Comments Add Comment

सप्तरीमा निषेधाज्ञा हट्यो, सिटी रिक्सा पनि चल्ने

२९ भदौ, सप्तरी । सप्तरीमा दुई महिनायता जारी निषेधाज्ञा अन्त्य गरिएको छ । अब सार्वजनिक यातायात, सैलुन ब्युटीपार्लन, हाट बजार, जिमखाना, कभर्डहल मात्र बन्द रहनेछन् । अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ ।

सोमबार बसेको जिल्ला सं‌कट व्‍यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी सुरक्षा सतर्कता अपनाउँदै व्यापार, व्यवसाय, उद्योग, कलकारखाना र सरकारी कार्यालय खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार यातायात मापदण्ड पालना गरी बढीमा २ जना यात्रु राखेर सिटी रिक्सा संचालन गर्न दिने निर्णय पनि भएको छ । त्यस्तै होटल रेष्टुरेन्टले टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल संचालकले ग्राहकको तापक्रम नाप्ने, २ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गर्ने गरी व्यवसाय सञ्चालन गर्न पाउनेछन् ।

उद्योगहरुले सरकारले तोकेको वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा, जनस्वास्थ्य र यातायात मापदण्डको पालना गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने गरी भिडभाड हुन नदिई सेवा सञ्चालन गर्नुपर्नेछ ।

सप्तरी सदरमुकाम राजविराजमा गत साउन २९ गतेदेखि निषेधाज्ञा जारी गरिएकोमा १९ गतेदेखि जिल्लाभरिमै जारी गरिएको थियो । पछिल्लो साता राजविराजमा मात्रै सीमित भएको निषेधाज्ञा सोमबारदेखि हटाइएको हो ।

हेर्नुहोस् सोमबारको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment