Comments Add Comment

म्यूजिक भिडियोः ‘फेसबुकमा महंगो प्रचार तर भ्यूजको हाहाकार’

आफ्नो उत्पादनको प्रचार गर्न किन पाइदैन ? के म्यूजिक भिडियोलाई फेसबुकमा वुष्ट गर्नु गलत हो र ? बुष्ट गर्दैमा गीतको भ्यूज बढ्ने र ट्रेन्डिङमा आउँछ र ?

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो एक हप्तामा सर्वाधिक देखिएका र चर्चा गरिएको प्रश्न यीनै हुन् । गीतसंगीतको बुष्ट गर्ने क्रम ह्वात्तै बढेपछि यसको आलोचना र समर्थन दुबै भैरहेको छ । हुनत, राष्ट्र बैंकले अनाधिकृत रुपमा विदेशमा पैसा पठाउनु गलत भनेको छ । यसैले, पनि फेसबुकमा डलर खर्च गरेर गीतको प्रचार गर्नु कानुनी रुपमा गलत हो । तर, आफ्नो सामाग्रीको प्रचार गर्न पाइने र अहिले डिजिटल यूग भएकाले प्रचारको तरिका फेरिएको भिडियोका निर्माता–निर्देशक बताउँदै आएका छन् ।

म्यूजिक भिडियो सार्वजनिक गरेपछि त्यसलाई सकेसम्म धेरै दर्शकमाझ पुर्याउन हरेक कोही चाहन्छ । यसैले, पनि प्रचारका लागि रकम खर्च गर्ने  क्रम बढेको छ ।
अहिले म्यूजिक भिडियो बनाउन सजिलो छैन । पछिल्लो केही समयदेखि भिडियोमा एनआरएनहरुको लगानी ह्वात्तै बढेको छ । विदेशमा बसेर आफै गीत गाउने, गीत लेख्ने वा मोडलिङ गर्नेहरुले भिडियोमा महंगो लगानी गरिरहेका छन् ।

अर्कोतिर, महंगा कलाकार, महंगो प्रचारका कारण पनि भिडियोमा लगानी ह्वात्तै बढेको छ । जसमध्ये, निकै कम मात्र भिडियोका निर्माता सुरक्षित छन् । युटुब बाहेक लगानी फिर्ता हुने श्रोत अरु नभएकाले पनि म्यूजिक भिडियोमा लगानी गर्नु एउटा रहर मात्र भएको देखिन्छ । तर, यसले कलाकार, फेसबुक र त्यो टिमसँग आवद्ध अन्य व्यक्तिहरुलाई भने फाइदा नै भएको छ । एक लाखसम्म लिने कलाकार, २–३ लाखसम्मको फेसबुक प्रचारले भिडियोलाई महंगो बनाइदिएको छ ।

तर, म्यूजिक भिडियोमा महंगो रकम खर्च गरेर गरिएको बुष्टकै कारणले के निर्माताले सोचेजस्तो सफलता गीतले पाएको छ त । राम्रा र दर्शकले मन पराएका गीतलाई बुष्ट नै नगरेपनि दर्शकले रुचाएका र लगानी उठाएका उदाहरण धेरै छन् । तर, २४ घन्टामै रेकर्ड ब्रेक गर्ने, भ्यूजमा को अघि को पछि भन्ने तछाडमछाडले निर्माताको टाउकोमा खर्चको भारी बोकाइदिएको छ । कतिपय लगानीकर्ताले भने आफै युटुब च्यानल खोलेर गीत अपलोड गरेका कारण पनि च्यानललाई नै हिट बनाउन पनि उनीहरुले महंगो प्रचार गरिरहेका छन् ।

सर्वाधिक प्रचार गरिएका पछिल्ला केही गीतका अवस्था कस्तो छ, आउनुहोस् अब चर्चा गरौ ।

१. मुनाः ९ लाख भन्दा बढी सब्सक्राइवर भएको च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोलाई फेसबुकमा सर्वाधिक प्रचार गरिएको थियो । एक दर्जन भन्दा बढी फेसबुक पेजबाट प्रचार गरिएको यो गीतलाई एक सातामा करिब २२ लाखले हेरेका छन् । लामो समयदेखि यो गीत ३ नम्बर ट्रेन्डिङमा छ ।

नाजिर हुसेन, स्वस्तिमा खड्का, रियाशा दाहाल जस्ता नाम चलेका कलाकार भएकाले पनि यो गीत महंगो लगानीमा निर्माण भएको वुझ्न गाह्रो पर्दैन । निर्माताले लाखौं खर्च गरेर फेसबुकमा प्रचार गरेका थिए । गीतले विस्तारै भ्यूज बटुलिरहेको छ । तर, प्रचार अनुसार गीतको भ्यूज अपेक्षित भने होइन । राज खम्बु र सुजता वर्माको आवाजमा समावेश यो गीत आफैमा राम्रो थियो । भिडियोका निर्देशक शान थापाले निर्देशनमा पनि राम्रै काम गरेका छन् ।

तर, गीत फेसबुकमा सर्वाधिक प्रचार गरिएका कारण यसको चर्चा भन्दा बढी आलोचना भयो । जसले, गीत राम्रो हुँदा हुँदै पनि चर्चा अरु नै कारणले बढी हुँदा यसको वास्तविक सौन्दर्यता ओझेलमा पर्यो । तर, यसका निर्मातालाई भिडियोबाटै लगानी उठाउन भने गाह्रो पर्ने निश्चित छ ।

२. धानै कुट्ने ढिकीः पवन वली र विष्णु माझीको आवाजमा समावेश यो गीतको भिडियोलाई पनि फेसबुकमा प्रचार गर्न कुनै कसर बाँकी राखिएन । गत साता, फेसबुकमा ‘मुना’कै हारहारीमा यो गीतलाई पनि बुष्ट गरिएको थियो । पल शाह, एलिजा गौतमको मोडलिङ रहेको यो गीत मिठो छ ।

करिब ५७ हजार सब्सक्राइबर भएको आफ्नै च्यानलबाट गायकले गीत रिलिज गरेका थिए । यो गीतलाई सार्वजनिक भएको एक सातामा ७ लाख भन्दा बढी पटक हेरिएको छ । जसलेगर्दा, गीतको भ्यूज अनुसार निर्माताले लगानीको थोरै हिस्सा पनि उठाउन नसक्ने निश्चित छ । सायद, प्रचारको रकम पनि उठाउन निर्मातालाई समस्या पर्ने देखिन्छ ।

३.लज्जावती झार जस्तैः गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘लज्जावती झार’ बोलको गीत ४ दिन अगाडि सार्वजनिक भयो । यो गीत पनि सामाजिक संजाल फेसबुकमा सर्वाधिक प्रचार गरिएको गीतमा पर्छ ।

हुनत, महेशले यसअगाडि सार्वजनिक गरेका २ गीत ‘हावा चल्यो सिरिरी, माया बिरानी’ले युटुबमा ६ र ५ करोड बढी भ्यूज बटुलेका छन् । यसैले, यो गीतमाथि पनि दर्शकको अपेक्षा धेरै हुनु स्वभाविक नै हो । ४ लाख ५५ हजार सब्सक्राइबर रहेको युटुब च्यानलबाट रिलिज गरिएको यो गीतलाई ४ दिनमा ८ लाख भन्दा बढीले हेरेका छन् भने यो गीत ४ नम्बर ट्रेन्डिङमा छ । गीतले विस्तारै गती लिइरहेको देखिन्छ । महेशका अघिल्ला २ गीतको तुलनामा कमजोर भएपनि यो गीत राम्रो छ । तर, यही गतीको भ्यूजले लगानीकर्तालाई लगानी उठाउन भने समस्या पर्न सक्छ । गीतले विस्तारै गती लिने संभावना भने देखिएको छ ।

अहिले सार्वजनिक भएका ९५ प्रतिशत भन्दा बढी गीतलाई फेसबुकमा प्रचार गरिन्छ । ‘माया नयनी ताल’ बोलको गीतलाई यसको निर्माणपक्षले राम्रै रकम खर्च गरेर प्रचार गर्यो । तर, यो गीतले एक सातामा जम्मा ३ लाख २० हजार भ्यूज बटुलेको छ । रियाशा दाहाल, सुधिर श्रेष्ठ जस्ता कलाकार भएपनि गीत कमजोर हुँदा यसले खासै चर्चा पाएन ।

अन्जु पन्त र दुर्गेस थापाको स्वरमा समावेश ‘तिमी यति राम्री किन’ होस् या नाजिर हुसेन र जेविका कार्की अभिनित ‘गुलेलीमा’ बोलको गीत नै किन नहोस्, फेसबुकमा राम्रै प्रचार गरिएका यी गीतले पनि कुनै तहल्का पिटेनन् ।

लकडाउनपछि सार्वजनिक भएकामध्ये ९५ प्रतिशत गीतलाई फेसबुकमा धेरै वा थोरै रकम खर्च गरेर प्रचार गरिएको छ । तर, जबसम्म गीतको अडियो बलियो हुँदैन, गीतले कुनै कमाल गर्दैन भन्ने वुझ्न लगानीकर्ताले पनि आवश्यक छ ।

फेसबुकमा पैसा खन्याएर प्रचार गरेपनि, गीत हेर्ने वा नहेर्ने अधिकार दर्शकमा हुन्छ । अर्कोतिर, गीत जबसम्म बारम्बार सुन्न सक्ने बन्दैन तबसम्म गीतले दर्शकको उल्लेख्य माया पाउँछ भन्ने सोच्नु पनि बेकार छ । तर, आफ्नो सामाग्रीलाई प्रचार गर्न पाइन्छ भन्ने अधिकार सबैसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment