Comments Add Comment
रिपोर्टरको डायरी :

महानिरीक्षकज्यू, प्रहरी र गुण्डामा अन्तर हुँदैन ?

वसन्त पौडेलजी मलाई माफ गर्नुस् !

संविधान दिवसको अघिल्लो दिन यस्तो घटना विवरण लेख्नुपर्दा निकै आहत छु । लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी भएको ५ वर्षपछि देशमा ‘लोकतन्त्र’को अवस्था कस्तो छ भन्ने तीतो अनुभव आज मैले गरेँ ।

एक नागरिक सडकमा हिँड्दै गर्दा सञ्चारकर्मीले सानो टिप्पणीका लागि आग्रह गरेपछि रोकिन्छन् । सोधिएका प्रश्नको जवाफ दिन थाल्छन् । तर, बोल्दै गर्दा प्रहरीको टोली आएर उनलाई थुतेर लैजान्छ । नागरिक प्रहरीबाट ज्यान जोगाउन भाग्छन् । प्रहरी एउटा कुख्यात अपराधीलाई जसरी उसलाई लखेट्छ ।

के लोकतन्त्रको प्रहरी यस्तै हुन्छ महानिरीक्षकज्यू ? के लोकतन्त्रको परिदृश्य यस्तै हुन्छ प्रधानमन्त्रीज्यू ?

प्रायः आर्थिक बिटमा समाचार लेख्ने भए पनि आज संविधान दिवसको पूर्वसन्ध्यामा एउटा फिल्ड रिपोर्ट बनाउने ‘असाइनमेन्ट’ सम्पादकबाट प्राप्त भएको थियो । सडकमा उभिएर आम नागरिकसँग अन्तरक्रिया गर्ने काममा म सधैं उत्साहित हुन्छु । कुनै राजनीतिक पार्टीसँग असम्वद्ध, आफ्नो पेशा–व्यवसाय गरीखानेहरुले दिने मौलिक प्रतिक्रियाले नै वास्तवमा देशको वास्तविकता बोल्छ भन्ने मेरो विश्वास थियो र छ ।

फाेटाे पत्रकार चन्द्र आलेका साथ दिउँसो साढे तीन बजेतिर कार्यालयबाट जोशका साथ रिपोटिङका लागि फिल्डमा निस्किएको थिएँ । मेरो हातमा बुम र चन्द्रको हातमा क्यामेरा थियो । कुनै अप्रिय घटनाको कल्पनासम्म गरिएको थिएन । बानेश्वर चोक पुग्नै लाग्दा प्रहरीका एक असईसहितकोे टोलीले हामीलाई रोक्यो ।

असई सा’ब कड्किनुभयो, ‘कहाँ हिँडेको ? फर्किनुस् ।’

बुम र क्यामेरा बोकेको देखेपछि सञ्चारकर्मी भनेर अनुमान लगाउन प्रहरीलाई कठिन थिएन । काठमाडौंमा निषेधाज्ञा खुलिसकेकाले बानेश्वर क्षेत्रको अवस्था सामान्य थियो । मानिसहरुको बाक्लो चहल पहल थियो । आज कतै आन्दोलन पनि नभएकाले शान्ति सुरक्षामा प्रहरीलाई कुनै चुनौति पनि थिएन । त्यसैले प्रहरीले बाटो हिँडिरहेका बेला रोक्दा अलि अनौठो लाग्यो । तर, यसलाई अन्यथा लिने कुरा भएन ।

हामीले विनम्रतापूर्वक आफ्नो उद्देश्य बतायौं । प्रहरीले पनि छाडिदियो ।

हामी बानेश्वर चोकमा पुगेर अडियौं, पात्रहरुको प्रतिक्षामा । यस्तो जनमत लिने रिपोर्टिङमा सकभर फरक–फरक पृष्ठभूमिका पात्रहरु समेटिउन् भन्ने पत्रकारहरुको चाहना हुन्छ, ताकि सबैखाले जनताको भावना प्रतिनिधत्व होस् ।

भोलि संविधान दिवस थाहा छ ? संविधान आएपछि देशमा के–कस्तो परिवर्तन महसुस गर्नुभएको छ ? देशको राजनीति सही दिशामा गइरहेको छ कि छैन जस्तो लाग्छ ? सरकारको काम कारवाहीमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? हामीले सोध्ने प्रश्नहरु यस्तै नै थिए ।

दुईजनासँग निर्वाध कुराकानी भयो । तेस्रो पात्रका रुपमा हामीसँग एक युवा कुरा गर्न तयार हुनुभयो । नाम वसन्त पौडेल ।

उहाँ पत्नीसँग पैदल हिँडिरहनुभएको थियो । गर्भवती श्रीमतीलाई स्वास्थ्य परीक्षण गराएर निवासतर्फ फर्कँदै हुनुहुँदोरहेछ ।

पौडेल हामीसँग कुरा गर्न थालेपछि उहाँकी श्रीमती केही अगाडि गएर प्रतिक्षामा रहनुभयो । उहाँ नजिकैको एउटा होटलमा पुगेर बस्नुभएको रहेछ ।

पौडेललाई हामीले उही प्रश्न सोध्यौं । उहाँले सन्तुलित जवाफ दिँदै जनताका प्रतिनिधिबाट लेखिएको संविधानले देशलाई केही राहत भएको बताउँदै हुनुहुन्थ्यो । यद्यपि जनता पूर्ण सन्तुष्ट नसकेको उहाँको भनाइ थियो ।

पौडेलले बोल्दै गर्दा प्रहरीको टोली हुर्रिएर आयो । उनीहरुले क्यामेरा बन्द गर्न इशारा गरे । क्यामेराभन्दा पछाडिबाट आएकाले उनीहरु क्यामेराभित्र कैद भएनन् । प्रहरी टोलीको नेतृत्व इन्स्पेक्टरले डिल्लीराज सापकोटाले गरेका थिए ।

यत्तिकैमा पछाडिबाट कसैले मलाई प्याटप्याट पार्‍यो । फेरि अर्कोले कठालोमा समात्यो । फर्केर हेर्दा प्रहरी हवल्दार थिए । रिपोर्टिङ बन्द गर्न निर्देशन दिदै मेरो हातमा बोकेको बुम खोस्न खोजे । मैले पनि सकेको प्रतिवाद गरेँ ।

इन्सपेक्टर सापकोटाले सबैलाई समातेर गाडीमा हाल्न अलि परबाट आदेश दिए ।

यो पनि पढ्नुहोस संविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

अर्का प्रहरीले मसित कुरा गरिरहेका पौडेललाई समातेर ताने । उनी त्यहाँबाट उम्किन खोजे । तर, प्रहरीले अपराधीलाई झैं परसम्म लखेटे ।

मलाई प्रहरीले आफ्नो कठालो समातेको भन्दा पनि आफूले बोलाएर बाइट लिइरहेका सर्वसाधारण नागरिकलाई प्रहरीले दुर्व्यवहार गरेकोमा बढी ग्लानी भयो ।

मैले आग्रह गरें, उहाँको केही दोष छैन । उहाँलाई हामीले नै अनुरोध गरेर  बोल्न लगाएका हाैं भनेर प्रहरीलाई सम्झाउने प्रयास गरें ।

मैले इन्सपेक्टरलाई सूचना विभागबाट जारी प्रेस कार्ड देखाएर म आफ्नो काममा खटिएको बताएँ । पत्रकार परिचय पत्र देखाएपछि प्रहरीले हामीलाई छाड्यो । तर, हामीलाई प्रतिक्रिया दिने पौडेललाई भने लखेटिरह्यो । उनलाई कुटपिट गर्‍यो ।

बल्लतल्ल प्रहरीबाट फुत्केर उनी त्यही होटलमा पसे, जहाँ श्रीमती पर्खिरहेकी थिइन् । तर, प्रहरी होटलभित्रै घुस्यो र उनलाई समात्यो । पौडेलले आफू अस्पताल गएर आएको, श्रीमती गर्भवती भएको भन्दै अनुनय गरे । उनकी श्रीमतीले पनि याचना गरिन् । बल्ल प्रहरीहरु केही नरम भए ।

हामीले कुराकानी गरेको ठाउँमा कुनै भिडभाड थिएन । हामीलाई प्रतिक्रिया दिइरहेका व्यक्तिले सरकारको आलोचना गरेका पनि थिएनन् । सुरक्षाका मापदण्ड पालना गरेरै हामी फिल्डमा खटिएका थियौं ।

एउटा सञ्चारकर्मीले सडकमा उभिएर संविधान दिवसको पूर्वसन्ध्यामा जनतासँग सामान्य सम्वाद गरिरहँदा प्रहरीले कस्तो सुरक्षा चुनौती सोच्यो, मैले बुझ्न सकिनँ ।

जनता असुरक्षित भए प्रहरीको मुख ताक्छन्, तर प्रहरीबाटै असुरक्षित महसुस गर्नुपरे कसको शरण पर्ने ? प्रहरी र गुण्डाबीच केही भेद हुनुपर्छ कि पर्दैन ? माफ गर्नुहोला महानिरीक्षकज्यू, आजको घटनामा मैले प्रहरी र टोले गुण्डाबीच कुनै भेद छुट्याउन सकिनँ ।

अहिले पनि, मलाई आफूलाई गरिएको दुर्व्यवहार भन्दा मैले बोल्न आग्रह गरेर रोकेका एक निर्दोष युवाले अकारण पाएको ‘सजाय’ र अपमानले मन पोलिरहेको छ । पौडेलजी मलाई माफ गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment