Comments Add Comment

केएल राहुलसँग हार्‍यो कोहलीको टिम, पन्जाब ९७ रनले विजयी

९ असोज, काठमाडौं । दुबईमा आयोजित आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमा समेटियो ।

बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए ।

तेस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले पाँच बलमा केबल एक रन बनाउन सके । उनी शेल्डन कोट्रेलको बलमा क्याच आउट भए ।

लगातार तीन विकेट गुमेपछि बैंगलोर संकटमा थियो । पिचमा एरोन फिन्च र एबी डिभिलियर्स थिए । तर फिन्च २१ बलमा २० रन बनाएर आउट भए । एबी डिभिलियर्सलाई साथ दिन वाशिंगटन सुन्दर आए । तर डिभिलियर्स पनि धेरै टिक्न सकेनन् । उनले १८ बलमा २८ रन बटुले । नौ ओभरमा पाँच विकेटको क्षतिमा बैंगलोरले ६० रन बनाउन सक्यो ।

पिचमा रहेका वाशिंग्टन सुन्दर र शिवम दुबेलाई स्कोर उकास्ने चुनौति थियो । तर शिवम दुबे १२ बलमा १२ रन बनाएर ग्लेन म्याक्सवेलको बलमा आउट भए । शिवम दुबेपछि क्रिजमा ब्याटिङमा आएका उमेश यादव खाता नखोली आउट भए । लगत्तै वाशिंगटन सुन्दर पनि आउट भए । उनले २७ बलमा ३० रनको योगदान गरे ।
एकपछि अर्को विकेट झर्दै जाने क्रममा बैंगलोर १०९ रनमा समेटियो ।

केएल राहुलको शानदार प्रदर्शन

बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर पन्जाबलाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए । पन्जाबले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

कप्तान केएल राहुलको प्रदर्शन शानदार रह्यो । उनले १४ चौका र ७ छक्काको मद्दतमा ६९ बलमा नटआउट १३२ रन बनाए । उनले सात चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।

पन्जाबको पहिलो विकेटको रुपमा मयंक अग्रवाल आउट भए । उनले २० बलमा २६ रन बनाए । पहिलो विकेट झर्दा पन्जाबको कूल स्कोर ५७ रन थियो ।

अग्रवाल आउट भएपछि कप्तान केएल राहुललाई साथ दिन आएका निकोलस पुरन आएका थिए । उनीहरुले टिमको स्कोर १२ औं ओभरमा १०० रनसम्म बनाए । तर १४ औं ओभरको पहिलो बलमै निकोलस पुरन शिवम दुबेको शिकार बने । १८ बल सामना गरेका उनले एक चौकाको मद्दतमा कुल १७ रन योगदान गरे । दोस्रो विकेट झर्दा पन्जाबको स्कोर ११४ रन थियो ।

तेस्रो विकेटको रुपमा ग्लेन म्याक्सवेल आउट भए । उनले ६ बलमा ५ रन मात्रै बनाउन सके । त्यतिबेला पन्जाबको स्कोर १२८ थियो ।

अब चार ओभर बाँकी थियो । केएल राहुल व्यक्तिगत ७२ रनमा खेलिरहेका थिए । कप्तान राहुललाई साथ दिन आएका थिए करुण नायर । उनको साथमा कप्तान राहुलले ६३ बलमा आफ्नो शतक पूरा गरे र पन्जाबले निर्धारित २० ओभरमा २०६ रनको योगफल बनायो ।

बैंगलोरका लागि डेल स्टेन सबैभन्दा महँगा सावित भए । उनले ४ ओभरमा ५७ रन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment