Comments Add Comment

कैलालीमा हिरासतमा युवकको मृत्यु, हत्या भएको आफन्तको आरोप

आक्रोशित समूहद्वारा पत्रकारमाथि हातपात

२६ भदौ कैलाली । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका धनगढीका १९ वर्षका रोशन बिकको शुक्रबार विहान मृत्यु भएको छ ।

प्रहरीका अनुसार उनको शुक्रबार विहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार रोशन हिरासतको शौचालयमा झुण्डिएको प्रहरीले विहान ९ः १५ बजे थाहा पाएको थियो । त्यसपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो र चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनले शौचालयमा आफ्नै सर्टको पासो बनाएर झुण्डिएको भनी जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

भदौ २२ गते पक्राउ परेका रोशनमाथि चोरीसम्बन्धी मुद्धामा अनुसन्धानका लागि प्रहरीले भदौ २३ गते जिल्ला अदालतबाट अनुमति लिएर न्यायिक हिरासतमा राखेको थियो । हिरासतमा उनीसहित १४ जना थिए । प्रहरी स्रोतका अनुसार शुक्रबार विहान रोशन शौचालय गएका थिए र धेरैबेर नआएपछि खोजी गर्दा शाैचालयमा झुण्डिएको अवस्थामा  भेटिएका थिए ।

हिरासतमै युवकको मृत्यु भएपछि उनका आफन्त र परिवारजनले प्रहरीले हत्या गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबार दिनभरजसो जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन पनि गरे । उनीहरुले प्रहरीले आफूहरुलाई घटनाको ढिलो जानकारी दिनुमा रहस्य रहेको बताएका छन् ।

अहिले उनको शव धनगढीको सेती अस्पतालमा राखिएको छ । आफन्त र परिवारका सदस्यले रोशनको शरीरमा चोटसमेत देखिएको बताएका छन् ।  ‘प्रहरीले बुटले हानेर भाइको हत्या गरेको हो’ मृतकका दाजुले भने, ‘हामीलाई आत्महत्या भनिएको छ । यो आत्महत्या होइन । हत्या हो ।’

छानबिन समिति गठन

युवक मृत फेला परेको विषयमा छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

समितिमा २ जना प्रहरी निरीक्षकहरू पनि रहेका छन् । केही दिनभित्रै समितिले प्रतिवेदन तयार गर्ने र त्यो अनुसार कारबाही प्रक्रिया अघि बढाउने एसपी सिंहले बताए ।

सञ्चारगृहमा आक्रमण

शुक्रबार युवक मृत भेटिएको समाचारको विषयलाई लिएर धनगढीको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट भएको छ ।

शुक्रबार दिउँसो १०/१५ जनाको समूह कार्यालयमै प्रवेश गरेर सहसम्पादक जनक विष्टमाथि हातपात गरेको थियो । त्यस क्रममा व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहले विष्टलाई जोगाउन खोज्दा उनीहरुमाथि पनि हातपात भएको दिनेश सञ्चार गृहका सम्पादक नवराज पनेरुले बताए ।

दिनेश सञ्चार गृहको दिनेशखबर डटकममा युवकले हिरासतभित्रै आत्महत्या गरेको भनी समाचार प्रकाशित गरेको भन्दै आक्रोशित समूहले आक्रमण गरेको हो । ‘हामीले प्रहरी अधिकारीलाई नै सोधेर समाचार तयार गरेका हौँ’ सम्पादक पनेरुले भने, ‘एक्कसी कार्यालयमा आएर केही युवाहरूले समाचार किन लेखेको भन्दै आक्रमण गरे ।’ उनीहरुले समाचार डिलिट गर्न  पनि दबाब दिएका थिए ।

पत्रकार र सञ्चारकर्मीमाथिको आक्रमणको नेपाल पत्रकार महासंघलगायत प्रेससम्वद्ध विभिन्न संघसंस्थाल विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघले प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी हातपात गर्नु आपत्तिजनक र हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले उच्छृङ्खल व्यक्तिहरुको समूहले सञ्चार गृहमा आक्रमण गरेको जनाएको छ ।

पत्रकार महासंघ कैलाली शाखा, फोटो पत्रकार महासंघ, कैलाली, नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, नेपाल प्रेस युनियन कैलाली, थारु पत्रकार संघ कैलाली, सामुदायिक रेडियो प्रसारक संघ (अकारोव) सुदूरपश्चिम प्रदेश समिति, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) सुदूरपश्चिम प्रदेश समितिलगायतले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment