+
+
Shares

सुत्केरी खान माइत आउँदा काखको छोरा बाढीले लग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १३:४७

२ असोज, काठमाडौं । ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् ।

कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा शिशुको मृत्यु भएको हो ।

सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाट आई नारायणगढस्थित आफन्तकोमा बसेर  बिहीबार बसमार्फत ठोरी हिँडेका थिए । तर उनको परिवार सवार बस टिउकी खोलामा फसेपछि सो बसमा सवार यात्रुको उद्धारका लागि ठोरीबाट ट्याक्टर बोलाइएको थियो ।

माडी-ठोरी सडकखण्डमा पर्ने टिउकी खोलामा फसेको बस ।

ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामप्रकाश कुँवरका अनुसार बसका यात्रुलाई ट्याक्टरमा सिफ्ट गरेर फर्कने क्रममा टिउकी खोलाको बाढीले ट्याक्टर बगाएको थियो । खोलाले ट्याक्टरलाई पल्टाउन खोज्ने क्रममा सन्तोषकी श्रीमती निरुताको काखबाट छोरा एक्कासी खोलामा खस्न पुगेको बताइएको छ । सन्तोष, निरुतालगायत अन्य यात्रुलाई भने नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको उनले बताए ।

‘बसबाट यात्रुलाई ट्याक्टरमा सिफ्ट गरी फर्कने क्रममा टिउकी खोलामा एक्कासी बाढी आएको रहेछ । बाढीले ट्याक्टरलाई पल्टाउन खोज्दा निरुताको काखबाट बच्चा खोलामा खस्न पुगेछ,’ वडाध्यक्ष कुँवरले भने, ‘सन्तोष, निरुता लगायत अन्य यात्रुलाई भने अमुवा पोष्टबाट गएको नेपाली सेनाले टोलीले सकुशल उद्धार गरेका रहेछन् ।’

वडाध्यक्ष कुँवरका अनुसार सुत्केरी खानका लागि निरुता एक महिनाको छोरालाई लिएर माइत आएकी रहेछन् । बच्चा सानै भएका कारण सन्तोष पनि सुत्केरी श्रीमतीलाई ससुरालीसम्म पुर्‍याउन आएका थिए । सोही क्रममा उनको परिवार दुर्घटनामा परेको हो ।

अविरल वर्षा र बाढीका कारण शुक्रबार बिहान मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले बेपत्ता बालकको खोजी गर्दा शव फेला पारेको वडाध्यक्ष कुँवरले बताए ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले घट्ना स्थलतर्फत आफ्नो टोली गइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?