Comments Add Comment

बढी मूल्यमा प्याज बिक्री गरेको आरोपमा सिराहाका तीन व्यापारी पक्राउ

१ असोज, जनकपुरधाम । भारतले निर्यात रोके लगत्तै प्याजमा कालोबजारी सुरु भएको छ । लुकाएर महँगो मूल्यमा प्याज बिक्री गरेको आरोपमा तीन जना व्यापारीलाई सिराहा प्रहरीले पक्राउ गर्दै ७४ क्विन्टल भन्दा बढी प्याज नियन्त्रणमा लिएको छ ।

गोलबजार, मिर्चैया र लहान नगरपालिकाका तीन वटा व्यापारीले आफ्नो गोदाममा राखेर कालोबजारी गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गर्दै प्याज नियन्त्रणमा लिएको सिराहा प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका ४ मा जय लक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका ५ बस्ने ४४ वर्षीय उमेश प्रसाद साह, मिर्चेया नगरपालिका ५ मा जयमाता दी सब्जी भण्डारका सञ्चालक बिनोदकुमार साह र लहान नगरपालिका-३ का गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई प्याज कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको सिरहाका प्रहरी प्रबक्ता बिनोद घिमिरेले जनाए ।

उनीहरुले लुकाएर राखेको ७४ क्विन्टल ४० किलो प्याज बरामद गरेको उनले बताए । प्याज कालोबजारी गरेको पाइएपछि उनीहरुको पसल र गोदाम समेत सिल गरिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रशासन कार्यलय लहान, उद्योग व्यापार संघका प्रतिनिधी, स्थानीय जनप्रतीनिधि तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पसलहरु अनुगमन गर्दा कालोबजारी गरेको पाइएको घिमिरेले बताए ।

 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment