Comments Add Comment

संविधान संशोधन गर्नुपरे विना भड्काउ तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

भोजन भन्दा सुरक्षा महत्वपूर्ण : प्रधानमन्त्री ओली

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘स्थिरताको नाममा, स्थायित्वको नाममा संविधान अपरिवर्तनशील विषय होइन । व्यवहारगत रुपमा, समाजवादलाई अगाडि बढाउने सन्दर्भमा प्रणालीगत हिसाबले होस्, संरचनात्मक हिसाबले होस्, कानुनी अप्ठ्याराका हिसाबले होस्, कुनै ठाउँमा देश र जनताको आवश्यकता औचित्यतताका आधारमा संशोधन परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

परिवर्तनको उपलब्धीलाई अगाडि बढाउन, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधान संशोधन हुन सक्ने उनले बताए । ‘त्यस्तो पर्‍यो भने संविधान असंशोधनीय दस्तावेज होइन । संशोधनीय चिज हो’ उनले भने ।

नेपालको संविधानले कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य गरेको भन्दै सरकार प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रधानमन्त्री ओलीले बताए ।

संविधान कार्यान्वयनका लागि संरचना र कानुन बनाउन ३ वर्ष लागेको भन्दै ओलीले बल्ल सरकार संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा आइपुगेको धारणा राखे ।

व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आ–आफ्नो ठाउँमा स्वतन्त्र र चेक एण्ड ब्यालेन्समा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानले यस विषयमा उन्नत प्रबन्ध गरेको जिकिर गरे ।

‘भोजन भन्दा सुरक्षा महत्वपूर्ण’

प्रधानमन्त्री ओलीले मानिसका लागि भोजन भन्दा सुरक्षा महत्वपूर्ण हुने जिकिर गरेका छन् ।

‘जनताको सुरक्षा पहिलो प्रश्न हो । हामी हावा, पानी, भोजनका कुरा गर्छौं । त्यो भन्दा पहिलो हुँदो रहेछ सुरक्षाको प्रश्न’ ‘ उनले भने ।

आफ्नो भनाइ पुष्टि गर्न प्रधानमन्त्री ओलीले एउटा उदाहरण सुनाए । ‘कुनै चरालाई तपाईंले खाने कुरा दिनुभयो भने, भोक लागेको छ उसलाई, उसलाई खान मन छ तर, आउँछ, हेर्छ, विचार गर्छ, सुरक्षित महसुस गर्‍यो भने खाना खान्छ । सुरक्षित महसुस गरेन भने भाग्छ ।’

उनले अघि थपे ‘बाँच्यो भने त भरे खान पाउला, कतै खाला । अहिले नै यहिँ ट्र्यापमा परेर, अहिले नै जिन्दगी सकियो भने त खाने कुरै भएन ।’

नेपालको संविधानले नागरिकको सुरक्षाको मर्मलाई पनि संबोधन गरेको प्रधानमन्त्री ओलीले बताए । नागरिकको सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment