Comments Add Comment

कंगना रनवतः एडल्ट फिल्म छाडेर कसरी बलिउड क्विन बनिन्

विन्दास कंगना, विद्रोही कंगना

फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा काम मिलेको थियो, जुन एडल्ट जस्तै थियो ।’ यस्तो खुलसा उनले एक टेलिभिजन अन्तर्वार्तामा गरेकी हुन् । कंगनाले सुनाएकी छिन्, ‘साइन गरेपछि फोटोशुटमा लगियो । त्यहाँ मलाई लगाउनका लागि एउटा पहिरन दिइयो, जो भित्र पुरै खुला थियो । त्यहाँको माहौल पनि कुनै ब्लु फिल्मको सुटिङ जस्तै थियो ।’

करियरका लागि संघर्ष गर्दा-गर्दै थाकेकी कंगना कसरी यौनजन्य फिल्ममा काम गर्न तम्सिइन् ? कथा मार्मिक छ । जतिसुकै प्रयास गरेपनि उनले कुनै फिल्म पाएकी थिइनन् । त्यही झोंकमा एउटा फिल्ममा साइन गरिन्, जुन फिल्म सि ग्रेडको फिल्म थियो । ब्लु फिल्मकी हिरोइन जस्तै आफुलाई पेश गर्नुपर्छ भन्ने उनलाई थाहा थियो तर उनी विवश थिइन् ।

अंग्रेजी बोल्न नजानेपछि

सुरुवाती दिनहरु सम्झदै कंगनाले भनेकी छिन्, ‘यस उद्योगको मान्छेहरु चाहन्छन् कि, मैले बोल्ने हक छैन । र, म कुनै अनावश्यक चिज हुँ । मलाई थाहा थियो कि, राम्ररी अंग्रेजी बोल्न आउँदैन । त्यही कारण मान्छेले मेरो मजाक उडायो ।’

अंग्रेजी भाषामा पोख्त नभएकै कारण फिल्मबाट रिजेक्ट भएको तितो अनुभव छ, उनीसँग ।

जब ग्याङस्टार मिल्यो

फिल्ममा शीर्ष भूमिका खोज्ने र हिरोको भन्दा बढी पारिश्रमिक लिने बलिउड अभिनेत्री कंगना रनवतको जीवन-कथा फिल्मी शैलीको छ । उनले करियरको पूर्वाद्धमा अनेक उतार–चढाव झेलिन् । त्यही बेला हो, उनले एडल्ट फिल्ममा काम गर्ने निर्णय लिएकी ।

तर सुखद संयोग मान्नुपर्छ, ठीक त्यही बेला उनलाई अनुराग बासुले निर्देशन गर्ने फिल्म ग्याङस्टारमा मौका मिल्यो । उनी तुरुन्तै ग्याङस्टारका लागि राजी भइन् र सि ग्रेडको फिल्म छाडिन् । उनले एडल्ट फिल्मका निर्देशकको नाम भने गोप्य राखेकी छिन् ।

उनले अभिनय गरेको पहिलो थ्रिलर फिल्म ग्याङस्टार, जो २००६ मा सार्वजनिक भयो, त्यसले उनलाई फिल्मफेयर बेस्ट फिमेल डेब्यु अवार्ड दिलायो । त्यसपछि उनले लम्हे, लाइफ इन अमेट्रो, वान्स अपन अ टाइम इन मुम्बई, फैशन, तनु वेड्स मनु जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

कसरी बनिन् अभिनेत्री ?

कंगना आफ्नो करियरको बारेमा स्पष्ट थिइनन् । के बन्ने भन्ने कुनै टुंगो थिएन । त्यही क्रममा उनी एलिड मोडलिङ नामक मोडलिङ एजेन्सीको सम्पर्कमा आइन् । तर कंगनालाई रस भिजेन, मोडलिङमा । मोडलिङ भन्दा उनलाई अभिनय उचित लाग्यो । अन्ततः अस्मिता थिएटर ग्रुपमा भर्ना भइन्, अभिनय गर्ने मनोकांक्षाका साथ । नाटक खेल्न थालिन् । उनको अभिनय रुचाइयो । मुम्बईको एक स्कुलबाट नाटक अभियनको तालिम लिइन् । नाटकबाट उनी फिल्ममा प्रवेश गरेकी हुन्, ग्याङस्टारबाट ।

अनि बनिन् ‘क्विन’

कंगनाले उपमा पाएकी छिन्, बलिउड क्विन । खासगरी फिल्म क्विनबाट उनको करियरको दोस्रो अध्याय सुरु हुन्छ । त्यस फिल्मबाट उनले राष्ट्रिय सम्मानदेखि, सर्वश्रेष्ठ अभिनेत्रीको अवार्डसम्म पाइन् । क्विन मात्र होइन, रिभोल्वर रानीमा गरेको सानदार प्रस्तुतीले समेत उसको ख्याती अग्लियो ।

बोल्ड र बिन्दास कंगना बलिउडका त्यस्ता अभिनेत्री हुन्, जो खुलस्त छिन् । कुनै कुरा नलुकाउने उनी त्यही प्रवृत्तिको कारण कहिले कहिं लफडामा पनि फस्छिन् । मैले अस्विकार गरेकी थिएँ, त्यही कारण प्रियंका चोपडालाई सबै अवार्ड मिल्यो भन्ने जस्ता अभिव्यक्ति दिने उनी भारतिय समाजको कटु आलोचना गर्न समेत पछि पर्दैनन् ।

कुनै गडफादर विना नै बलिउडमा आफुलाई टिकाउन र बिकाउन सफल उनी कहिल्यै बिहे नगर्ने भन्दै कसम खाएर पनि चर्चामा आएकी थिइन् । कहिले आफ्नो खराब अंग्रेजी सुधार्ने त कहिले कामकै बीचमा स्क्रिप्ट राइटिङ कोर्सका लागि न्युर्योक गएको कुराले पनि उनी गसिपको पात्र बनिन् । आखिर जे भएपनि उनको फिल्मी उपस्थिती भने निकै दर्बिलो छ ।

हटेस्ट भेजिटेरियन

कंगना स्वामी विवेकानन्दकी भक्त हुन् । उनी ध्यानमा निकै रुची राख्छिन् । शाकाहार छिन् । एक सर्वेक्षणमा उनलाई भारतको सबैभन्दा हटेस्ट भेजिटेरियनको सूचीमा राखिएको थियो ।

बिवादित क्विन

कंगना जतिबेला संघर्षको चरणमा थिइन्, त्यसबेला आदित्य पन्चोलीले उनलाई सहयोग गरेका थिए । तर, पछि कंगना र आदित्यबीच विवाद भयो । रक्सीको नसामा आदित्यले आफ्नो यौन  लुट्न खोजेको आरोप लगाएकी थिइन् । कंगनाको कथित पूर्व प्रेमी शेखर सुमनको छोरो अध्ययन सुमनलाई छाडा गाली गर्ने, थप्पड हान्ने, ज्योतिषकहाँ जाने, कालो जादु गर्ने जस्ता आरोप लगाएका थिइन् ।

विन्दास कंगना, विद्रोही कंगना

कंगना बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले हिरोले बराबर पारिश्रमिक डिमान्ड गर्छिन् । हिरो बराबर मात्र होइन, त्यो भन्दा बढी पनि । कंगनाले फिल्म ‘रंगून’का लागि आफ्ना अपोजिट शाहिद कपुरले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । उनको पारिश्रमिक भारु १० करोड हाराहारीमा छ ।

कंगना नै यस्ती अभिनेत्री पनि हुन्, जसले सिंगो फिल्म बोक्न सक्छिन् । अर्थात उनकै बलमा पनि फिल्म चल्छ । रिवल्भर रानी, क्वीन, मणिकर्णिका त्यसैको उदाहरण हुन् ।

बलिउड अभिनेत्रीमा कंगनाको उचाई जुन रफ्तारमा बढ्यो, त्यो असन्तुलित पनि रह्यो । करियरको उत्कर्षमा उनी निकै विवादित बनिन् । विवादको उत्खनन् भने उनी आफैले गरिन् ।

हृतिकसँग लफडा 

अभिनेता हृतिकलाई गोप्य इमेल पठाउने कुरा उप्काएर उनले विवादको बिऊ रोपिन् । कंगना र हृतितकले एक–अर्कालाई सन् २०१६ मा कानूनी नोटिस पठाएका थिए । कंगनाको दावी के थियो भने उनीहरु दुबै सम्बन्धमा थिए र हृतिकले उनीसंग विवाह गर्ने वचन दिएका थिए । हृतिकले यो कुरालँई ठाडै अस्विकार गरिदिए । उनले दुबैले संगै काम मात्र गरेको बताएका थिए । हृतिकले त उक्त कुराका लागि कंगनाले आफूसंग सार्वजनिक रुपमै माफी माग्नु पर्ने कुरा समेत बताएका थिए ।

कंगनाको भनाइ के थियो भने, सन् २०१६ र २०१७ का बीचको त्यो अवधि उनका लागि निकै कष्टकर थियो, जतिबेला उनले बेइज्जती सहनु पर्यो र मानसिक रुपले अस्थिर भएको आरोप सुन्न प¥यो ।

‘लहरो तान्दा पहरो गर्जन्छ’ भनेझै हृतिकको गोप्य इमेल कान्डले अरु थुप्रै बलिउड अभिनेतालाई ‘बिटुलो’ बनाइदियो । र, यो प्रकरणले उल्टै कंगनालाई नराम्ररी पछा¥यो । उनी विवादै विवादको भूँमरीमा फँसिन् ।

कतिसम्म भनियो भने, बलिउडका इभेन्टहरुमा कंगनालाई निम्तो दिन छाडियो । त्यती मात्र होइन, उनले ब्वाइफ्रेन्डलाई मासिक स्रावको रगत समेत पिउन लगाइन् । भलै, यी हल्लाहरु अहिले मत्थर भइसकेका छन् ।

कंगनाले भाइ-भतिजावाददेखि राजनीतिक बुझाइको कमिको मुद्दामा सार्वजनिक रुपमै करण जौहर, रणबीर कपूर तथा आलिया भट्टसमेत बलिउडका थुप्रै दिग्गज व्यक्तित्वका विरुद्ध बोलिसकेकी छिन् ।

अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे लगत्तै कंगनाले दिएको कडा अभिव्यत्तिले बलिउडलाई तरंगित बनायो । सुशान्तले आत्महत्या गरेको नभई हत्या गरिएको भन्ने उनको स्पष्ट अडानले अहिलेसम्म त्यो मुद्दालाई साम्य हुन दिएको छैन ।

कंगनालाई कलाकारहरुले नै वहिष्कार ?

कपिल शर्माको शोको एउटा श्रृंखलामा अभिनेत्री कंगनाले आफ्नो स्वभाव कहिले पनि परिवर्तन हुन नसक्ने धारणा व्यक्त गरेकी थिइन् । उनको भनाइ थियो—‘म बनावटी जीवन बाँच्नुमा विश्वास गर्दिन, सत्यलाई सत्य तथा झुटोलाई झुटो भन्नलाई म हिच्किचाउँदिन ।’ उनको यस्तै ठाडो बोलीका कारण बलिउड उद्योगमा कंगनाका दुश्मनहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ ।

तर, कंगनलाई यो कुराको कुनै मतलव छैन । उनले आज पनि उत्तिकै काम पाइरहेकी छिन् । आज उनले जति पनि फिल्महरुमा काम गरिरहेकी छिन्, ती सबैमा उनी स्वयं नै ‘हीरो’ हुन् । उनले निर्वाह गर्ने भूमिका पनि प्रभावकारी हुन्छ । यति मात्र होइन, उनी ती अभिनेत्रीहरु भन्दा उत्कृष्ट स्थितिमा छन्, जो ठूला अभिनेताहरुको फिल्ममा केवल शो–पीसको रुपमा मात्र देखा पर्छन् ।

कंगनाले जसरी खुलेर बलिउडका ठूला–ठूला सेलिब्रेटीसंग ‘पंगा’ लिएकी छिन्, त्यसबाट के कुरा स्पष्ट हुन्छ भने आगामी दिनमा खानदेखि देवगणसम्म, कुमारदेखि धवनसम्मका कुनै पनि अभिनेताले उनीसंग शायदै कुनै फिल्ममा अभिनय गर्न मन पराउने छन् ।

अर्कोतिर, कंगना स्वयं पनि ती अभिनेताहरुसंग अभिनय गर्न चाहान्छिन् जस्तो लाग्दैन । यी बलिउड अभिनेताहरुका फिल्ममा अभिनेत्रीहरुले गर्ने काम खासै केही पनि बाँकि रहँदैन । यस्तो अवस्थामा कंगना उनीहरुका फिल्मको अंग बन्न शायदै मन पराउने छिन् ।

यतिमात्र होइन, कंगना बलिउडका दिग्गज निर्माता निर्देशकका विरुद्ध समेत लडिसकेकी छिन् । कपिल शर्माको शोमै उनले निर्माता–निर्देशकका करण जौहरका बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनेकी थिइन्-‘उनी त्यस्तो शो चलाउँछन्, जसमा तपाईंको अण्डरवेयरको रंग कस्तो छ ?’ अथवा ‘तपाईं बिहान उठ्ने बित्तिकै तपाईंले आफूलाई फलानी हिरोइनको बेडरुममा पाउनु भयो भने के गर्नु हुन्छ ?’ जस्ता अर्थ न बर्थका प्रश्न सोधिन्छ । यस्तोमा, करण जौहर जस्ता बलिउडका हस्तीसंग सम्बन्ध बिगार्न शायदै कसैले सोच्दछ ।

यति हुँदाहुँदै पनि कंगनाले बलिउडमा काम पाइरहेकी छिन्, भविष्यमा पनि पाइरहलिन्, तर सुपरस्टारहरुका फिल्महरुमा भने उनको सम्भावना अत्यन्त न्यून छ ।

त्यसो त कंगनाको कसैसंग झगडा नभएको बेलामा पनि उनले ती सुपरस्टारहरुका फिल्ममा काम गर्ने सौभाग्य कहिले पनि पाएकी थिइनन् ।

कंगनालाई सञ्चारकर्मीले वहिष्कार गरेपछि

बलिउड अभिनेत्री कंगनाको नयाँ फिल्म ‘जज मेन्टल है क्या’ को मुम्बईमा आयोजित एउटा कार्यक्रम सञ्चारकर्मीहरुको वहिष्कारका कारण रद्द भएको थियो । उक्त फिल्मले प्रचार–प्रसारका लागि मुम्बईमा एउटा भव्य समारोह आयोजना गर्ने घोषणा गरेको थियो । उक्त समारोहमा कंगना तथा निर्मात्री एकता कपूर पनि सहभागि हुने कार्यक्रम थियो ।

भारतका ठूला मिडियाहरुलाई पनि आमन्त्रण गरिएको थियो । यद्यपि, कंगना सहभागि हुने समारोहलाई वहिष्कार गर्ने निर्णय गरेका अधिंकाश सञ्चारकर्मीहरु उक्त समारोहमा उपस्थित नै भएनन् । ठूला सञ्चारमाध्यममा सञ्चारकर्मीहरु आफ्नो समारोहमा अनुपस्थित भएपछि बाध्य भएर आयोजकले उक्त समारोह नै रद्द गरिएको घोषणा गर्न बाध्य भए । समारोह रद्द गर्नु पर्ने कारणको रुपमा अभिनेत्री कंगना बिरामी भएको भनियो । यद्धपि, उनी बिरामी नभएको सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए  ।

एउटा समाचारमा जनाइए अनुसार कंगनाको लागि उक्त समारोह निकै महत्वपूर्ण थियो । यद्यपि, उनलाई त्यो बेला झट्का लाग्यो, जब उक्त समारोहमा फोटोग्राफरहरु समेत उपस्थित भएनन् । उनलाई कसैले ‘जब समारोहको कभरेज गर्न कुनै पनि सञ्चारकर्मी उपस्थित छैनन् भने त्यो बेला समारोह नै रद्द गर्नु बुद्धिमानी हुन्छ’ भन्ने सुझाव दिएपछि अन्तिम अवस्थामा आएर कंगनाले उक्त समारोह रद्द भएको घोषणा गराएकी थिइन् ।

कंगना एक पुरुषार्थी

मणिकर्णिका । कंगनाले केन्द्रिय भूमिका निर्वाह गरेको मात्र होइन निर्देशन गरेको चलचित्र पनि हो यो । तर, यो चलचित्र सुरुवातदेखि नै विवादित भयो । विवादको यो सिलसिला प्रदर्शनपछि पनि जारी रह्यो । उनी यस चलचित्रको विवादमा मात्र नभएर निर्देशक क्रिशसँग पनि विवादमा परिन् । त्यसबेला कंगनाको पक्षमा बोल्ने बलिउडकर्मी कोही थिएनन्, सिवाय अनुपम खेर र तनुश्री दत्त । तनुश्रीले कंगना निकै राम्रो कलाकार भएको र कंगनाको जस्तो खुबी अरुसँग नभएकाले उनको रिस गर्नेको संख्या धेरै भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘कंगना ए ग्रेट हैन, ए प्लस ग्रेडको अभिनेत्री हुन् ।’

तनुश्रीका अनुसार पुरुस्वर्थ देखाउनेहरु पनि कंगनासँग डराउने गर्छन् । यसै कारण कंगनाको सफलतामा पुरा बलिउड चुप रहेको तनुश्रीको बुझाई छ ।

पारिवारिक जीवन

कंगना रनवतको जन्म २३ मार्च १९८६ मा हिमाचल प्रदेशको मन्दी जिल्लास्थित भाम्बला गाउँमा भएको हो, राजपूत परिवारमा । उनका माता आशा एक स्कुलका शिक्षिका थिइन् भने पिता अमरदीप व्यापारी थिए । भाम्बलाको प्राचिन घरमै उनको पालन पोषण भयो । उनको बालापन सामन्य थियो ।

बिद्रोह र जिद्दी

जब उनी ठूली भइन्, तब बिद्रोह र जिद्दी स्वभावकी थिइन् । उनको अनुसार यदि आफ्ना पिताजीले भाईका लागि प्लाष्टिक गन ल्याइदिन्थे र उनको लागि सानो गुडिया । तब उनी यसलाई स्विकार गर्दैनथी । भाई र आफुबीच भएको भेदभाव उनलाई मन पर्दैनथ्यो ।

स्कुले जीवनमा उनी चिकित्सक बन्न चाहन्थे, मातापिताले चाहे जस्तै । तर, १२ को केमेस्ट्रीको युनिट टेस्टमा फेल भएपछि उनको इच्छा बदलियो । यतिबेला कंगना १६ बर्षकी थिइन् । उनी दिल्ली आइन् । तर, दिल्ली पुगेपछि पनि के बन्ने भन्ने कुरामा उनले लक्ष्य बनाउन सकेकी थिइनन् । अचानक फेला परेको मोडलिग एजेन्सीबाट उनी ग्ल्यामर क्षेत्रमा प्रवेश गरिन् ।

निरन्तरको प्रयासले उनी बलिउडमा आफ्नो स्थान सुरक्षित गर्न सक्षम भइन् । कंगनाको मातापिता वा सन्तान फिल्ममा छैनन् । उनी आफ्नी बहिनी रंगोली रनवतसँग मुम्बाईमा बस्छिन् । बहिनी रंगोलीमाथि २००६ मा एसिड अट्याक्ट भएको थियो । कंगना बर्षमा एक पटक आफ्नो जन्मथलो पुग्छिन् ।

लभ–अफेयर

कंगना रनवतको लभ अफेयरको सूची धेरै लामो छ । बलिउडमा पाइला राख्दै गर्दा उनको नाम आदित्य पंचोलीसँग जोडियो । आदित्यले कंगनाको लागि एउटा घर समेत खरिद गरेका थिए । तर, पछि उनीहरुबीच दुरी बढ्यो ।

त्यसपछि कंगना अभिनेता शेखर सुमनको छोरा अध्ययन सुमनसँग नजिकिइन् । तर, उनीहरुको सम्बन्धमा पनि पूर्ण विराम लाग्यो ।

अभिनेता अजय देवगनसँग समेत कंगनाको नाम जोडिएको छ । उनीहरुले वान्स अपन अ टाइम इन मुम्बईमा साथै काम गरेका थिए । कंगनाले एक अन्र्तवार्तामा भनेकी थिइन्, बिवाहितसँग सम्बन्ध गाँस्नु मेरो लागि भुल थियो ।

त्यसपछि उनको नाम जोडियो, हृतिक रोशनसँग । उनीहरु क्रिस–३ मा एकसाथ काम गरेकी थिइन् । यसका साथै कंगनाको नाम ब्रिटिश अभिनेता निकोलस ल्यफरटीसँग पनि जोडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment