८ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान भएको एक महिना बितिसकेको छ । भदौ २ गते उनको भौतिक शरीरले सदाका लागि विश्राम लिएको थियो ।
अन्तिम समयसम्म पनि साहित्य सिर्जनामा समर्पित घिमिरेको अन्तिम समयको इच्छा थियो आफ्नो अन्तिम कृतिका रुपमा ‘ऋतम्भरा’ लाई पूर्णता दिने । साहित्य अनुरागीहरुलाई चासो छ, राष्ट्रकविको यो इच्छा पूरा भयो कि भएन ?
एक वर्षअघि अनलाइनखबरसँगको कुराकानीमा घिमिरेले ऋतम्भराको दुई सर्ग लेख्न बाँकी रहेको बताएका थिए । दुई सर्ग अधुरै छोडेर घिमिरेको प्रस्थान भएको छ ।
उमेर र स्वास्थ्यका कारण पछिल्लो समय उनको लेखनमा सुस्तता आएको थियो । त्यसमाथि आफ्नो सिर्जना प्रकाशित गर्नुअघि अनेकौंचोटि परिमार्जन गर्ने उनको साहित्यिक आदत र शैली हो । यही कारणले पनि ऋतम्भराको लेखनमा घिमिरेले लामो समय लिएका थिए । यसका १२ सर्ग उनले पूरा गरेका थिए । बाँकी दुई सर्गमा काम गरिरहेका घिमिरेले यसलाई मैजारो गर्न नसकेकाे उनकाे परिवारले जानकारी दिएकाे छ ।
घिमिरेकी छोरी किरण रेग्मी बुबाको अन्तिम कृतिलाई कुन रूपमा प्रकाशित गर्ने भनेर परिवारमा छलफल भइरहेको बताउँछिन् । ‘अधुरो कृतिलाई यही रूपमा जस्ताको तस्तै प्रकाशित गर्ने वा परिवारकै सदस्यले बाँकी २ सर्गलाई पूर्णता दिने भन्ने टुंगोमा पुगेका छैनौं,’ उनले अनलाइनखबरसँग भनिन् ।
राष्ट्रकवि घिमिरेले आफ्नो अन्तिम समयमा यसबारे कुनै मार्गनिर्देशन गरेका थिएनन् ।
अन्य कृतिको संरक्षण
आफ्नो लामो साहित्यिक यात्रामा घिमिरेले थुप्रै बहुमूल्य कृतिहरु छोडेर गएका छन् । अब ती कृतिहरुलाई कसरी संरक्षण गर्ने भन्ने परिवारजनमा चिन्ता छ । सरकारले अहिलेसम्म यो विषयमा कुनै पनि चासो दिएको छैन ।
वि.सं. २०१५ सालमा प्रकाशित भएको घिमिरेको सर्वाधिक चर्चित कृति गौरी (शोककाव्य) अहिले पनि बजारमा सबैतिर पाइँदैन । यो पुस्तक साझा प्रकाशनले छापेको थियो । अंग्रेजीमा समेत अनुवाद भएको अस्वत्थामा, राष्ट्रनिर्माता, धर्तीमाता लगायत उनका आधा दर्जनभन्दा बढी साहित्यिक कृतिहरू त लोपोन्मुखजस्तै अवस्थामा छन् ।
यस्ता पुस्तकहरूको पुनः प्रकाशन गर्न प्रज्ञा प्रतिष्ठानले पहल गर्ने परिवारजनको आशा छ ।
बाहुन डाँडामा पुस्तकालय स्थापना गर्नेदेखि ऋतम्भरा महाकाव्यको मैजारो गर्नेसम्मका घिमिरेका उद्देश्य पूरा हुन सकेनन् । आफू जन्मिएको बाहुन डाँडामा स्तरीय पुस्तकालय बनाउने सोचका साथ आवश्यक जमिनको जोहो गरिसकेका थिए उनले ।
अरू कुनै इच्छा नराखे पनि मृत्युपश्चात आफ्नो पुरस्कार र प्रतिष्ठा (कृति) को संरक्षणप्रति स्व. घिमिरेको चासो थियो । स्व. घिमिरेका अमर कृतिलाई सकेसम्म सरकारले नै व्यवस्थित रूपले संरक्षण गरोस् भन्ने घिमिरे परिवारको चाहना छ ।
घिमिरेकी छोरी किरण पारिवारिक रूपले संरक्षण गर्दैजाँदा यसले केही पुस्तासम्म निरन्तरता पाउन सक्ने भए पनि पुस्ता–दरपुस्तासम्म यसको संरक्षण गर्न राज्यले नै जिम्मेवारी लिनुपर्ने बताउँछिन् । अन्यथा प्रतिष्ठान खडा गरेर भए पनि सम्पूर्ण साहित्यप्रेमीको सक्रियतामा यी कृतिहरूको रक्षा गर्नुपर्ने उनको सोच छ ।
प्रज्ञा प्रतिष्ठान भन्छ : छलफल भएको छैन
साहित्यिक रचनाको संरक्षण र स्रष्टाको सम्मान गर्ने जिम्मेवारी पाएको संस्था हो प्रज्ञा प्रतिष्ठान ।
स्व. घिमिरे आफैं वि.सं. २०१४ सालदेखि सदस्य, आजीवन सदस्य, उपकुलपति र कुलपतिका रुपमा झण्डै ३ दशकसम्म प्रज्ञा प्रतिष्ठानमा आवद्ध थिए । तर प्रतिष्ठानले अहिलेसम्म स्व. घिमिरेको सम्मान र उनका कीर्तिहरूको संरक्षणको विषयमा कुनै योजना बनाएको छैन । उपकुलपति डा. जगमान गुरुङका अनुसार प्रतिष्ठानले जीवित स्रष्टाको सिर्जनालाई पुरस्कार दिने र स्रष्टा बिरामी हुँदा उपचारको लागि सीमित खर्च दिने गर्छ ।
मृत्यु भइसकेका स्रष्टाको सम्मान र कृति संरक्षणमा खासै काम प्रतिष्ठानले नगरेको उनको स्वीकारोक्ति छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई नेपाल सरकारले नै खरिद गरेर अहिले सञ्चालनको सम्पूर्ण जिम्मेवारी नेपाल प्रज्ञा प्रतिष्ठानलाई दिएको छ । मृत्यु भइसकेका केही मूर्धन्य साहित्यकारहरूको प्रतिष्ठान परिसरमा शालिक बनाइएको छ । घिमिरेको शालिन निर्माण गर्नेे विषयमा पनि प्रज्ञाले कुनै योजना बनाएको छैन ।
डा. गुरुङ भन्छन् ‘अहिलेसम्म स्व. माधव घिमिरेको बारेमा कुनै छलफल भएको छैन ।’
अहिले प्रज्ञा प्रतिष्ठानको परिसरमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल, युगकवि सिद्धिचरण श्रेष्ठ लगायतको शालिक छन् ।
घिमिरेलाई दुई दशकअघि सरकारले राष्ट्रकविको उपाधि दिएको हो । त्यसैले पनि उनको कृतिको संरक्षण गर्ने जिम्मा सरकारले नै लिनुपर्ने हुन्छ । तर साहित्यकारको सम्मान र उनीहरूको धरोहरको संरक्षण गर्ने जिम्मा पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि यसबारेमा कुनै योजना बनाएको छैन ।
मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्व. घिमिरेको सम्मानमा मन्त्रालयको तर्फबाट अहिलेसम्म कुनै पनि कार्यक्रम तय नभएको जानकारी दिए ।
नेपाली सेनाका मानार्थ सहायक रथी समेत रहेका स्व. घिमिरेको सम्झनामा के गर्ने भन्ने विषयमा सैनिक मुख्यालय जंगीअड्डामा भने एक चरणको छलफल भइसकेको छ । तर राज्यले दिएको राष्ट्रकवि र मानार्थ सहायक रथीको सम्झनामा सरकारले कुनै निर्णय नगरी आफूहरूले योजना बनाउँदा असान्दर्भिक हुने हो कि ? भन्दै अहिले जंगीअड्डाले पनि ठोस निर्णय नगरेको सैनिक मुख्यालयले जनाएको छ । मुख्यालयले स्व. घिमिरेको निधनको केही समयपछि एउटा संक्षिप्त वृत्तचित्र समेत तयार पारेको थियो ।
‘पोको पारेका सिर्जना’
कविता लेख्ने र पोको पारेर राख्ने स्वभावका कवि घिमिरेका अप्रकाशित कृति कति छन् भन्ने परिवारकै सदस्यलाई समेत ज्ञात छैन । छोरी किरण भन्छिन् ‘बुबाको मृत्युको पीडाबाट अहिलेसम्म पनि आमा बाहिर निस्कन सक्नु भएको छैन । आमाको अवस्था सामान्य भएपछि मात्रै उहाँका सबै कृतिहरूको पोको खुल्छन् । त्यसपछि मात्रै बुबाका अप्रकाशित कृतिहरूको बारेमा यकिन भन्न सकिन्छ ।’
समय घर्किँदै जाँदा बुबाका जीवन्त कृतिहरूको संरक्षणको चुनौती बढ्दै जाने भन्दै उनले यस विषयमा सरकारले सोच्नुपर्ने बताइन् । नत्र साहित्यप्रेमीहरूकै पहलमा भए पनि एउटा प्रतिष्ठान खोलेर उहाँका कृतिको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ ।
‘त्यसको लागि परिवारका तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार छौं,’ उनले भनिन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4