
२९ भदौ, स्याङ्जा । बाँदरलाई भनेर हान्दा मान्छेलाई गोली लागेको घटना सार्वजनिक भएपछि स्याङ्जामा प्रहरीले अवैध हातहतियारविरुद्ध अपरेशन थालेको छ ।
जिल्लाको अर्जुनचपारी गाउँपालिका–१, मझपाटामा ६३ वर्षीय इन्द्रबहादुर क्षेत्रीले पड्काएको बन्दुकको गोली लागेर बाटो हिँड्ने व्यक्ति गम्भीर घाइते भएका थिए । त्यसयता प्रहरीले जिल्लामा ठूलो संख्यामा अवैध हतियार हुनसक्ने आशंकामा विशेष अपरेशन चलाउन थालिएको हो ।
घटनापछि १० दिनको अवधिमा प्रहरीले ६ वटा अवैध हतियार र विष्फोटक पदार्थ बरामद गरिसकेको छ । स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार आइतबार मात्रै चार वटा अवैध हतियार बरामद भएको छ ।
जिल्लाको पुतली बजार नगरपालिका–७, मोहरिया झग्रिडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरीको साथबाट एक/एक वटा भरुवा बन्दुक र एक नाले १२ बोरको बन्दुक बरामद भएको हो ।
उनका साथबाट छर्रा भरेको टोला, ८८० ग्राम बारुद, फलामको छर्रा लगायत पनि बरामद भएको बोगटीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार सोही स्थानका ६० वर्षीय ओमबहादुर हमालको साथबाट पनि भरुवा बन्दुक दुई वटा बरामद भएको छ । उनको साथबाट २६ ग्राम बारुद, ४८ वटा पटका, १२ वटा फलामको छर्रा लगायत पनि बरामद भएको प्रहरीको भनाइ छ ।
ठकुरी र हमाल दुवै जनाविरुद्ध प्रहरीले हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालेको छ । जिल्ला अदालत, स्याङ्जाले दुवैजनालाई २५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
केमा प्रयोग भइरहेको छ अवैध हतियार ?
प्रहरीले हतियारसहित पक्राउ गरेका अधिकांश व्यक्ति ज्येष्ठ नागरिक हुन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनीहरुले धेरै पहिल्यैदेखि अवैध रुपमा हतियार गाउँमा राखेको पाइएको छ ।
ती हतियार संरक्षित वन्यजन्तुको चोरी, शिकारीका लागि प्रयोग हुने गरेको पाइएको अधिकृतहरुको भनाइ छ ।
एसपी बोगटी पनि जिल्लामा कालिज, मृग जस्ता वन्यजन्तुको शिकारीका लागि हतियार प्रयोग भएको हुनसक्ने बताउँछन् । त्यसैले पनि अवैध हतियारविरुद्ध अपरेशन चलाइएको उनको भनाइ छ ।
प्रहरीका अनुसार घरमा अवैध हतियार राख्दा दुर्लभ वन्यजन्तुको संरक्षणमा मात्र समस्या हुँदैन, गाउँघरमा हुने सामान्य झै झगडामा नागरिककै पनि ज्यान जान सक्छ ।
गलत व्यक्तिको हातमा हतियार पुगे, थप अप्रिय घटना पनि निम्तिन सक्ने भएकाले अवैध हतियार घरमा नराख्न स्याङ्जा प्रहरीले जिल्लाबासीमा अपिल गरेको छ ।
प्रतिक्रिया 4