Comments Add Comment

चिया र कफीको गुणस्तर वृद्धि गर्न नार्कले सघाउने

२८ भदौ,काठमाडौं । स्वदेशी चिया तथा कफीको उत्पादन, प्रशोधन र गुणस्तर सुधार गर्न नार्क र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच १० बुँदे समझदारी भएको छ । कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा आइतबार नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईबीच यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार चिया तथा कफी विकासका विविध क्षेत्रमा वैज्ञानिक अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी उत्पादन, उत्पादकत्व र गुणस्तरमा वृद्धिमा नार्क र विकास बोर्ड मिलेर काम गर्नेछन् । नेपाली चिया तथा कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न प्रतिस्पर्धी बनाई विदेशी मुद्राआर्जन गर्न सक्ने वातावण बनाउन सम्झौता महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।

माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्यहरु गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहन सक्ने नेपाली चिया तथा कफीको नयाँ जात जन्माउन अनुसन्धनात्मक कार्य अघि बढाउने र नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका तथा भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्वलगायत समस्याहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने समझदारीमा उल्लेख छ ।

चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलबायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने विषय समझदारीमा समावेस गरिएको छ ।

यस्तै जलवायु परिवर्तन र नेपाली कफी तथा चिया उत्पादनमा परेको असर, चिया तथा कफी सम्बन्धी अध्ययन, अनुसन्धान, तालिम सञ्चालन तथा दक्ष जनशक्ती उत्पादन, नवप्रवर्तन र क्षमता विकासका कार्यक्रम अघि बढाउने समझदारीमा भनिएको छ ।

चिया तथा कफी उत्पादन, उत्पादकत्व बृद्धि र नवप्रवर्तन सम्बन्धी विभिन्न क्षेत्रमा अन्वेषण, नयाँ अनुसन्धानका क्षेत्रहरु पहिचान, संयुक्त अनुसन्धान प्रस्ताव विकास, अनुसन्धान र क्षमता विकासका लागि प्रयोगशाला निर्माण गर्ने जनाइएको छ ।

समझदारी अनुसार नेपालमा चिया तथा कफीको अनुसन्धान तथा विकासका लागि विश्व कफी रिसर्च सेन्टरसँग अनुसन्धनात्मक साझेदारीका काम गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment