Comments Add Comment

सुदूरपश्चिमका कैयौँ आपराधिक घटना सुल्झिएनन्, प्रहरीको भूमिका ‘कमजोर’

८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन ।

सुदूरपश्चिम प्रदेशमा यो मात्रै एउटा घटना होइन, जसको दोषी पक्राउ नपरेको होस् । कैयौँ घटनाका पीडितहरुले वर्षौंसम्म न्याय पाएका छैनन् ।

गत वैशाख १० गते कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा मृत फेला परेका निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको घटनामा पनि प्रहरीले तथ्य पत्ता लगाउन सकेन । निजी विद्यालयहरूको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत रहेका भुसालको हत्या गरिएको भन्दै परिवार र आफन्तले न्यायको लागि ठूलै आन्दोलन गरे, तर उपलब्धी भएन ।

त्यसअघि माघ २१ गते अछामको पञ्च देवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परे । स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । प्रहरीले भने ८ महिनासम्म पनि दोषी पक्राउ गर्न सकेको छैन ।

यही असोज १ गते कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरका एक युवतीको शव फेला पर्‍यो । प्रहरीले शव सनाखत त गर्‍यो तर घटना कसरी भएको थियो भन्ने विषयमा अनुसन्धान नै भएन ।

सुदूरपश्चिम प्रदेशमा वर्षौं पहिले भएका घटनाहरू पनि अझै रहस्यमा छन् । २०७० मंसिर २६ गते दिउँसो कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार रुपैयाँ र २०० अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गको मालाखेती जंगलमा लुटियो । यो घटना भएको ७ वर्ष पुग्नै लाग्यो, त्यसको पनि दोषी पत्ता लाग्न सकेको छैन ।

कैलालीमा पनि प्रहरीले सल्टाउन नसकेको आपराधिक घटना धेरै छन् । २०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमती कुन्तादेवी जोशी हत्या भयो । त्यो घटनामा पनि कोही पक्राउ परेका छैनन् ।

धनगढीमै २०६९ मंसिर २५ गते हत्या गरिएका ओम प्रकाश पन्तका परिवारले पनि अझै न्याय पाएको छैन ।

अत्तरियास्थित खानेपानी ट्यांकी नजिक भएको बझाङका शिक्षकको हत्या पनि रहस्यमै रह्यो । अत्तरियाकै गोदावरी पुल नजिक एक महिलाको बलात्कारपछि बिभत्स हत्या भएको घटनामा पनि प्रहरी प्रभावहीन देखियो ।

लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । धनगढीको क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दीपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो । खड्का परिवारको अवस्था पनि हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन ।

२०७५ फागुन २८ गते राति घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भयो । चौधरी शरीरमा गोली बोकेर हिँडेका छन् । तर आक्रमणकारीबारे प्रहरी बेखबर जस्तै छ ।

प्रहरीकै लापरबाही बढी

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका १९ वर्षीय रोशन विक गत भदौ २८ गते मृत फेला परे । प्रहरीले आत्महत्या भने पनि परिवारजनले हत्या गरिएको बताइरहेका छन् ।

छानबिनका लागि गठन गरिएको सशस्त्र प्रहरी गण, धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेत नेतृत्वको समितिले १० दिनमा प्रतिवेदन बुझाउन नसकेर ५ दिन समय थपिएको छ । यो घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले पनि अध्ययन गरेको छ ।

रोशन विकको शव भेटिएको एक महिनाअघि साउन २८ गते प्रहरी नियन्त्रणमै रहेका धनगढी–१४ फूलबारीका अमरबहादुर चन्द घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए । चन्दको मृत्युमा लापरबाही ठहर गर्दै ३ प्रहरी बिभागीय कारबाहीमा परेका छन् ।

कैलाली–कञ्चनपुरमा प्रहरी अनुसन्धान ज्यादै कमजोर रहेको यी घटनाहरुले देखाउँछन् ।

किन पक्राउ पर्दैनन् दोषी ?

अपराधका घटनामा दोषी पक्राउ नपर्नुमा अपराधी कहिँबाट संरक्षित भएको हुनसक्ने प्रदेश सभा सदस्य पूर्णा जोशीको अनुमान छ । ‘संरक्षण पाएपछि अपराधी पक्राउ पर्दैनन्’, उनी भन्छिन्, ‘प्रहरीलाई कमजोर बनाएपछि यस्तो समस्या देखिन्छ ।’

अनौपचारीक सेवा केन्द्र (इन्सेक)का प्रदेश संयोजक खडकराज जोशी पछिल्लो समय प्रहरीले जनविश्वास गुमाउँदै गएको बताउँछन् । ‘प्रहरीप्रति नागरिक विश्वास खस्कनु गम्भिर विषय हो’, उनी भन्छन्, ‘यसमा प्रहरी नेतृत्वले चिन्ता लिएर कदमहरु चाल्न पर्यो ।’

प्रहरी अधिकृतहरू भने यो मान्न तयार देखिँदैनन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेश सिंह अपराध अनुसन्धान बाहिर देखिएजस्तो सहज नहुने तर्क गर्छन् ।

‘१२–१३ बर्षपछि पनि दोषी पक्राउ पर्छन्’, उनी भन्छन्, ‘हामी लागिरहेका हुन्छौँ, कतिपय घटनामा सफलता ढिलो हात पर्छ ।’

उनले सुदूरपश्चिम प्रदेशमा हालसम्म भएका सबै आपराधिक घटनाका दोषी पक्राउ पर्ने दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment