Comments Add Comment

कुलमानप्रति अतिरिक्त अनुरागका आयामहरु

हुरी आउँदा निराशावादी गुनासो गर्छ, आशावादीले रोकिने समय कुर्छ, तर नेतृत्वले पाल मिलाउँछ – जोन म्याक्सवेल ।

अहिलेसम्म नेपाल विद्युत प्राधिकरणको नेतृत्व क-कसले गरे धेरैलाई याद छैन । आफ्नै वा आफूलाई नियुक्त गर्नेहरुका लागि के गर्थे उनीहरु नै जानुन् तर आम उपभोक्ताको नजरमा यसअघिका प्राधिकरण प्रमुखहरुको पहिचान थप अवधिसहितको लोडसेडिङ तालिका सार्वजनिक गर्ने अड्डाको हाकिमभन्दा बढी थिएन ।

राम्राभन्दा ‘हाम्रा’को प्रधानताले हुनसक्छ नेपालमा सरकारी संस्थानको नेतृत्वमा को आउँछ वा जान्छ भन्ने खासै चासो रखिँदैन । तर, पदावधि सकिनु लामो समय अघिदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई अर्को कार्यकाल काम गर्ने मौका दिनुपर्ने कि नपर्ने भन्ने विषयमा अभूतपूर्व बहस चल्यो ।

नागरिकहरू कुलमानलाई निर्वाध अर्को कार्यकाल कामगर्न दिनुपर्ने पक्षमा दृढ रहे पनि आइतबारदेखि उनी विदा भएका छन् र पुनर्नियुक्तिमा सरकारको उदासीनताले उनको निरन्तरता नहुने संकेत गरिसकेको छ ।

प्रधानमन्त्री र मन्त्रीकै पद अप्रत्यासित रुपमा खुस्किँदा पनि दुःखमनाउ नगर्ने आम नागरिकले एउटा सामान्य सरकारी अड्डाको हाकिम पदावधि सकिएर जाँदा यतिधेरै दुःखमनाउ किन गरिरहेका छन् र कुलमानकै निरन्तरताको माग किन उठिरहेको छ भन्ने तथ्य समीक्षा गर्दा वर्तमान नेपाली मनोदशाबारे एकसाथ धेरै कुरा उजागर हुन्छ ।

दैनिक घण्टौं लोडसेडिङको दुष्चक्रलाई अपत्यारिलो शैलीमा अन्त्य गरेर नेपालीलाई उज्यालो उपहार दिएका कुलमानप्रति देशवासीको अहोभाव र अतिरिक्त अनुरागका अनेक आयाम छन् ।

कुलमान निरन्तरताको नेपाली आकाँक्षा भाषण बढी गर्ने तर काम कम गर्ने राजनीतिक नेतृत्वप्रति वितृष्णाको मुखर अभिव्यक्ति हो । कुलमानप्रतिको लगाव निक्कै आशा गरिएको तर ‘अपेक्षित परिणाम’ दिन असफल झण्डै दुईतिहाईको सरकारप्रतिको निराशा र खबरदारी हो ।

‘प्रणाली नै खराब छ भने एक्लो व्यक्तिको प्रयासबाट केही हुँदैन, समाज जस्तो छ नेतृत्व त्यस्तै हुन्छ’ भन्ने नेपाली समाजमा व्याप्त भाग्यवादी चिन्तन परम्पराको निरन्तरतामा कुलमानले क्रमभंग गरिदिएका छन् । कुलमान दृष्टान्त भन्छ- प्रणाली जस्तोसुकै दुष्चक्रमा परेको भए पनि निष्ठावान नेतृत्वले त्यसलाई बदलेर ‘डेलिभरी’ दिन सक्छ र अरुलाई दोष नदिई प्रतिकुलतालाई अनुकुलतामा बदल्न निरन्तर पहल गर्नु नै वास्तविक नेतृत्वको गुण हो ।

नेपाली मनमा कुलमान व्यक्ति होइन, यस्तो प्रवृत्तिको रुपमा स्थापित भएका छन्, जुन प्रवृत्ति राजनीतिक वृत्तमा अति अपेक्षाका बाबजुद सधैं मृगतृष्णामात्र सावित भएको छ । अनेक सपना देखाएर देशकै कार्यकारी नेतृत्वमा पुग्दा पनि जनअपेक्षा अनुसार काम गर्न असफल तर प्रणाली वा अरुलाई दोष दिएर पन्छिने राजनीतिज्ञहरुबाट दिक्क नेपालीले कुलमानको मुहारमा त्यस्तो परिणाम निकाल्ने निष्ठावान नेतृत्वको एक झलक देखेका छन् ।

धेरैको नजरमा कुलमान अनन्त र पट्यारलाग्दो राजनीतिक संक्रमणका कारण निराश नेपालको निराशावादी ‘न्यारेटिभ’लाई आशावादमा रुपान्तरण गर्ने सम्वाहकसमेत हुन् । कुशल प्रशासकको छविसहित मुख्यसचिवबाट निवृत्त लीलामणि पौडेलले केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए- नेपालमा जसले जे जिम्मेवारी पाएको हो, त्यहीमात्र इमान्दारितापूर्वक गर्‍यो भने पनि ठूलो सुधारक कहलिन्छ ।

कुलमानमा ठ्याक्कै यही मान्यता लागु भएको देखिन्छ । उनले पटक-पटक विभिन्न सञ्चार माध्यमसँग भनेका छन्- मैले जे गर्नुपर्ने हो, त्यही गरेको हो अतिरिक्त केही गरेको छैन । कुलमान निरन्तरताको चाहना जसले जे जिम्मेवारी पाएको छ त्यही इमान्दारितापूर्वक गरुन् र सीमित स्रोत साधनकाबीच व्यवस्थापकीय कुशलता प्रयोग गरी अप्रत्यासित परिणाम दिउन् भन्ने अतृप्त नेपाली आकाँक्षासँग सम्बन्धित छ ।

कथित ऊर्जाक्षेत्रका विज्ञहरुले माग र आपूर्तिबीचको खाडल नै लोडसेडिङ टार्नै नसकिने प्रमुख कारण भएको र ठूलो जलाशययुक्त आयोजना नबनेसम्म लोडसेडिङ घट्ने अपेक्षा गर्नु हावादारी हुने निष्कर्ष सुनाइरहेकै समयमा ४ वर्षअघि प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुगेका कुलमानले अँध्यारो साम्राज्यमा धावा बोल्दै लोडसेडिङसँगै सम्पूर्ण निराशावादी ‘डिस्कोर्स’मा पूर्णबिराम लगाइदिए ।

कसैले अपेक्षा नै नगरेको समयमा लोडसेडिङ अन्त्य गर्दा पनि उनले कुनै अतिरिक्त प्रचारवाजी गरेनन्, न त आफ्ना पूर्ववर्तीहरुमाथि दोष लगाएर आफ्नो अब्बलता सावित गर्ने प्रयास गरे । सबैभन्दा अनुकरणीय पक्ष उनले विगतमा लोडसेडिङ गर्नका लागि ‘सहायक बनेका हुनसक्ने’ कर्मचारीप्रति समेत दूराग्रही व्यवहार गरेको कुनै घटना सार्वजनिक भएन ।

प्राधिकरणभित्रको प्रतिकुलतालाई अनुकरणीय शैलीमा अनुकुलतामा बदलेका कुलमानले लोडसेडिङ अन्त्यको श्रेय आफूलाई काममा साथ दिएका प्रधानमन्त्री, मन्त्री र सहकर्मीका साथै आम उपभोक्तालाई समेत दिएका छन्, जुन नगरेको कामका लागिसमेत श्रेय लिन होडबाजी गर्ने राजनीतिक नेतृत्व भोगिरहेका नेपालीहरूका लागि दुर्लभ दृष्टान्त हो ।

यति हुँदा हुँदैपनि कुलमानको कार्यकाल सकिने पूर्वसन्ध्यामा पूर्ववर्ती मुकेस काफ्ले र अन्य केही उपवुज्रुकहरु लाज समेत लजाउने गरी उनीविरुद्ध टीका टिप्पणीमा उत्रिनु र त्यसलाई केही सञ्चार माध्यममा प्रोत्साहन मिल्नु रोचक र रहस्यमय रह्यो । सबैभन्दा डरलाग्दो र निराशाजनक कुरा यस्तो जमातमा प्रधानमन्त्री केपी ओली वरिपरिका मानिसहरु समेत देखिए ।

लोडसेडिङ अन्त्यको एकल श्रेय दाबी कहिल्यै नगरेपनि कुलमानले पाएको हाइहाइले तालुकदार मन्त्री र प्रधानमन्त्रीले समेत असहज महसुस गर्ने गरेको चर्चा पहिल्यै नसुनिएको होइन । तर, उनको पुनर्नियुक्तिमा देखिएको उदासीनताले यो कुरा हल्ला मात्र थिएन भन्ने देखाइसकेको छ ।

कुलमानको पुनर्नियुक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा सरकारका तत्कालीन प्रवक्ता डा. युवराज खतिवडाको ओठे जवाफ र बालुवाटार निकटहरुका टीकाटिप्पणीले कुलमानले सहजै निरन्तरता नपाउने अनुमान भैसकेको थियो ।

अब प्रष्ट भएको छ, हरेकदिन स्खलित भैरहेका र धुमिल छविका राजनीतिज्ञहरु कुलमानको निरन्तर विस्तारित उज्यालो छविसँग तर्सिरहेका छन् । तर, उनको निरन्तरताप्रति देखिएको समर्थनलाई सामाजिक सञ्जालको सतही बहस ठान्नु सर्वथा गलत हुनेछ ।

कुलमानलाई पुनर्नियुक्तिको माग सिंहदरबारदेखि सीमित साधन-श्रोतमा चलिरहेका नेपालका हरेक संस्थाको नेतृत्वमा खड्किरहेको निष्ठा र व्यवस्थापकीय कुशलताको खोजी र अभिलाषाको अभिव्यक्ति हो ।

एक अर्थमा कुलमान नेपालीहरुको गुमिसकेको विद्रोह चेत जगाइदिने युगीन पात्र पनि हुन् । कुलमान निरन्तरताको नेपाली चाहाना हरेक क्षेत्रमा व्याप्त विचौलियाको सिण्डिकेट तोड्ने उत्कण्ठासँग पनि सम्बन्धित छ ।

कुलमानले चमत्कारकै शैलीमा अन्धकार हटाएपछि मात्र नेपालीले बुझे कि गर्नै नपर्ने लोडसेडिङ कायम राख्न प्राधिकरणको सानो गिरोह मतियार बनेको थियो । निरन्तर उज्यालो प्राप्त भएपछि नागरिकमा खुसीमात्र सञ्चार भएन आफूहरुलाई वर्षौंसम्म अँध्यारोमा राख्नेहरुप्रति आक्रोश पनि जाग्यो ।

बहुसंख्यक जनतालाई लामोसमयसम्म अँध्यारोमा राखेर केही दलाल, अनैतिक व्यापारी र स्वार्थीहरूले लाभ लिइरहेका थिए भन्ने थाहा पाएपछि लुप्त अवस्थामा रहेको नेपाली विद्रोह चेत केही हदसम्म भएपनि व्युँतिएको छ ।

सीमित झुण्डले लाभ लिएर बहुसंख्यकलाई अन्धारमा राख्ने प्रवृत्ति प्राधिकरणमा मात्र सीमित थिएन र छैन । राज्यसत्ता सञ्चालनदेखि हरेकजसो क्षेत्रमा सानो स्वार्थी समूह लाभमा र बहुसंख्यक निरीह हुने नियती नेपालीले निरन्तर भोगिरहेका छन् ।

पंक्तिकारलाई पनि कुलमानको अति देवत्वकरण भयो कि भन्ने नलागेको होइन । कुलमानको अति प्रशंसाले अरुलाई लघुताभास हुने अवस्था आएको पनि सत्य हो । बर्तोल्त ब्रेख्तले भनेका छन्- जुन समाजलाई नायक चाहिन्छ, त्यो अभागी समाज हो ।

जस्तोसुकै अवस्थामा बाँच्नु परे पनि त्यसको कारण खोजी नगर्ने नेपालीहरुमा लोडसेडिङ जस्तै आफूमाथि लादिएका कृत्रिम निर्णयहरू साश्वत सत्यजस्तो गरी स्वीकार गर्नुहुँदैन भन्ने जागरणको झिल्को कुलमानकै कारण पैदा भएको छ । यसर्थ, कुलमानप्रतिको लगाव अपारदर्शिता र अँध्यारो पाटोको विरोध तथा पारदर्शिता एवं उज्यालो पक्षमा नेपाली उच्चाकाँक्षाको सजीव अभिव्यक्ति हो ।

कार्यकाल सकिन लाग्दा कुलमानलाई विद्युत प्राधिकरणमै निरन्तरता दिन आवश्यक नरहेको तर्कसहित फरक ‘डिस्कोर्स’ स्थापित गर्ने ‘रहस्यमय’ यत्न सुरु भएको थियो । एकथरीले लोडसेडिङ अन्त्य एकदम सामान्य परिघटना थियो र कुलमान नेतृत्वमा नआएको भए पनि निश्चित समयपछि लोडसेडिङ हट्थ्यो भन्ने पत्याउन कठीन पर्ने जिरह प्रस्तुत गरिरहेका थिए । अर्काथरीको वञ्चनात्मक तर्क थियो- विद्युत प्राधिकरण अब जो आए पनि ठीकठाक चल्छ, कुलमानलाई अर्को बिग्रेको संस्थान सुधार्ने जिम्मा दिनु बुद्धिमानी हुन्छ ।

कुलमानको लोकप्रियता मन नपरेको तथ्य लुकाउन वा पुनर्नियुक्ति गर्नु हुन्न भन्ने खुला पैरवी गर्न गाह्रो परेपछि सन्दीप लामिछाने क्रिकेटमा प्रयाप्त सफल भए अब फुटबल टिमको कप्तान बनाएर फुटबल सुधार गर्नुपर्छ भन्ने शैलीका छिर्के तर्कमाथि थप बहस व्यर्थ छ ।

कुलमान निरन्तरताको नेपाली आकाँक्षा भाषण बढी गर्ने तर काम कम गर्ने राजनीतिक नेतृत्वप्रति वितृष्णाको मुखर अभिव्यक्ति हो । कुलमानप्रतिको लगाव निक्कै आशा गरिएको तर ‘अपेक्षित परिणाम’ दिन असफल झण्डै दुईतिहाईको सरकारप्रतिको निराशा र खबरदारी हो भन्दा अतिसयोक्ति हुँदैन ।

यो कुलमानको निरन्तरता रोक्न छिर्के तर्क गर्नेहरुको साथ पाएकाहरुले पछिल्लो समय गरेका ‘विचौलियालाई बोनस’, ‘महिमागान गर्नेलाई बम्पर उपहार’ र ‘आफ्नो भनेको आफ्नै हुन्छ सम्धी’ प्रवृत्तिका राजनीतिक नियुक्तिप्रतिको वितृष्णा पनि हो ।

तिरस्कृतहरुलाई पटक पटक लाभका पद दिँदा मौन समर्थन जनाउनेहरुले असल र कुशल कुलमानलाई थप एक कार्यकाल काम गर्न नदिन एउटै व्यक्तिलाई पटक-पटक जिम्मेवारी दिनुहुन्न भन्ने तर्कगर्नु जति हास्यास्पद केही हुन सक्दैन । दुःखका साथ भन्नुपर्छ, कुलमानको सट्टा प्राधिकरणमा अर्को व्यक्ति आएमा पुनः लोडसेडिङको दुष्चक्र सुरु हुँदैन भन्नेमा नागरिक ढुक्क हुन नसक्नु वर्तमान सत्ता नेतृत्वले सही निर्णय गर्छ भन्नेमा नागरिक विश्वस्त नरहेको प्रमाण हो ।

यसर्थ, कुलमानलाई पुनर्नियुक्तिको मागमा सिंहदरबारदेखि सीमित साधन-श्रोतमा चलिरहेका नेपालका हरेक संस्थाको नेतृत्वमा खड्किरहेको निष्ठा र व्यवस्थापकीय कुशलताको अपेक्षा अन्तरनिहीत छ ।

पंक्तिकारलाई पनि कुलमानको अति देवत्वकरण भयो कि भन्ने नलागेको होइन । कुलमानको अति प्रशंसाले अरुलाई लघुताभास हुने अवस्था आएको पनि सत्य हो । बर्तोल्त ब्रेख्तले भनेका छन्- जुन समाजलाई नायक चाहिन्छ, त्यो अभागी समाज हो ।

कुलमानमा नायकत्व देखेको नेपाली समाज अभागा नै हुन सक्छ । तर, हरेक क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्ने कुशल र निष्ठावान व्यवस्थपकको खडेरीमा कुलमान व्यक्तिभन्दा पनि प्रवृत्तिप्रतिको कृतज्ञता र लगाव अस्वाभाविक छैन ।

कुलमान निर्विकल्प होइनन्, हुन सक्दैनन् । उनी आफैंले पनि म निर्विकल्प होइन भनिसकेकै छन् । मान्छेमा हुने गुण-अवगुण उनमा पनि अवश्य छन् नै । तर, नेपालीका लागि कुलमान अब पात्रमात्र रहेनन्, उनी त अनुकरणीय प्रवृत्तिमा र बिम्बमा रुपान्तरित भैसकेका छन् ।

कुलमानप्रतिको अतिरिक्त अनुरागको सन्देश हो- जतिसुकै व्यवस्था परिवर्तन हुँदा पनि नागरिकको अवस्था परिवर्तन नहुने र हजारौं सपना बाँढेर सत्तामा पुगेपछि विचौलिया र दलालकै पक्षपोषणमा समय खर्चिने राजनीतिक नेतृत्वको विकल्पमा नागरिकले प्रचारवाजी नगरी परिणाम दिने कुलमान शैलीको प्रतिस्थापन चाहेका छन् ।

कुलमानको समर्थनमा नेपाली नागरिकका दशकौंदेखिका अतृप्त आकाँक्षा अभिव्यक्त भैरहेका छन्, जसको सारांश छ- देश र देशका संस्था चलाउन कुलमानजस्तै कुशल र निष्ठावान व्यवस्थापक चाहियो । प्रणाली वा अरुलाई दोष दिएर पञ्छिने प्रवृत्ति र भाषण होइन, हाताहाती ‘डेलिभरी’ चाहियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment