Comments Add Comment

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

२९ भदौ, काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

सत्तारूढ नेकपाले गत फागुनमै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । तर राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री हुने सक्ने गरी संविधान संशोधन नभएको भन्दै उनले अस्वीकार गरे ।

प्रधानमन्त्रीले पनि डा. खतिवडालाई पुनः राष्ट्रियसभामा लैजान चाहेका थिए । त्यसैले संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थामा टेकेर डा. खतिवडालाई अर्थ र सञ्चारमन्त्री बनाए ।

वैशाखमा नेकपा सचिवालयले गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेपछि खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न सहज भएको मानिएको थियो ।

तर पार्टीभित्र चलेको पछिल्लो अन्तरसंघर्षमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका गौतमले राष्ट्रियभामा जाने इच्छा देखाए । १५ भदौमा उनले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्न आग्रह गरपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली दबाबमा परेका थिए ।

अरू नेताहरूले पनि दबाब दिएपछि नेकपा सचिवालयको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment