Comments Add Comment

सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता साढे १२ हजार नाघे

निजी क्षेत्रलाई सञ्चय कोषमा जान रोक

१ असोज, काठमाडौं । सरकारले २०७५ मंसिरबाट सुरु गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निजी तथा संगठित संस्था संख्या साढे १२ हजार पुगेको छ ।

२६ भदौसम्मको तथ्यांक अनुसार १२ हजार ६७५ रोजगारदाता कम्पनीबाट १ लाख ७३ हजार ४६० कर्मचारी कोषमा आवद्ध भएका छन् । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार विगतमा कर्मचारी संचय कोषमा रकम जम्मा गरिरहेका कम्पनीहरु क्रमशः सामाजिक सुरक्षा कोषमा आइरहेका छन् ।

आर्थिक ऐन २०७७ ले यसअघि संचयकोषमा आवद्ध निजी तथा संगठित संस्थाहरुलाई कोषमा आउने अवधि आगामी चैतसम्म तोकेको छ । ‘धेरै कम्पनी विगतमा पनि संचयकोषमा थिएनन्,’ ज्ञवाली भन्छन्, ‘सामाजिक सुरक्षा ऐनले बाध्यकारी नियम बनाएका कारण अब सबै संगठित संस्था र निजी क्षेत्र सामाजिक सुरक्षा कोषमै आउनपर्छ ।’

उनका अनुसार सञ्चयकोषमा रकम पठाइरहेका सबै संगठित र निजी संस्था अब रकमसहित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ । सञ्चयकोषमा रहेका सूर्य नेपाल, शीखर शुज लगायत कम्पनी सामाजिक सुरक्षा कोषमा सरिसकेको ज्ञवालीले बताए ।

कोषमा हालसम्म कुल योगदान रकम १७५.५९ करोड पुगेको छ । २६ भदौसम्म कुल दाव भिुक्तानीवापत ८५ लाख ३६ हजार ८९ रुपैयाँ पुगेको छ भने कुल भुक्तानी संख्या ३५० छ । सामाजिक सुरक्षा कोषबाट संचालन भएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी भुक्तानी र दुर्घटना तथा अशक्तता सुरक्षा दावी भुक्तानीमा समेत यो रकम खर्च भएको छ । आश्रति परिवार सुरक्षा दावी भुक्तानी संख्या ९ छ ।

निजी क्षेत्रलाई सञ्चय कोषमा जान रोक

सिद्धान्ततः श्रम ऐन आकर्षित नहुने क्षेत्रमा कार्यरत कर्मचारी र संस्थाको आवद्धता सञ्चयकोषमा हुन्छ । श्रम ऐन आकषिर्त हुने क्षेत्रमा सक्रिय रोजगारदाता र कर्मचारी भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ ।

सामाजिक सुरक्षा कोष सञ्चालनमा आइसकेपछि सञ्चयकोषले निजी क्षेत्रका कम्पनीहरुलाई आवद्ध गर्न बन्द गरेको छ । आउनेहरुलाई हालको कानूनी व्यवस्था अनुसार सामाजिक सुरक्षा कोषमा पठाउन लागिएको संचयकोषका अधिकारीहरु बताउँछन् ।

सञ्चय कोषले अब सञ्चय कोष र निवृत्तिभरण कोष सञ्चालन गर्छ । साविक सरकारी कर्मचारीहरुको सञ्चयकोष संचालन गरिरहेको संचयकोषले १ साउन २०७६ बाट भने सरकारी कर्मचारीका लागि योगदानमुलक निवृत्तिभरण योजना सुरु गरेको छ ।
उक्त अवधिबाट नियुक्त भएका नेपाल सरकारका कर्मचारी, प्रदेश तथा स्थानीय तहका कर्मचारी र सार्वजनिक निकायका कर्मचारीका लागि मात्र सञ्चयकोषमा यस्तो सुविधा उपलब्ध हुनेछ । सञ्चयकोषले सापटी सुविधा, संचयकर्ता स्वास्थ्योपचार योजना सहितका विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सञ्चयकोषको कोष मौज्दात ३ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ पुगिसकेको छ । निवृत्तिभरण कोषमा भने २७ करोड रुपैयाँ जम्मा भएको छ । कोषले कुल ३ खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ लगानी गरिसकेको छ । कोषको कुल स्रोत ३ खर्ब ८७ अर्ब १५ करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment