+
+
Shares

अन्त्येष्टिको भोलिपल्ट कोरोना पुष्टि : अस्पतालको लापरबाही, आफन्तमा सन्त्रास

अस्पताल र स्वास्थ्य निर्देशनालयको आरोप प्रत्यारोप

अमृत सुवेदी अमृत सुवेदी
२०७७ भदौ २७ गते २१:२०

२७ भदौ, पोखरा । कास्कीको पोखरा-५ मालेपाटनकी ४५ वर्षीया महिलाको स्वास्थ्य गम्भीर समस्या भएपछि परिवारका सदस्यले गैह्रापाटनको फिस्टेल अस्पताल पुर्‍याए ।

बुधबार भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला शुक्रबार मृत्यु भयो । बिहीबार बिहानै स्वाब लिएर परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामा पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भयो र अस्पताल प्रशासनले शुक्रबारै नै शव, परिवारका सदस्यहरुको जिम्मा लगायो ।

शुक्रबार नै रामघाटमा अन्तेष्टि गरियो । ठूलो संख्यामा मलामी सहभागी भएका थिए । तर शनिबार खबर आयो, मृतकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । यसले परिवारका सदस्य तथा आफन्तमा सन्त्रास बढेको छ । अस्पतालले लापरवाही गरेको भन्दै आक्रोस पनि पोखेका छन् ।

४५ वर्षीया महिलालाई ब्लड क्यान्सर भएको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल लैजादा दुबै मिर्गाैलाले पनि काम नगरेको चिकित्सकले बताएका थिए । स्वाब दिइसकेपछि रिपोर्ट पर्खिनेबारे आफन्तले सल्लाह गर्दा अस्पतालले नै कोरोनाले मृत्यु नभएको बताएपछि शव बुझेर अन्त्येष्टि गरिएको आफन्त बताउँछन् ।

‘यो अस्पतालको गम्भीर लापरबाही हो । भर्ना गरेको भोलिपल्ट मात्रै स्वाब लिइयो र रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइएयो । अन्त्येष्टि गरेको भोलिपल्ट कोरोना पोजेटिभ देखियो,’ मृतक महिलाकी आफन्त समेत रहेकी माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले भनिन्, ‘अहिले आफन्त र मलामी सबै त्रसित छन् । अस्पतालमा पनि बिरामीसँग थुप्रै आफन्त सम्पर्कमा थिए ।’

शवको व्यवस्थापनमा आफू समेत खटिएको बताउँदै पौडेलले १ सयभन्दा धेरै जना अन्तेष्टिमा सहभागी भएको जानकारी दिइन् । माछापुच्छ्रे गाउँपालिका-३ का स्थायीवासी मृतक परिवार पोखरा मालेपाटन बस्दै आएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले पनि अस्पतालले गम्भीर लापरबाही भएको बताएको छ । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले स्वाब परीक्षणका लागि पठाएपछि नतिजा नआउँदै शव जिम्मा लगाउनु लापरबाही भएको बताए । ‘रिपोर्टका लागि एक दिन पनि कुर्न नसक्ने भन्ने हुन्छ ? स्वाब परीक्षणका लागि पठाएपछि नतिजा पर्खनुपर्छ,’ शर्माले भने, ‘यस्तो माहामारीमा गम्भीर विषयलाई अस्पतालले सामान्य रुपमा लिन हुँदैन ।’

तर अस्पतालका निर्देशक अशोक पालिखे भने प्रयोगशालाले ढिलो रिपोर्ट पठाउँदा यस्तो भएको बताउँछन् ।

‘ढिलो रिपोर्ट पठाउँछ, हामीलाई जानकारी दिँदैन । मैले पनि मिडियामार्फत मात्रै जानकारी पाएँ,’ सञ्चालक पालिखेले भने, ‘यो प्रयोगशालाको गल्ती हो । अरु रोगले सिकिस्तै पारिसकेको थियो । समयमै रिपोर्ट दिएको भए, यस्तो हुँदैनथ्यो ।’

फिस्टेलमै नियमित चेकजाँच गराइरहेकी महिलामा किड्नी, मुटु र क्यान्सरको पुरानै बिरामी भएकाले डाक्टरलाई कोरोनाको शंका नलागेको उनको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय र अस्पतालले यो घटनामा एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । अस्पतालले रिपोर्ट नै ढिलो पठाएको बताउँछ भने निर्देशनालयले स्वाब ढिला आएको र गम्भीर बिरामी भएको जानकारी नदिएको बताउँछ ।

खास स्वाब परीक्षणको नतिजा दिन किन ढिलाइ हुन्छ ? प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मा भन्छन्, ‘ढिला भएको होइन, यो अस्पतालले हेलचेक्याइँ गरेको हो ।’ स्वाब परीक्षणको नतिजा ढिला आयो, त्यसैले शव आफन्तलाई बुझायौं भन्ने अस्पतालको भनाइ गलत भएको निर्देशनालय बताउँछ । उनले अघि भने, ‘यो गम्भीर खालको बिरामीको स्वाब हो भनेर जानकारी दिनुपथ्र्यो । नत्र हामीले प्रोटोकल अनुसार परीक्षण गरिरहेका हुन्छौं ।’

सरकारले अझै पनि सतर्कता अपनाउन र २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिरहेको छ । तर अन्त्येष्टिमा सांसद, जनप्रतिनिधिदेखि स्थानीय सहभागी भएको पाइएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?