Comments Add Comment

कोरोना विशेष संसदीय समिति बनाउन माग गर्दै सभामुखलाई पत्र

२६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका २० जना सांसदले कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट गरी सांसदहरुले कोभिड १९ को कारणले दैनिक ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संस्था तथा सर्वसाधारणमा परेको असरको अनुगमन गर्ने गरी संसदीय समिति गठन गर्न उपयुक्त हुने बताएका छन् ।

उक्त समिमितले कोरोना नियन्‍त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्‍यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरुको भनाइ छ ।

सांसदहरुले आर्थिक वर्ष २०७६/७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र आर्थिक वर्ष ०७७/०७८ को रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव पनि गरेका छन् ।

यसअघि सांसदहरुले यहि बेहोराको पत्र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलेलाई पनि बुझाएका थिए ।काठमाडौंबाट प्रत्यक्ष र समानुपतिक गरी २० जना सांसद प्रतिनिधि सभामा छन् ।

जसमा नेकपाका माधवकुमार नेपाल, शशी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्‍ठ, कृष्‍ण राई, विन्दा पाण्डे, रामकुमारी झाँक्री, सरिता न्यौपाने, विना श्रेष्ठ, अञ्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने र सुजिता शाक्य रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका प्रकाशमान सिंह, गगन थापा, राजेन्द्र केसी, दिव्यमणि राजभण्डारी र भीमसेनदास प्रधान रहेका छन् । उक्‍त टोलीमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठ र रेनुका गुरुङ पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment