Comments Add Comment

पाँच बर्षमा पनि ठडिएनन् भूकम्पले क्षतिग्रस्त गोरखाका सम्पदा

भूकम्पले क्षति पुगेको फुजेलको शिवालय मन्दिर परिसरको पाटी ।

४ असोज, गोरखा । भूकम्पले क्षति पुगेको गोरखाका धार्मिक सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको छ । भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि अधिकांश सम्पदाको पुनर्निर्माण बाँकी नै रहेको छ । पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पले जिल्लाका ४५ वटा सम्पदामा क्षति पुर्‍याएकामा जम्मा २१ सम्पदा पुनर्निर्माण भएका छन् ।

विभागले चालु आर्थिक बर्षमा २४ वटा सम्पदा पुनर्निर्माणका लागि बजेट छुट्याएको छ । विभागले गोरखा दरवार हेरचाह अड्डा र गोरखा संग्रहालयका प्रमुखलाई परियोजना प्रमुखको जिम्मा तोकेर पुनर्निर्माण अघि बढाउन लागेको छ । गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले आफ्नो जिम्मेवारीमा १० वटा सम्पदा रहेको बताए ।

पालुङटार नगरपालिका खोप्लाङमा रहेको अन्नपूर्ण देवी मन्दिर, मिरकोटको विश्वेश्वर महादेव, लुइँटेल भञ्ज्याङको वीर भद्रेश्वर र गाइखुरको लोकेश्वर महादेव मन्दिर उनको जिम्मामा छ ।

गोरखा नगरपालिका ताप्लेको कब्रस्थान, पिपलथोकको भीमसेन मन्दिर, बिरिमकाली मन्दिर, शहीद लखन गाउँपालिकाको बुंकोटकाली भुमेको सत्तल, आरुघाटको भीमसेन मन्दिर र गोरखा संग्रहालय पुननिर्माणको जिम्मा अधिकारीलाई छ । यी सम्पदा पुनर्निर्माणका लागि ३ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुसालको जिम्मेवारीमा पालुङटार नगरपालिकास्थित लुइँटेल भञ्ज्याङको कलात्मक पौवा, फुजेलको शिवालय मन्दिर परिसरमा रहेको पार्टी, धार्चे गाउँपालिकाको मनेडाँडा, पाध्याङ डाँडा र लाप्राकमा रहेको खोर्का छ्योर्तेन, सिरानचोक गाउँपालिकाको धारापानी चिसापानी गढी माइको मन्दिर, बारपाक सुलिकोटको भीमसेन मन्दिर र महालक्ष्मी माई भगवती मन्दिरहरुको पुनर्निर्माण एवं संरक्षणको काम परेको छ ।

गोरखा दरवार परिसरको कालिका मन्दिर, रंगमहल, शितल पाटी र रिटर्निङ वाल संरक्षण, गोरखा नगरपालिकाको खड्गदेवी मन्दिर सँगै तान्द्राङकोट सिद्ध मन्दिरसहित परिसरको मर्मत सम्भारको जिम्मा पनि भुसाललाई छ । यी सम्पदा पुनर्निर्माणका लागि ४ करोड ९६ लाख रुपैयाँ बजेट छ ।

गोरखा दरवार पुनर्निर्माणमा ढिलाइ

भूकम्पले क्षति पुगेको गोरखा दरवार पुनर्निर्माणको काम पनि कछुवा गतिमा अघि बढेको छ । ठेकेदारको लापरवाहीका कारण काम शुरु भएको तीन बर्ष पुग्नै लाग्दा मुश्किलले ४५ प्रतिशत काम सकिएको छ ।

भुइँ तलाको काम सकेर पहिलो तलामा झ्यालहरु राख्ने तयारी भइरहेको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुसालले बताए । समयमै दरवार पुननिर्माण हुन नसक्नुको कारण ठेकेदारको लापरवाही रहेको उनको भनाइ छ ।

दरवार पुनर्निर्माणका लागि पचली भैरव सिभाको जेभीसँग २०७४ साल कात्तिक २९ गते ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार २०७६ साल मंसिर मसान्तभित्र काम सक्नुपर्ने थियो । तर तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप भयो । तर थप गरिएको समयमा पनि ठेकेदारले काम सम्पन्न नगरेपछि पुनः मंसिर मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

ठेकेदारले आवश्यक मात्रामा कामदार ल्याउन नसकेको भुसाल बताउँछन् । अहिलेकै गतिमा काम हुने हो भने दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नहुने उनको भनाइ छ । ‘दरवार समयमा पुनर्निर्माण नहुँदा सँगै रहेका कालिका मन्दिर, रंगमहललगायतका अन्य संरचना पुनर्निर्माण थाल्न सकेका छैनौं,’ उनले भने ।

कालिका मन्दिर पुर्ननिर्माणका लागि आएको रकम पनि फ्रिज हुँदै आएको उनले बताए । ‘कालिका मन्दिर पुनर्निर्माणका लागि अघिल्लो र गत बर्ष एक÷एक करोड रुपैयाँ आएको थियो, दरवार पुनर्निर्माण काम समयमै नसकेर यता काम शुरु गर्न सकेनौं, रकम फ्रिज भएर गयो,’ उनले भने ।

भूकम्पले क्षति पुगेको मनकामना मन्दिर भने यसअघि नै पुनर्निर्माण भइसकेको छ । समुदाय स्तरबाट मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर जिर्णाेद्धारका लागि बिभागले तीन करोड रकम बराबरको सुन र ५० हजार बराबरको काठ उपलब्ध गराएको थियो ।

गुम्बा पुनर्निर्माणले गति लिन सकेन

भूकम्पले क्षति पुगेका गुम्बा पुनर्निर्माणको कामले पनि गति लिन सकेको छैन । हालसम्म आशिंक क्षति पुगेका ९ वटा गुम्बामात्र मर्मत भएका छन् । तर पूर्ण क्षति भएका गुम्बा पुनर्निर्माण हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख रामशरण आचार्यले बताए ।

‘भूकम्पले ९१ वटा पूर्ण र १३ वटा आशिंक रुपमा गरी १ सय ४ वटा गुम्बामा क्षति पुगेको हो,’ उनले भने, ‘गतबर्ष आएको दुई करोड दश लाख रकमले आशिंक क्षति पुगेका ९ वटा गुम्बा मर्मत गर्‍यौं ।’

यो बर्ष भने पूर्ण क्षति भएका ९ वटा गुम्बा पुनर्निर्माण हुने उनको भनाइ छ । उक्त कामका लागि पाँच करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment