५ असोज, काठमाडौं । फरवार्ड लुइस सुआरेजले स्पेनिस क्लब बार्सिलोना छाड्ने पक्का भएको छ । यही समरमा क्लब छाड्नेबारे सुआरेज र बार्सिलोनाबीच सहमति भएको स्पेनिस अनलाइन मार्काले जनाएको छ ।
क्याटलान क्लबसंग अझै एक वर्ष सम्झौता बाँकी रहेपनि नयाँ प्रशिक्षक रोनाल्ड कोएमनको योजनामा ठाउँ नपाएपछि सुआरेजले क्लब छाड्न लागेका हुन् । आरएसी वानका अनुसार सुआरेज अब फ्री एजेन्टका रुपमा उपलब्ध हुनेछन् र नयाँ प्रस्ताव पर्खिरहेका छन् ।
केही समयअघि सुआरेज इटालियन क्लब युभेन्ट्स जाने चर्चा चलेको थियो । केही दिनपछि सुआरेजको बहिर्गमनको आधिकारिक घोषणा गरिने सम्भावना रहेको छ ।
सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट क्याम्प नोउ पुगेका सुआरेजले बार्सिलोनाका लागि १९८ गोल गरेका थिए । उनले ६ वर्षमा २०१५ को ट्रेबलसहित कूल १३ ट्रफी जिते । यस्तै सन् २०१६ मा ४० गोल गर्दै युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।
बार्सिलोनाका लागि सर्वाधिक गोल गर्नेमा सुआरेज तेस्रो स्थानमा छन् । उनीअघि रहेका लिओनल मेसीले ६३४ र सेजारले २३२ गोल गरेका छन् ।
सुआरेजलाई भित्र्याउने होडमा ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड अगाडि देखिएको छ । क्बकै पूर्वखेलाडी कोएमन प्रशिक्षक बनेर आएपछि क्याम्प नोउमा धेरै खेलाडीको भविष्य अनिश्चित बनेको हो ।
यसअघि नै मिडफिल्डर इभान राकिटिक पुरानै क्लब सेभिया फर्किसकेका छन् । अर्का मिडफिल्डर अर्टुरो भिदाल पनि इटालियन क्लब इन्टर जाने पक्का भइसकेको छ ।
यस्तै डिफेण्डर सामुएल उम्टिटी र नेल्सन सेमेडोले पनि क्लब छाड्ने चर्चा भइरहेको छ ।
प्रतिक्रिया 4