Comments Add Comment

संविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

२ असोज, काठमाडौं । शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवननजिकै सडकमा वसन्त पौडेल श्रीमतीसँग हिँडिरहेका थिए । उनी श्रीमतीलाई अस्पतालमा जँचाएर निवासतर्फ फर्कँदै थिए ।

संविधान दिवसको पूर्वसन्धामा आम नागरिकहरुको प्रतिक्रिया लिने उद्देश्यले हामी बसन्तको छेउमा पुग्यौं र केही प्रतिक्रिया दिन आग्रह गर्‍यौं ।

संविधानले हामीलाई के दियो ? भन्नेबारे पौडेलले बताउँदै थिए । अचानक प्रहरीले धावा बोल्यो र उनलाई निकै परसम्म लखेटेर कुटपिट गर्‍यो । प्रहरीले अवराेध गरेका कारण हामीले कुटपिटको दृश्य खिच्न सकेनाैं ।

संविधानले जनतालाई जति राहत दिनुपर्ने त्यति हुन नसकेको पौडेलले बताउँदै गर्दा प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको टोलीले पौडेललाई बोल्न निषेध गरे । प्रहरीले संसद भवनअगाडि नै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोले ।

पत्रकारलाईै समाचार संकलन नगर्न दवाव दिदै इन्सपेक्टर सापकोटा

अनलाइनखबरकर्मीलाई पनि प्रहरीले दुर्व्यहार गरे । गिरफ्तार गरेर गाडीमा हाल्न खोजे पनि प्रतिवाद गरेपछि इन्स्पेक्टर सापकोटाले पक्राउ चाहिँ गरेनन् ।

प्रहरी टोलीले सूचना विभागको कार्ड देखाउँदासमेत अन्तर्वार्ता दिइरहेका पौडेललाई लाठी हानेर अन्तर्वार्ता बिथोलेका थिए । पर पुगिसकेपछि पनि उनीमाथि प्रहरीले लखेट्दै गएर कुटपिट गर्‍यो ।

प्रहरीले पिटेर खेदाइसकेपछि हामी फेरि पौडेलको सम्पर्कमा पुग्यौं । उनले यसरी बाटो हिँडिरहेका सर्वसाधारण नागरिकमाथि प्रहरीले कुटपिट गर्नु गैरसंवैधानिक एवं गैरकानूनी कार्य भएको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने बताए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले घटनाबारे छानविन गर्ने जनाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले पनि घटनाको छानविन गर्ने बताएका छन् ।

पत्रकारलाई हप्काउँदै प्रहरी

यसअघि बिहीबार पनि बानेश्वर प्रहरी कार्यालयका इन्स्पेक्टर केशर न्यौपाने नेतृत्वको टोलीले बबरमहलमा १०० ग्रुपका युवा अभियन्ता बब्लु गुप्तालाई रगतपच्छे हुने गरी कुटपिट गरेको थियो । न्यौपानेसहितका प्रहरी अधिकारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले रानीपोखरीलाई निर्देशन दिएको छ ।

अनलाइनखबरको टोली संविधान दिवसबारे जनमत लिन बानेश्वर चोकतर्फ गइरहेका बेला शंखमुलतर्फ जाने सडकमा बसेका प्रहरीले रोक्न खोजेको थिए ।

यो घटनाले सडकमा पत्रकार र क्यामेराम्यान देख्नासाथ आक्रमण गरी हाल्ने प्रहरीको नियत प्रष्टै देखिएको छ । बोल्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकारमाथि प्रहरीले गरेको यस्तो व्यवहारप्रति अनलाइनखबर खेद व्यक्त गर्दछ । यसरी नागरिकहरुमाथि कुटपिट गर्ने निरंकुश व्यवहार तत्काल बन्द गर्न सरकारसँग आग्रह गर्दछ ।

यो पनि पढ्नुहोस प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

पत्रकार महासं‌घको विरोध

नेपाल पत्रकार महासंघले पनि प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले प्रहरीको यो कार्यलाई स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

यो पनि पढ्नुहोस कुलमानको पक्षमा प्रदर्शन गर्ने व्यक्तिमाथि निर्घात कुटपिट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment