Comments Add Comment

अंशु फाटी बार्सिलोनाको सिनियर टिममा बढुवा, ४०० मिलियन युरो रिलिज क्लज

८ असोज, काठमाडौं । युवा स्टार अंशु फाटी स्पानिस क्लब बार्सिलोनाको सिनियर टिमबा बढुवा भएका छन् । बार्सिलोना बी टिममा रहेपनि गत सिजन सिनियर टिमका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय वन्डर किड फाटीलाई क्याटलान क्लबले नयाँ सिजनका लागि सिनियर टिममा बढुवा गरेका हो ।

फाटीले अब २२ नम्बरको जर्सी लगाउनेछन् । पछिल्लो दुई सिजन मिडफिल्डर अर्टुरो भिदालले यही नम्बरको जर्सी लगाएर खेलेका थिए । त्यसअघि एरिक अबिदाल डानी अल्भ्स जस्ता खेलाडीले पनि यही नम्बरको जर्सी लगाएका थिए ।

बार्सिलोनाले नयाँ सिजन २०२०/२१ का लागि फाटीलाई स्पानिस फुटबल फेडेरेसनमा सिनियर टिमका खेलाडीको रुपमा रजिस्टर गरेको छ ।

यस्तै उनको बाइआउट क्लब १७० मिलियनबाट बढाएर ४०० मिलयन युरो राखिएको बार्सिलोनाले जनाएको छ । गत डिसेम्बरमा सम्झौता गर्दा उनको बाइआउट क्लब १०० बाट १७० मिलियन बनाइएको थियो ।

उरुग्वेली फरवार्ड एट्लेटिको मड्रिड जाने पक्का भएकै दिन फाती सिनियर टिममा बढुवा भएका हुन् । स्टार लिओनल मेसी एन्टोनी ग्रीजमन ओसमान डेम्बेले मार्टिन ब्रेथवेइटे ट्रिनकाओ रहेको बार्सिलोनाको फरवार्ड लाइनमा अब फाती पनि समावेश भएका छन् ।

बार्सिलोनाको सिनियर टिममा खेल्न थालेदेखि नै फाटीले विभिन्न कीर्तिमान बनाएका छन् । साथ उनले स्पेनको राष्ट्रिय टिमका लागि समेत डेब्यु गरिसकेका छन् ।

स्पानिस ला लिगा र च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका फाटीले २०१९ अगष्ट २५ मा सिनियर टिममा डेब्यु गरेयता ३३ खेलमा ८ गोल गरिसकेका छन् ।

उनले नयाँ सिजनअघिको प्रिसिजनका दुई खेल चोटका कारण गुमाएका थिए । तर एल्चेविरुद्ध गाम्पर ट्रफीमा भने उनले खेले ।

बार्सिलोनाले ला लिगामा यस सिजनको पहिलो खेल भियारियालसँग आइतबार खेल्दैछ । फाटीले उक्त खेलमा खेल्ने सम्भावना रहेको बार्सिलोनाले जनाएको छ ।

फाटीले १६ वर्ष २९८ दिन हुँदा रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टिममा डेब्यु गर्दै क्लबका लागि डेब्यु गर्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । त्यसको एक सातापछि ओसासुना विरुद्धको खेलमा गोल गर्दै उनी बार्सिलोनाका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने ।

यस्तै फाटीले युइएफए नेसन्स लिगमा जर्मनी र युक्रेनविरुद्ध खेल्दै स्पेनका लागि दुई क्यापसमेत जितिसकेका छन् भने एक गोल गरिसकेका छन् । उनी स्पेनका लागि डेब्यु गर्ने ७४ वर्षयताकै सबैभन्दा कान्छो खेलाडी बने भने ९५ वर्षमा स्पेनका लागि गोल गर्ने पनि सबैभन्दा कान्छा खेलाडी बने । उनले १७ वर्ष ३११ दिन हुँदा स्पेनका लागि डेब्यु गर्दै हुवान एराक्विनको कीर्तिमान तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment