+
+
Shares

कोरोना महामारीका बीचमा चीनमा अर्को रोगको संकट ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १४:४५

६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिरहेको बेला चीनमा ब्याक्टेरियाको संक्रमणबाट लाग्ने ब्रुसेलोसिस रोगको संक्रमण फैलिएको छ ।

ग्लोबल टाइम्सले उल्लेख गरेअनुसार अघिल्लो सोमबारसम्म चीनको गाङ्सु प्रान्तको लाङझोउमा तीन हजार २४५ जना मानिसमा यो रोगको संक्रमण देखिएको हो ।

करिब २२ हजार मानिसमा गरिएको परीक्षणमा चार हजार ६ सयभन्दा धेरैको प्रारम्भिक नतिजा पोजेटिभ आएको थियो । गाङ्सु प्रान्तले तीन हजार २४५ जनामा यो रोगको संक्रमण पुष्टि गरेको ग्लोबल टाइम्सले जनाएको छ । यससँगै चीनमा यो रोगको संक्रमण अझै बढ्न सक्ने आशंका बढेको छ ।

के हो ब्रुसेलोसिस ?

ब्रुसेलोसिस ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो । विशेषगरी यो रोग गाइवस्तु, सुँगुर, बाख्रा, भेडा र कुकुरमा लाग्छ । यो रोगबाट संक्रमित जनावरको प्रत्यक्ष सम्पर्कमा भएका मानिसमा पनि यो रोग सर्न सक्छ ।

संक्रमित जनावरहरुबाट उत्पादित खानेकुरा (दूध, मासु, आदि) खाँदा वा पिउँदा पनि यो रोगको संक्रमण मानिसमा सर्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार यो रोग अधिकांशको हकमा संक्रमित बाख्रा वा भेडाको निर्मलीकरण नगरिएको दूध वा चीजबाट यो रोग सर्ने गरेको पाइएको छ ।

यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, पसिना आउने, अस्वस्थ अनुभूति हुने, खाना खान मन नलाग्ने, टाउको र मांसपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् । यो रोग लागेपछि देखिने लक्षण निकै लामो समयसम्म पनि रहन सक्छन् । अहिलेसम्म यो रोग मानिसबाट मानिसमा सर्नु दुर्लभ मानिएको छ ।

यो संक्रमण कहिले सुरु भयो ?

लाङझोउ सहरको स्वास्थ्य आयोगको वेबसाइटका अनुसार यो संक्रमण कहिले सुरु भयो भन्ने यकिन मिति छैन । सन् २०१९ को नोभेम्बर २८ मा लाङझोउको रिसर्च इन्स्टिच्युटमा परीक्षण गर्दा ‘ब्रुसेल्स इन्टिबडी–पोजेटिभ’ भएको पाइएको थियो ।

सन् २०१९ को जुलाई २४ देखि अगष्ट २० सम्म जनावरमा लगाइने खोप निर्माण गर्ने क्रममा कारखानामा म्याद गुज्रिएका डिसइन्फेक्टेन्टहरुको प्रयोग गरिएको थियो, जसको कारण खेर गएका ग्यासहरुको पूर्णरुपमा निर्मलीकरण हुन सकेन ।

यी ग्यासले रोग लगाउन सक्ने भाइरस बोकेका थिए । यी ग्यासबाट भाइरस हावामा फैलिएको र सम्पर्कमा आउने मानिसमा यो रोग फैलिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?