
१ असोज, काठमाडौं । प्यूठानका हिमाल पुन बिहीबार नयाँ बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । छेउमा पाँचवटा पुराना झोला छरपस्ट थिए ।
तपाईं एक्लैका यति धेरै झोला ?
हिमाल बोले- होइन, हामी चारजना छौं ।
१८ वर्षीय हिमाल काठमाडौं छिरेको एक वर्षमात्र भएको छ । गाउँबाट पैसा कमाउने भनेर साथीसँग काठमाडौं आएका थिए उनी ।
मासिक नौ हजार तलबमा होटेलमा काम पनि थालेका थिए । तर, चार महिना पहिले जागिर चैट भयो ।
‘जागिर नभएपछि खानाकै समस्या भयो’, उनले भने, ‘घर फर्कन गाडी पाइन्छ कि भनेर निकै भौतारियौँ । बल्ल आज खल्यो, त्यही भएर घर जान लागेका हौं ।’
उनले सिधा प्युठान पुग्ने गाडी पाएनन् । १८०० रुपैयाँमा भालुवाङसम्म जाने टिकट लिए । गाडी हिमालहरुलाई भालुवाङमा छोडेर नेपालगञ्ज पुग्नेछ । त्यसपछि हिमालको समूह त्यहाँबाट अर्को गाडी खोजेर प्युठानसम्म पुग्ने योजनासहित हिँडेका छन् । उनी भन्छन्, ‘हामीसँग घर जाने पैसा पनि थिएन । साथीहरुसँग मागेर हिँडेका हौं ।’
कुराकानीकै क्रममा उनका साथी दामोदार पुन आइपुगे । हाफ बाहुलावाला टिसर्ट लगाएर १९ वर्षीय दामोदरले भने, ‘काठमाडौं के–के न होला भनेर आएका थियौँ । यो त बस्ने ठाउँ नै रहेन छ ।’

पैसा कमाउने भनेर आएका उनले काठमाडौंको लामो बसाइमा सिकेको पाठ यही हो ।
अब गाउँबाट कहिले फर्कने त ? यो प्रश्न भईंमा खस्न नपाउँदै दामोदरले जवाफ फर्काए, नफर्कने ।
हिमालले पनि गाउँमै केही गरेर बस्ने सोच बनाएका छन् । उनले आफ्नै पारामा भने, ‘यहाँ बस्न ठीक छैन, काम पनि छैन । अब गाउँमै बसेर केही इलम गर्नुपर्ला ।’
‘कि विदेश जाने सोच बनाउनुभएको छ ?
हिमालले मोदरकै शैलीमा जवाफ फर्काए, ‘नजाने ।’
****
देशका विभिन्न स्थान जाने बस जम्मा हुने गोंगबुको नयाँ बसपार्कमा छ महिनापछि बिहीबारदेखि चहलपहल शुरु भएको छ । तर, सामान्य अवस्थामा जस्तो छैन । सरकारले लामो दुरीको यातायात सञ्चालन गर्न दिने घोषणा गरेसँगै यात्राको सुरसारमा केही यात्रु जम्मा भएका थिए । तर, खासै धेरै सवारी साधन देखिएनन् ।

नयाँ बसपार्कका २४ वटा काउण्टरमध्ये विहीवार १२ वटा काउण्टरमात्र सञ्चालनमा आएका छन् । बन्द काउण्टर अगाडि बसेका नवलपरासीका दिपेश गिरीले पनि गाडी पाएका छैनन् । बिहीबार तीन वजेतिर भेटिएका दिपेशले भने, ‘बिहान १० बजेदेखि आएर बसिरहेका छौँ । तर, अहिलेसम्म टिकट पाएनौं ।’
दिपेशको काठमाडौंमा टोखामा फर्निचर छ । गाडी चल्ने भयो भन्ने सुनेपछि उनी फर्निचर बन्द गरेर घर फर्कने टिकटको खोजीमा नयाँ बसपार्क पुगेका थिए । एकजना साथी लिएर पुगेका उनले भने, ‘आज टिकट पाइएलाजस्तो छैन ।’
दिपेशले पनि तत्काल काठमाडौं नफर्कने सोचमा छन् । ‘काठमाडौंमा झन कोरोना बढ्दैछ । अब काठमाडौं आउनुभन्दा गाउँमै बस्नु ठीक लाग्न थाल्यो’ उनले भने, ‘भएको खेती गर्यो, आनन्दले बस्यो । न भोकको डर, न रोगको ।’
विदेशबाट उम्किएँ, तर काठमाडौंमा …
नयाँ वसपार्कमा वैदेशिक रोजगारबाट फर्किएर घर जान चाहनेहरु पनि भेटिए । उनीहरु बिहीबार नै कुवेत, दोहा र दुबईको चार्टर विमानबाट काठमाडौं ओर्लिएका थिए ।
दुबईबाट आएका बैतडी, पाटनका चन्द्रसिंह बोहोरा बिहीबार अबेरसम्म गाडीकै प्रतिक्षामै थिए । उनी चार वर्षपछि नेपाल फर्किएका हुन् । सात वर्षदेखि दुबईलाई कर्मथलो बनाएका चन्द्रसिंह पनि अब विदेश नजाने गरी स्वदेश फर्किएका छन् ।
निर्माण क्षेत्रमा काम गर्ने चन्द्रसिंहको जागिर तीन महिना पहिले नै गुमेको हो । धन्न लामो समय काम गर्दै आएकाले कम्पनीले कोठासम्म उपलब्ध गराएको थियो र मासिक पाँच सय दिरामले महिना कट्यो । तर, दुई हजार चार सय रिअल तिरेले उनी नेपाल फर्कनुपर्यो । ‘सयौंको संख्यामा नेपालीहरु फुटपाथमा पुगेका छन् । टिठ लाग्ने गरेर बस्न बाध्य भएका छन्’ उनले अनलाइनखबरसँग पीडा पोखे, ‘मैले पनि कमाएको पैसा त्यहीँ खन्याएर आउनुपर्यो !’
उनका अनुसार १ सेप्टेम्बरमा उडान सञ्चालन हुने सुनेको उनीहरुको समूह ढुक्कसँग बसेको थियो । तर, एक तारेखमा खुलेन । एयरलायन्सले टिकट नै पाइएन भन्यो । १९ सेप्टेम्बरमा भिसा सकिँदै थियो, नेपाली दूताबासले केही नभन्दा तनावमा परे ।
फुटपाथमा छन् नेपाली
१ सेप्टेम्बरमा पनि विमान नखुलेपछि चन्द्रसिंहसहित चारजना दिनदिनै दूतावास धााउन थाले । एयरलायन्समा धर्ना दिन पुगे । तर, नेपाल फर्कने कुनै टुंगो लागेन । भन्छन्, ‘दुतावासले पहिलेका साथीहरु पनि छन् भन्दै कुनै खबर गरेन । धन्न एउटा फ्ल्याइट पाएर समयमै नेपाल आउन पाइयो ।’

उनीसँगै पाँच दर्जन बढी नेपालीले २२ सय दिरामभन्दा बढी खर्चिएर नेपाल फिरेका हुन् । थुप्रै नेपालीरु भिषा सकिएर सडक, दुतावासतिरै अलपत्र परिरहेको पनि उनले सुनाए । ‘भिसा सकिएपछि कम्पनीले पनि बस्न दिँदैन । मासिक आठ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ’, चन्द्रसिंहले भने, ‘ठूलो संख्यामा नेपालीहरु फुटपाथमा छन् । अब कतिपय त उतै लुकेर बस्ने होलान् ।’
चन्द्रसिंह नेपाल त आइपुगे । तर, नयाँ वसपार्कमा पुगेपछि कसरी घरसम्म पुग्ने भन्ने तनाव थपिएको छ ।
‘टिकट पाइएको छैन’ उनले भने, विदेशबाट आएकालाई होटलले बस्न दिन्छ कि दिँदैन थाहा छैन । घर पुगेर पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।’
दुबईबाटै आएका पूर्वी रुकुमका जितेन्द्र पुन पनि गाडी नपाएर नयाँ बसपार्कमै अलपत्र परेका छन् । बिहीबार नयाँ बसपार्कबाट काठमाडौं बाहिरका लागि १५ वटा बस छुटेको वसपार्कका कर्मचारी सञ्जिव कार्कीले बताए । ४२ सिटको बसमा १८ देखि २० जनासम्म यात्रु राखेर पठाएको उनको भनाइ छ ।
घर फर्किन बसपार्क पुगेकाहरुका थप तस्वीर
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4