Comments Add Comment

‘बलि चढाउन’ भारत लगिएकी किशोरीको उद्धार, ३ जना पक्राउ

६ असोज, विराटनगर । बलि चढाउन भन्दै सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार भएको छ ।

रामधुनी नगरपालिका–५ कि १७ वर्षीय किशोरीलाई सोमबार विहान विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको थियो । भारतको फारबिसगञ्ज क्षेत्रमा पुगेर नेपाल फर्किदै गर्दा विराटनगर महानगरपालिका– १७ इस्लामपुरबाट किशोरीको उद्धार गरिएको हो ।

सोमबार साँझ करिब ६ बजे साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले ती किशोरीलाई उद्धार गरेको हो ।

उनलाई भारततर्फ लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी नगरपालिका– ५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका– ५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

१२ लाखको डिल

मनिका ती किशोरीको घर नजिकै बस्ने हुनाले घरमा पनि आउजाउ थियो । प्रहरीका अनुसार पक्राउ परेकी मनिकाले ती किशोरीलाई विराटनगरमा एउटा पूजामा कन्या पूजामा सहभागी हुने भन्दै सोमबार विहान घरबाट सँगै लिएर आएकी थिइन् । पूजामा कन्या पूजावापत ५ हजार रुपैयाँ दिने र आफूले एउटा मोवाइल किन्ने प्रलोभन मनिकाले ती किशोरीलाई दिएकी थिइन् ।

विराटनगर बसपार्क उत्रिएपछि उनलाई सुमित र प्रदीपसमेत मिलेर भारततर्फ लगेका थिए । प्रहरीका अनुसार मनिका फेसबुकमार्फत सुमितसँग नजिकिएकी थिइन् । पछिल्लो केही दिनयता मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

किशोरी पाँच फिट २ इञ्च हुनुपर्ने, विवाह नभएको र महिनावारी नभएको हुनुपर्ने सर्त थियो । सुमितका नातामा भिनाजु पर्नेले पूजाका लागि भन्दै किशोरीको खोजी गरेका थिए ।

सोमबार भारत लैजाने योजना अनुसार मनिकाले किशोरीकी आमासँग विराटनगरमा हुने पूजामा आफ्नो साथी जान दिन अनुमति मागेकी थिइन् । सुरुमा असहमति जनाएकी किशोरीकी आमाले पूजामा कन्या पूजामा सहभागी हुने र २ घण्टापछि फर्किने भनेपछि अनुमति दिएकी थिइन् ।

तर साँझसम्म नफर्किएपछि किशोरीकी आमाले फोन गर्दा दुबैजनाको मोबाइल स्वीच अफ थियो ।

उता किशोरीलाई भारत पुर्‍याएको समूहले त्यहाँको सम्पर्क व्यक्ति भेट्न नसकेपछि अलमलियो । त्यतिबेला किशोरीले आफू समस्यामा पर्न लागेको थाहा पाएपछि रुँदै नेपालतर्फ फर्किएको प्रहरीले बताएको छ ।

भारतीय सीमावर्ती क्षेत्र मोरङको इस्लामपुरमा साना हातहरु नामक संस्थाले सोधीखोजी गर्दा घटना शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी स्रोतका अनुसार सुमितका भिनाजु भारतको सुपौल जिल्लामा बस्छन् । उनले सुमितलाई पूजाका लागि किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

उद्दारमा खटिएको साना हातहरुका विराटनगर प्रमुख विवश श्रेष्ठले बालिकालाई बलि चढाउनका लागि लगिएको देखिएको बताए । तर संयोगले उक्त घटना हुन नपाएको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बेचबिखनका उद्देश्यले किशोरीलाई भारततर्फ लगेको हुनसक्ने बताए । ‘बलि चढाउन लगेको भन्ने खुलेको छैन’ उनले भने ‘अनुसन्धानकै क्रममा छ ।’

प्रहरीले तीनै जना विरुद्ध मानव बेचविखन मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment