Comments Add Comment

फ्रन्टलाइन हिरोहरू !

संसार अहिले एउटै रोगले थला परेको छ । हाम्रो जिन्दगीको यात्रामा एउटै व्यथाले संसार थचक्कै बसेको यो पहिलो पटक हो ।

ठूलाठूला योजना बुनेर सफलता हासिल गर्न बनाइएका दस्ताहरू दराजमै  थन्क्याएर संसारका ठूला उद्योगी, व्यापारी, आन्टरप्रानुअर,  धनाढ्य मन होस् या गरिबीको व्याकुलताले छटिपटएको मन,  सबै घरभित्रै थुनिएर बसेका छन् । शहर शान्त छ, स्थिर छ, मानौं समुद्रले छाल हान्नै बिर्सिसक्यो ।

डर भनौं या निर्भीकता, कसैको घर कुनै ताल्चाले बन्द छैन । हरेक घर खुला छन् । तर कोही कसैको घरभित्र छिर्ने हिम्मत गर्न सक्दैनन् ।

हाम्रो जीवन रक्षा गरिदिन सडकमा कोही हिँडेका छन् भने या त तिनी सुरक्षाकर्मी हुन् या स्वास्थकर्मी । ताल्चा नलगाइएका ती घरहरूमा छिर्ने हिम्मत या त एम्बुलेन्सले गर्छ या सुरक्षाकर्मीले ।

जिन्दगी पूर्णरूपमा आश्रित छ यिनै स्वास्थकर्मीहरू या सुरक्षाकर्मीहरूमा । हाम्रोजस्तो स्रोत साधन पर्याप्त नभएको मुलुक पनि यो महामारी (कोभिड–१९) कोरोनाले आक्रान्त छ । सबैको मनमा विशाल त्राश छ ।

अप्रिय र दुःखद समाचारहरू दिन प्रतिदिन बढ्दो छ । कुन स्थितिमा गएर रोकिने हो, अनुमान गर्न गाह्रो छ । भ्याक्सिन बजारमा नआएसम्म स्थिति यस्तै रहने छ ।

यस्तो विकराल डरलाग्दो स्थितिमा पनि संसारभरका  डाक्टरहरू, स्वास्थकर्मीहरू  यो महामारिको युद्ध मैदानमा बिना कुनै गुनासो अरूको जीवन बचाइदिनको लागि अहोरात्र खटिइरहेका छन् ।

मेरै छोरा डा. अंकित पोखरेल एउटै सेतो पोसाकमा दिनको कम्तिमा ८–१२ घण्टासम्म केही पनि नखाइ, बाहिर ननिस्किएर अस्पतालभित्रै बिरामीको सेवामा खटिएको छ । हरेक दिन उसलाई सास फेर्न पनि गाह्रो हुने त्यो पीपीई, सिल गरिएको ऊभित्रको अस्पस्ट आवाजमा भिडियो कलमा सुन्दा र देख्दा यो ‘डाक्टरकी आमा’ कैलेकाहीँ भावुक हुन्छे र सँगसँगै गर्विलो महसुस पनि गर्छे ।

त्यस्तैगरी संसारभर थुप्रै डाक्टर, नर्स, अन्य स्वास्थकर्मीहरू ‘फ्रन्ट लाइन हिरो’को रूपमा कार्यरत छन् । यस्ता ‘फ्रन्ट लाइन हिरोहरू’को कामप्रति उच्च सम्मानसहित शिर नुहाएर विश्वले नै आभार प्रकट गरिरहेको छ हरेक दिन ! हरेक पल !

हुन त यसरी उच्च जिम्मेदारी बहन गर्नेप्रति शिर नुहाउनु स्व–आस्था हो । सभ्य र समझदार समाजको परिचय पनि हो ।

संसारका थुप्रै मुलुकले स्वास्थकर्मीप्रति नतमस्तक भएर सम्मान गरिरहेका दिनहरूमा मेरो मुलुकको पढेलेखेको मान्छे बस्ने राजधानीको मुटुबाट एकदिन असाध्य लज्जास्पद समाचार आयो ।

समाचार थियो– काठमाडौंको बानेश्वरमै निजामती अस्पतालमा कोरोना बिरामीहरूकै सेवामा खटिएका ड्यूटी डाक्टरहरूलाई कोरोना पोेजेटिभ देखिएपछि बानेश्वरकै एउटा होस्टलमा आइसोलेसनमा राख्न लाग्दा, नेपालको राजधानीको मुटु जहाँ पढ़ेलेखेका मान्छे बस्छन्, तिनै इनेगिनेका बुद्धिजीवी भनिने सर्वसाधारणले त्यहाँ बस्न नदिन भनेर हुल बाँधेर गएका मानिसको दृश्य, देख्दा मन त्यसैत्यसै अमिलिएर आयो ।

त्यस्तै चितवनमा कसैलाई कोरोना भएर आफ्नै घरमा बसेको मानिसको घरमा ‘कोरोना संक्रमितको घर’ भनेर पर्चा छाप्न खोजेको अमानवीय समाचार पनि छापामा पढ्नुपर्यो । गुल्मीमा एक डाक्टरमाथि हातपात नै गर्न खोजिएको समाचार पनि देखिए ।

जसले हाम्रो जीवन रक्षा गर्न आफ्नो ज्यान खतरामा राखेर पनि अहोरात्र सेवा  गरिरहेका छन् उनैमाथि यति अपमान ! हुन त नेपालमा डाक्टरहरू पटक–पटक अपमानित भएका छन् ।

एकपटक त्यसैगरी एउटाले आफ्नो वाहवाही कमाउनको लागि नेपालका डाक्टरहरू नक्कली सर्टिफिकेटधारी हुन् भनेर प्रचार गर्न के केमात्र गरेन !

हरेक पेशा र व्यवसायमा केही गलत प्रवृत्ति नहुने त होइन तर नेपालका डाक्टरहरू नक्कली सर्टिफिकेटधारी हुन्जस्तो गरी प्रचार गराउन हरेक मिडिया प्रयोग गरेर आफू हिरो भनेर भनाउन खोज्ने प्रवृत्ति हामीले विगतमा देखेकै हो ।

हामी र हाम्रो समाज यति धेरै ‘नेगेटिभिटी’मा रमाउने भइसकेको छ कि त्यो बेलामा पनि यस्तो गरे कि– हो न हो नेपालका डाक्टरहरू साँचिक्कै नक्कली सर्टिफिकेटधारी हुन् भनेर न्वारनदेखिको बल निकालेर प्रचारप्रसार गराए ।

कहिले कुनै अस्पतालमा कुनै दुर्घटना भयो कि त्यसको पूर्णजिम्मेवार बनाएर डाक्टरलाई कुटने–पिट्नेदेखि अपमानित गर्ने कुनै कसर बाँकी राखेनन् र राख्दैनन् ।

यस्तै प्रसङ्गमा एकचोटि अमेरिकामा भएका नेपाली डाक्टरहरूको ग्रुपसँगै डिनरमा गफिँदै थियौं हामी सन् २०१७ मा । केही नेपालमै एमडी  गरिसकेका डाक्टरहरू पनि थिए । केही एमबिबिएस सक्याएर यूएसएमएलई गर्न गएका । उनीहरू बीचको संवाद सुन्दै थिएँ ।

उर्जावान् ती डाक्टरहरूको नेपालमा भएका यिनै विषयहरूको बारेमा चित्त दुखाइ थियो । हामी यति दुःख गरेर पढ्छौं । हामी घर–परिवार नभनी यति दुःख गरेर काम गर्छौं । दुःखको कुरा  डाक्टरहरूलाई हरेक कुराको जिम्मेवार बनाएर पिट्ने, निष्कासन गराउनेदेखि थुप्रै अपमानहरू हामीले भोग्नुपर्छ । काम गर्न आफूलाई सुरक्षित अनुभूति नै हुँदैन ।  नेपालमा दुःख मेहनत गरेर डाक्टर बनेकाहरूको संवाद थियो त्यो ।  सुन्दा साह्रै दुःख लागिरह्यो ।

अहिलेको बिषम परिस्थितिमा सरकारले स्वास्थकर्मीको अभाव भएको महसुस गरेको समाचार आइराख्दा ती दिनका त्यो संवादले अझै चिमोटिरहन्छ । मैले यसो लेखिरहँदा मलाई गाली गर्नेको संख्या पनि होला । तर सत्य भनेको एउटै हुन्छ ।

कुरोको चुरो के हो भने, हामीले सामाजिक स्तरबाट डाक्टर र स्वास्थकर्मीमाथि गरिने अपमानजनक कार्य नगर्न र रोक्नको लागि के गर्ने ? हरेक कुरामा सरकारलाई दोष देखाएर हामी पन्छिन  सक्दैनौं । पन्छिन हुँदैन पनि ।  त्यसको जिम्मेवारी हामी सचेत नागरिकले पनि लिनुपर्छ ।

काठमाडौंको नागरिक त सम्पूर्ण देशको लागि नमूना बन्न सक्नुपर्छ हैन र ?

हिजो कोरोना संक्रमितको सेवामा खटिएका कारण संक्रमित भएका डाक्टर, स्वास्थकर्मी र सुरक्षाकर्मीलाई उनीहरूलाई आवश्यक परेको बखत हामीले हाम्रो समाजभित्र स्थान नदिएर उहाँहरूलाई क्वारन्टाइनको लागि स्थान नदिन हुलहुज्जत गर्यौं भने भोलि हामी बिरामी पर्दा कुन मुखले त्यो डाक्टरको अस्पताल जाने ?  के हामीसँग मानवीयता भन्ने चिज सकिएको हो त ?

यति हुँदाहुँदै पनि सरकार भनेको ‘कानून’ हो । सरकारको आव्हान हरेक नागरिकले मान्नै पर्छ । सरकारको निर्देशन मान्नु र मनन गर्नु नागरिकको कर्तव्य हो । तसर्थ स्वास्थकर्मीप्रति सम्मान गर्न गराउन केकस्तो कदम चाल्ने भनेर संचारमाध्यमबाट वा सरकारको हरेक साँझ अचेल आउने गरेको स्वास्थ अपडेटमा नागरिकहरूको नकारात्मक कुराको ‘ब्रेनवास’ गर्न एक प्रकारको सकारात्मक सन्देश पनि सधैं प्रवाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अहिलेको विषम परिस्थितिमा जहाँ जुनै स्थानमा पनि यदि यस्ता अमानवीय व्यवहारहरू भइरहेका छन् वा हुँदैछन् भने त्यस्तो अमानवीय हरकत कमसेकम हामी नेपालीले नगरौं ।  जिम्मेवार नेपाली नागरिकको व्यवहार देखाएर राम्रो सन्देश प्रवाह गरौं ।

सभ्य नागरिकको परिचय दिऔं । ‘फ्रन्टलाइन हिरो’को मनोबल उच्च पार्न उहाँहरूप्रति सम्मान प्रकट गर्ने बानी बसालौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment