Comments Add Comment

खुले सौराहाका होटल, व्यवसायी भन्छन् –फेरि बन्द गर्नु नपरोस्

सौराहा

१ असोज, चितवन । चार महिना लामो लकडाउनपछि साउन १५ गते खुलेर साउन ३२ मा पुन बन्द भएका सौराहाका पर्यटकीय होटल बिहीबारदेखि खुल्ने भएका छन् ।

लकडाउन अन्त्य भई साउन १५ देखि सञ्चालन भएका होटलहरु कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण साउन ३२ गतेदेखि पुनः बन्द भएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधवार एक साता निषेधाज्ञा थप गरे पनि पर्यटन विभागबाट स्वीकृत प्राप्त पर्यटक स्तरीय होटल भने खुल्न पाउनेछन् । उनीहरुले पर्यटन बोर्डले तोेकेको मापदण्ड पालना गरी विदेशी र स्वदेशी पाहुना राख्न पनि पाउनेछन् । सौराहाका अधिकांश होटल पर्यटन विभागबाट स्वीकृत लिएका छन् ।

लामो दूरीका सवारी पनि चल्ने, हवाई सेवा पनि सञ्चालन हुने भएपछि केही आशा जागेको छ’ होट व्यवसायी सुमन घिमिरेले भने, ‘अहिले तत्कालै पर्यटक नआए पनि विस्तारै वातावरण सहज हुँदै जाला भन्ने विश्वासमा छौं ।’

सरकारी निर्णयपछि होटल खोल्ने तयारी गरिएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । उनले भने, ‘अघिल्लोपटक पनि होटल त खोलेको हो, तर पछि फेरि बन्द गर्नुपर्ने अवस्था आयो, तर अब यसपटक फेरि गर्नुपदैन भन्ने विश्वास लिएका छौं ।’

सरकारले अब फेरि लकडाउन गर्दैन भन्ने विश्वासका साथ व्यवसायीहरू होटल खोल्न तयार भएको घिमिरेले बताए । ‘लामो दूरीका सवारी पनि चल्ने, हवाई सेवा पनि सञ्चालन हुने भएपछि केही आशा जागेको छ’ घिमिरेले भने, ‘अहिले तत्कालै पर्यटक नआए पनि विस्तारै वातावरण सहज हुँदै जाला भन्ने विश्वासमा छौं ।’

होटल खुले पनि उनीहरु पर्यटक कति आउँछन् भन्ने पर्ख र हेरको रणनीतिमा छन् । जति पर्यटक आउँछन् त्यतिलाई सेवा दिन सक्ने जनशक्ति मात्र राख्ने व्यवसायीको योजना छ । हाल होटलका सबैजसो कर्मचारी विदामा छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर आउने पर्यटकलाई सेवा दिन तयार भएको बताए । उनले कर्मचारी बोलाएर होटलको सरसफाइसँगै आवश्यक व्यवस्थापनका काम थालिएको बताए । सौराहाका व्यवसायीहरुले लामो समय होटल बन्द हुँदा पुनः पहिलाकै अवस्थामा सञ्चालनमा ल्याउन थप लगानीको आवश्यकता रहेको बताउँदै आएका छन् ।

संघका अध्यक्ष भट्टराईले दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरेर अहिलेदेखिनै तयारी गरिएको बताए । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध र एक जिल्लाबाट अर्को जिल्ला केही सहज हुँदा पर्यटकीय गतिविधि पनि विस्तारै बढ्ने विश्वास यहाँका व्यवसायीको छ । तत्कालै विदेशी पर्यटक नआउने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयले सातामा दुई दिन बिदा दिने प्रस्ताव पनि अघि सारेको छ ।

दशैंको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार थपिन सक्ने प्रति व्यवसायी चिन्तित पनि छन् । होटल पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले ७ महिनासम्म लकडाउनमा घर बसेर आत्तिएका नेपालीहरूलाई घुम्नका लागि सौराहा आउने वातावरण बनाउनुपर्ने बताए । होटल सञ्चालनसँगै स्तरीय सेवा, कोभिडबाट सुरक्षा र शुल्कमा सहुलियत दिए व्यवसायीहरूलाई केही राहत मिल्ने सञ्चालक खनालले बताए ।

रेष्टुरेन्ट पनि क्रमश: खुल्ने

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाका रेष्टुरेन्ट होटलसँगै क्रमशः खुल्ने बताए । सौराहाका साना रेष्टुरेन्ट तथा पसलहरु होटलसँग आश्रित छन् ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ  । सौराहामा हुने पर्यटकीय गतिविधिमा जंगल सफारी, जंगल वाक, डुङ्गा सफारी, हात्तीलाई नुहाउनेलगायत पर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज जिप सफारी र जङ्गल वाकका लागि प्रसिद्ध मानिन्छ ।

यस्तै, बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ । होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्ज र सामुदायिक वनमा सफारीका लागि खुल्ला गरिनुपर्ने क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले बताए ।

निकुञ्जले कोरोना महामारी सुरु भएदेखिनै हात्ती, डुङ्गा, जीप सफारी, जङ्गल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको छ ।

निकुञ्जले हरेक बर्ष जीप सफारी बन्द गरेर बर्खामा भत्किएको सडक बनाउने गर्दै आएको छ । बरालले भने ‘सबैतिर सहज हुँदा निकुञ्ज मात्रै बाधक बन्दैन, पर्यटकीय गतिविधि गर्न रोकिदैन ।’

सौराहामा ११० होटल र ५६ वटा रेवानमा आवद्ध रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रूपमा पाँच हजार ५ सय भन्दा बढी व्यक्ति रोजगारमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment