+

४२ वर्षअघि नेपालले खेलेको त्यो भलिबल

२०७७ भदौ  २६ गते १६:०५ २०७७ भदौ २६ गते १६:०५
४२ वर्षअघि नेपालले खेलेको त्यो भलिबल

२५ भदौ, काठमाडौं । नेपालले १९७६ मा भलिबलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, पाकिस्तानमा । त्यसपछि अर्को वर्ष एसियन गेम्सको तयारीका रुपमा चीन र रसियामा खेल्यो ।

सन् १९७८ डिसेम्बर ९ देखि २० सम्म थाइल्याण्डको बैंककमा आठौं एसियन गेम्स भएको थियो । नेपालको पुरुष भलिबल टिमले पहिलोपटक यो प्रतियोगिता खेल्दै थियो । त्यसका लागि लामो समय तयारी पनि गरेको थियो । नेपालले खेलेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता यही हो ।

त्यसअघि नेपालले खेलेका ३ अन्तर्राष्ट्रिय प्रतियोगितालाई आधिकारिक मान्यता थिएन । त्यसैले नेपालको सबै अन्तर्राष्ट्रिय खेलको गणना एसियन गेम्सबाटै हुने गर्छ । नेपालले चीन र रसियाको भ्रमण गरेपछि दुवै देशका टिम नेपालमा समेत मैत्रीपूर्ण खेल खेल्न आएका थिए । चिनियाँ टिम १९७७ मा र र रुसको टिम १९७८ मा नेपाल आएको थियो ।

पहिलोपटक पाकिस्तानमा खेलेका कुनै पनि खेलाडी एसियन गेम्स खेल्ने टिममा थिएनन् । चीनमा खेलेका टिमबाट भने महेन्द्रलाल श्रेष्ठ, जयनारायण चौधरी, दीपक सापकोटाजस्ता खेलाडीले एसियन गेम्समा निरन्तरता पाएका थिए । पाकिस्तानमा र चीनमा खेलेका रमेश गुरुङ र कपिल श्रेष्ठ पनि टिममा थिएनन् ।

एसियन गेम्समा नेपालको कप्तानी गरेका दिपक सापकोटा नेपालले एसियन गेम्सका लागि विदेशमा खेलेर राम्रो तयारी गरेको बताउँछन् । कम उमेरमै टिमको कप्तानी पाएका दीपकले एसियन गेम्सको उद्घाटन समारोहमा सम्पूर्ण नेपाली टोलीको समेत नेतृत्व गरेका थिए ।

‘ओपनिङ सेरेमनीमा मार्चपास गर्दा नेपालको झण्डा बोकेर अगाडि हिँडेको थिएँ । त्यसबेला भलिबलसँगै अरु खेलमा पनि नेपालले प्रतिस्पर्धा गरेको थियो । सबैभन्दा कम उमेरको मै थिएँ,’ उनले सुनाए ।

१७ वर्षमै राष्ट्रिय टिमको कप्तान भएका थिए दिपक । त्यसमाथि मार्चपासमा नेपालको झण्ड बोक्न पाउनु अर्को ठूलो गर्व थियो उनका लागि । ४२ वर्षअघिको कुरा भएकाले उनले कतिपय प्रसंग बिर्सिसकेका छन् । तर केही मिठा यादहरु उनीसँग छन् ।

बैंककमा भएको एसियन गेम्समा भलिबलतर्फ नेपाल रहेको पुलमा एसियन च्याम्पियनसीप जितिसकेको जापानसमेत थियो । संयोगवस नेपालको पहिलो खेल जापानसंगै पर्यो ।

त्यो बेला नेपाललाई जापानी प्रशिक्षकले भलिबल सिकाउँथे । पहिलो दुई विदेश भ्रमणमा नेपालका प्रचण्डबहादुर सिंह प्रशिक्षक बनेर गएका थिए । एसियन गेम्समा प्रचण्डसँगै जापानी प्रशिक्षक पनि नेपाली टिममा थिए ।

त्यो बेला जापानले नेपाललाई कम आँकेर सुरुमै बेन्चका ६ खेलाडीलाई खेलाएको दिपक सम्झन्छन् ।

‘हामी नयाँ टिम भएकाले कमजोर आँकलन गरेर होला, उनीहरुले अनुभवी खेलाडीलाई सुरुमा नखेलाई दोस्रो रोजाईंको टिम खेलाए,’ दीपक भन्छन् ।

खेलमा नेपाली टिमले सुरुमै ३ अंक लगातार बटुलेपछि भने जापानी टिम झस्कियो र प्रशिक्षकले पहिलो रोजाईका खेलाडी छिराए । त्यसपछि भने नेपालको केही जोर चलेन । नेपाल सोझो सेटमा पराजित भयो ।

नेपाली टोलीका अर्का सदस्य गंगा थापा मगरले नेपालले समूह चरणमा चार खेल खेलेको बताए । जापानपछि कुवेत, बंगलादेश र युएईसंग नेपालले खेलेको थियो ।

‘पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा हामीले राम्रो अनुभव लियौँ, खेल भने गुमायौँ,’ दीपकले भने, ‘युएईविरुद्ध भने हामीले राम्रै अंक जोडेका थियौँ ।’

ती खेलहरुको स्कोर भने भेट्न सकिएको छैन । त्यो बेला थाइल्याण्डमा एक पत्रिकाले एसियन गेम्समा भलिबलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुको सूची तयार पारेको थियो । त्यसमा नेपालका दिपक सापकोटाको नाम पनि अटायो । त्यो दिपक र नेपालको लागि पनि गर्वको कुरा थियो ।

‘प्रतियोगितामा राम्रो स्कोर गर्ने खेलाडीहरुको नामावली प्रकाशित गर्दा मेरो नाम ११औं नम्बरमा आएछ,’ उनले भने ।

नेपालले सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको नवौं एसियन गेम्समा पनि भलिबलमा प्रतिस्पर्धा गरेको थियो । लगातार दुई संस्करण एसियन गेम्स खेलेको नेपालले त्यसपछि एसियन गेम्स खेल्न ३६ वर्ष कुर्नुपर्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा नेपालको पुरुष भलिबल टोलीले पुनरागमन गरेको थियो । नेपालको पुरुष भलिबल टिमले अहिलेसम्म तीन वटा एसियन गेम्समा मात्रै प्रतिस्पर्धा गरेको छ ।

१९७८ एसियन गेम्स खेल्ने नेपाली भलिबल टिम

दीपक सापकोटा (कप्तान), रामकुमार विष्ट, राकेश श्रीवास्तव, तिर्थमान श्रेष्ठ, हरिहर श्रेष्ठ, जयनारायण चौधरी, गंगा थापा मगर, अकलबहादुर चन्द, मिलन गुरुङ, महेन्द्रलाल श्रेष्ठ, मानबहादुर कुँवर, खड्गबहादुर

मिचु हिरो इतो : मुख्य प्रशिक्षक

प्रचण्डमान सिंह : प्रशिक्षक

खेलकुद भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय