Comments Add Comment

नेपाली भूमिमा चीनले भवन बनाएको क्षेत्रमा खटियो निरीक्षण टोली

५ असोज, सुर्खेत । चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमन टोली नाम्खा गाउँपालिका-६, लिमीतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गाउँपालिकाका अध्यक्ष लगायत छन् । टोली स्थलगत अध्ययनका लागि गएको सहायक प्रजिअ हमाल बताउँछन् ।

नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए ।

केही दिन अगाडि मात्रै स्थलगत अनुगमन गरेर आएका हमालले दुई देशको सिमानाभन्दा झण्डै दुई किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको बताए ।

नेपाली भूभागमा ती भवन कुन प्रयोजनका लागि बनाइएका हुन् भन्ने नखुलेको उनको भनाइ छ । ‘चिनियाँ पक्षको जिम्मेवार व्यक्तिसँग हामीले बुझ्न खोज्यौँ तर हामीलाई त्यहाँ जान दिइएन, टाढैबाट फोटो खिचेर फर्कियौं’, हमालले अनलाइनखबरसँग भने ।

भवन निर्माण भएको ठाउँभन्दा झण्डै दुई किलोमिटर अगाडि डाँडामा १२ नम्बर सीमास्तम्भ रहेको छ । तर त्योसँगै रहेको ११ नम्बर सीमास्तम्भ भने हराएको सहायक प्रजिअ हमालले बताए ।

यसअघि निरीक्षणमा गएको सहायक प्रमुख जिल्ला अधिकारी गरी नेतृत्वको टोली ।

पुरानै घाउ

यसअघि २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि विरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।

‘यो समस्या आजको नभइ धेरै पुरानो रैछ । हामी अनुगमनमा जाँदा स्थानीयले त्यहाँ जान दिएनन् । स्थानीयले त्यहाँको प्रहरीले जान दिँदैन भनेपछि हामी वारिबाटै फर्कियौँ,’ न्यौपाने भन्छन् ।

नयाँ नौ वटा ब्लक  निर्माण गरेर फिनिसिङको काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताउँछन् । उनका अनुसार सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न नदिएको स्थानीयको गुनासो छ । त्यहाँ चिनियाँ सुरक्षाकर्मीका गाडी भने ओहोर-दोहोर गरिरहन्छन् ।

सहायक प्रजिअ हमालको नेतृत्वमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितको टोली भदौ १४ गते स्थलगत अनुगमन गरी १९ गते फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment