Comments Add Comment

राजविराजको आइसोलेसनमा कुटाकुट

२७ भदौ, सप्तरी । राजविराजस्थित आइसोलेसन केन्द्रमा कोरोना संक्रमित व्यक्ति र खाना खुवाउने पक्षबीच विवाद र कुटाकुट भएको छ ।

कोरोना संक्रमितलाई राख्नका लागि गजेन्द्रनारायण सिंह अस्पताल अन्तर्गत साइकृणा मेडिकल कलेजको भवनमा आइसोलेसन बनाइएको छ । आइसोलेसन केन्द्रमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिबीच विवाद भएको हो ।

त्यस क्रममा केही संक्रमितले बाहिर राखिएका टेबुल, कुर्सी तोडफोड गरेका छन् । यसक्रममा केही व्यक्ति घाइतेसमेत बनेका छन् ।

समयमा चिया र खाना नदिने गरेको र दिए पनि गुणस्तरहीन खाना रहेको भन्दै संक्रमितले फर्निचर तोडफोड गरेका हुन् । उनीहरुले आइसोलेसन बाहिर खाना राख्ने टेबुल तोडेका हुन् ।
खाना राम्रो नदिएको सन्दर्भमा केही संक्रमितले खाना पकाउने व्यक्तिसँग कुरा गर्न खोज्दा दुबै पक्षबीच बादविवाद र गालीगलौज भएको थियो । त्यस क्रममा एकअर्काबीच कुटाकुटकै स्थिति उत्पन्न भएको थियो ।

संक्रमितहरुका अनुसार प्रायःजसो यहाँ दालमा पानी, एकै किसिमको तरकारीको प्रयोग हुँदै आएको छ । व्यवस्थापन पक्षलाई भनेपछि एक, दुई दिन सुधार गरिदिए पनि पछि व्यवस्थापनले आफ्नो ताललाई निरन्तरता दिने गरेको संक्रमितहरुको गुनासो छ ।

शनिबार भएको विवादपछि खाना पकाउने जिम्मा लिएका व्यक्तिले अब खानामा कुनै किसिमको लापर्वाही नगर्ने प्रतिवद्धता जनाएको आइसोलेशनमा बसेका एक संक्रमितले जानकारी दिए ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाले केही व्यक्तिले आइसोलेसनमा हो हल्ला गरेको बताए । ‘केही हो-हल्ला गर्ने प्रवृत्तिका मान्छे त्यहाँ गएका छन्’ उनले भने, “फर्निचर तोडफोड गरेको सन्दर्भमा आफूलाई केही जानकारी छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment