Comments Add Comment

केरुङमा रोकिएका १२ सय कन्टेनर दशैंअघि नै छुटाउन व्यवसायीको माग

३० भदौ, काठमाडौं । चिनियाँ नाका केरुङमा १० महिनादेखि मालवाहक कन्टेनर रोकिएपछि व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई दशैंअघि नै छुटाउने पहल गर्न आग्रह गरेका छन् ।

मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा सिंहदरबार पुगेको व्यवसायीको टोलीले नाकामा रोकिएका सामाग्रीहरु दशैं अगाडि नै छुटाउन आग्रह गरेका हुन् ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले कोभिड-१९ का कारण व्यवसायीहरु निकै समस्यामा परेको बेला नाकामा पनि मालवस्तु रोकिदा निकै समस्या भएको उनले बताए । सरकारले कुटनीतिक पहल गरी चाँडै छुट्टाउने वातावरण मिलाउनुपर्ने उनले माग गरे ।

नाकाबाट सामान भित्र्याउन ढुवानीकर्ताको सिन्डिकेट रहेको भन्दै त्यसलाई तोडिनुपर्ने उनले बताए । महासंघका अध्यक्ष नरेश कटुवालले कोभिडका कारण समस्यामा परेका उद्योग व्यवसाय बचाउन सरकारले केहि राहत योजना ल्याउनु पर्ने बताए । यसका लागि उद्योगमन्त्रीले नै पहल गर्नु पर्ने उनको भनाइ थियो ।

‘व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंकको साँवा तथा ब्याज, घरभाडा, श्रमिकको पारिश्रमिक लगायत भुक्तानी गर्न समेत नसकिएको अवस्था छ, अर्कोतर्फ लामो समयदेखि नेपाली आयातकर्ताहरुको माल समान केरुङ नाकामा रोकिएका छन्’ ज्ञापन-पत्र बुझाउँदै उनले भने,’नाकामा अडि्कएका माल-सामानहरु त्यहीँ सडेर बिग्रने अवस्थामा पुगेका छन् भने कोरोनाका कारण उद्योग, व्यापार-व्यवसाय चौपट भएका छन् ।’

महासंघले सरकार समक्ष कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार-व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्ने, लकडाउन तथा निषेधाज्ञा अवधीभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने तथा सोहि अवधीको व्यापार-व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने साथै भाडादर वैज्ञानिक हुनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।

यसैगरी उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नु पर्ने, केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल-सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनितिक पहल गर्दै नाकामा आवात-जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था हुनुपर्ने साथै नाकाहरुमा रहेको सिण्डिकेट अन्त्य हुनुपर्ने साथै मौदि्रक नीतिमा भएको पुनरकर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाई व्यापार व्यवसायहरुलाई पनि दिनुपर्ने समेत माग महासंघको छ ।

‘आवश्यक भूमिका खेल्छौं’

व्यवसायीहरुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री भट्टसँगै सचिवद्वय बैकुण्ठ अर्याल र चन्द्रकुमार घिमिरे पनि थिए । सचिव अर्यालले व्यवसायीहरुको जायज मागहरु पुरा हुने बताए ।

नाकामा सामान रोकिएको विषयमा आफू पनि जानकार रहेको भन्दै सचिव अर्यालले परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल हुने बताए । आफ्नो मन्त्रालयबाट पुरा हुनसक्ने मागहरुका विषयमा पनि तत्कालै छलफल गरिने उनले बताए । अन्य मन्त्रालयहरुसँग सम्बन्धित मागहरु धेरै भएको भन्दै उनले सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक छलफल गरिने बताए ।

उद्योग सचिव घिमिरेले सिण्डिकेटको विषय समस्या नै बनेको भन्दै उनले त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । समस्याहरु केही देखिएको भन्दै उनले कसरी हुन्छ समाधान गर्नुपर्ने पक्षमा सरकार रहेको बताए ।

मन्त्री लेखराज भट्टले उद्योगी-व्यवसायीहरुलाई केकति राहत दिनु पर्छ भ न्ने विषयमा अध्ययन गरेरमात्रै भन्न सकिने बताए । मन्त्री भट्टले मासिक रुपमा तिर्नु पर्ने भ्याट तिर्नका लागि भने आनाकानी नगर्न व्यवसायीहरुसँग आग्रह गरे । अन्य करको विषयमा म्याद थप हुनसक्ने भन्दै उनले भने, ‘भ्याट भनेको त व्यापारीले तिर्ने होइन, ग्राहकसँग लिएर राखेको रकम सरभारलाई बुझाइदिने हो, यसमा चाहिँ तपाईहरुले पनि बुझ्नु पर्‍यो ।’

मन्त्री भट्टले पनि यतिबेला दक्षिणतर्फको नाकामा कुनै समस्या नरहे पनि उत्तरतर्फको नाकामा समस्या रहेको बताए । यसका लागि कसरी हुन्छ समाधान गर्नु पर्छ भन्ने पक्षमा नै आफू रहेकेा उनले बताए ।

रसुवा जिल्लामा भएको सिण्डिकेट पनि अन्त्य हुनु पर्ने उनले बताए । एक जिल्लाको मान्छेले अर्को जिल्लाको मान्छेलाई प्रवेश नदिनु गलत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment