येष्टि कर्ममा सावधानीका सबै विधिहरू पूरा रहेको दाबी पनि गरे ।

के छ जेठमा बनाएको कार्यविधिमा ?

जेठमा स्वास्थ्य मन्त्रालयले बनाएको शव व्यवस्थापन सम्बन्धी कार्यविधिले कोरोना संक्रमितको मृत्यु भएमा नाक, कान लगायतका श्राव हुने अंगहरू पूर्ण रुपमा बन्द गर्नुपर्ने, शवलाई आइसोलेसन वा भेन्टिलेटरबाट बाहिर निकाल्नु अगाडि पूरै प्लाष्टिकले ढाकेर निकाल्नुपर्ने र आफन्तले शव हेर्न चाहेमा सोही अवस्थामा एक मिटरको दुरी कायम गरेर मात्रै देखाउन सकिने उल्लेख छ ।

अन्त्येष्टिको समयमा शव गाड्ने वा जलाउने स्थलमा जाने व्यक्तिले हातको विशेष सरसफाइ गर्नुका साथै मास्क र पञ्जाको प्रयोग गर्ने,

अन्तिम समयमा आफन्तले मृतकलाई हेर्न चाहेमा १ मिटरको दुरी कायम गरी अनुहारमात्रै देखाइदिने, धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्दा शरीरलाई नछोइ टाढैबाट पानी छिट्याउन लगाउने जस्ता कुरा उल्लेख छ । तर व्यवहारमा त अहिले यो पनि गर्ने गरिएको छैन । कोरोना भाइरसको संक्रमणको त्रास देखाएर कतिपय शवहरू परिवारलाई देखाउँदै नदेखाइ समेत अन्त्येष्टि गर्ने गरिएको पाइन्छ । जुन गलत रहेको डा. दीक्षित बताउँछन् ।

न्त्येष्टि संस्कारमा विशेषतः के-के गरिन्छ ?

अन्त्येष्टि संस्कारमा कुनै मान्छेको मृत्यु लगत्तै उसलाई तत्कालै घर बाहिर निकाल्ने गरिन्छ । हिन्दु संस्कार अनुसार आँगनमा रहेको तुलसीको मठ छेउमा लगेर सुताउने गरिन्छ । उसको सबैभन्दा पहिले मुख खुल्ला भए बन्द गर्ने र नाकमा कपास कोचेर शिरदेखि खुट्टासम्म ढाक्ने गरी सेतो कपडा ओढाउने गरिन्छ । आफन्तबाहेक अरूलाई शव छुने अधिकार हुँदैन भने सकेसम्म आफ्ना छोराछोरी र आफन्छले नै शवलाई खटमा राख्ने गर्छन् ।

धेरै जातजातिको संस्कार यहाँसम्म एउटै हुन्छ । शव लैजाने र घाटमा लगेपछिको संस्कार विभिन्न जाति अनुसार फरक फरक हुन्छ । तर सबै जाति र धर्ममा शवलाई अन्त्येष्टि गरिसकेपछि सबै मलामी नुहाउने गर्छन् । लगाएको कपडासहित नुहाउनु पर्ने संस्कारले पनि महामारीबाहेकको अरू समयमा समेत कति सावधानी अपनाइन्थ्यो भन्ने कुरालाई मान्न सकिन्छ । अन्त्येष्टिपछि मलामीहरूले सोही ठाउँमा आफ्नो शरीर शुद्धीकरणको काम सम्पन्न गर्ने गर्छन् । त्यसैमाथि घरमा आएर पनि शुद्धीकरणमा ध्यान दिइन्छ । घरमा आएपछि समेत २४ घण्टासम्म अरूलाई नछुने परम्परा छ । यति सुरक्षा मापदण्ड अपनाउने संस्कार हुँदाहुँदै पनि अनावश्यक त्रासमा राखेर शव व्यवस्थापनमा सरकारी हस्तक्षेप गर्नु उपयुक्त नरहेको डा. दीक्षितको तर्क छ ।

कोरोना संक्रमितको शवलाई अनकन्टार ठाउँमा ‘फिनिसिङ’ ?

आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित ‘कोरोना रोकथामबारे सरकारको काम कारबाही अध्ययन उपसमिति’ले सिंहदरबारमा गरेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) र उपत्यका नगरपालिका फोरमका प्रतिनिधिहरूलाई छलफलको लागि बोलाएको थियो । छलफलका क्रममा तीनै जिल्लाका प्रजिअहरूले निषेधाज्ञाको निर्णयको बारेमा छलफल गर्नुका साथै शव व्यवस्थापनको विषयमा समेत गुनासो गर्न भ्याए ।

काठमाडौंमा कोरोना संक्रमितहरूको शव व्यवस्थापनका लागि समेत ठाउँ खोज्नुपर्ने अवस्था आएको काठमाडौंका प्रजिअ जनकराज दाहालले सुनाए भने यसका लागि स्थानीय तहहरूले अनकन्टार ठाउँ खोजेर फिनिसिङको काम थाल्नुपर्ने सुझाव पनि दिए । यही रूपले संक्रमण बढ्यो र सयौँ मानिसको मृत्यु हुन थाल्यो भने त्यस्तो अवस्थामा के गर्ने ? भन्ने उनको प्रश्न थियो । उनले भने ‘यस्तो स्थिति त नआओस् तर तयार भएर बस्नुपर्छ, शव व्यस्थापनको विषय काठमाडौंमा चुनौतीपूर्ण बन्दै गएको छ ।’

शव व्यवस्थापनकै विषयमा लतिपुरका प्रजिअ नारायण भट्टले झनै रोचक कुरा सुनाए । ‘केही दिनअघि पाटन अस्पतालमा एकजनाको मृत्यु भयो,  सुरुमा मृतकको आफन्त खोज्दा भेटिएन । कोरोना संक्रमितलाई धेरै दिन त्यसै राख्नु पनि भएन ।

मृतकको आफन्त खोज्दा नभेटिएपछि सेनाले शवको व्यवस्थापन गरेपछि आफन्त आएर सुरुमा थाहै नपाएको भन्दै आफन्तले ‘शव खोइ ?’ भन्दै खोजी गर्न थाले’ भट्टले सुनाए ‘फरक–फरक धर्मका मृतकको आ–आफ्नै ढंगले व्यवस्थापन गर्नुपर्ने भएकाले त्यो विषयमा अप्ठ्यारो आउने गरेको छ । यही कारणले दुई तीनदिनसम्म पनि शव व्यवस्थापन गर्न गाह्रो हुने गरेको छ ।’ भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भने शव व्यवस्थापनका लागि अप्ठ्यारो होला भनेर जिल्लामा ठाउँ हेरिसकेको र हाललाई समस्या नरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment