९ असोज, काठमाडौं । बार्सिलोनाका मिडफिल्डर मिरालेम पियानेचले च्याम्पियन्स लिगमा प्राप्त निराशाको बदला यस सिजनमा क्लवले लिने दाबी गरेका छन् ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिकसँग ८-२ को लज्जास्पद हार व्यहोर्दै बार्सिलोनाले २०१९-२० को सिजन उपाधिविहीन भएर टुंग्याएको थियो ।
बार्सिलोनालाई ला लिगामा चिरप्रतिद्वन्द्वी रियल मड्रिडले उछिन्यो, जसले गर्दा क्लबले प्रमुख प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरी रोनाल कोइम्यानलाई नियुक्त गरिएको छ । सुपरस्टार कप्तान लियोनल मेस्सीले पनि आफू क्लब छोड्न चाहेको भनेर लिखित निवेदन दिएका थिए, तर पछि फिर्ता लिए ।
बार्सिलोनाले आइतबार हुने भिल्लारियलविरुद्ध खेल्दै यो सिजनको ला लिगा यात्रा सुरु गर्दैछ । पियानेचले स्पोर्टलाई भने, ‘यो टिमले लिस्बनमा जे भएको थियो, त्यसको बदला लिएर त्यो एउटा दुर्घटना थियो भन्ने सावित गर्न चाहन्छ ।’
एक-एक पाइला गर्दै अघि बढ्ने लक्ष्य लिएको उनले बताए । च्याम्पियन्स लिगमा पाँच वा ६ प्रतिस्पर्धीलाई पन्छाएर उपाधि जित्न सहज नभएको उनको भनाइ छ ।
भन्छन्, ‘मार्चबाट सिजनभित्रकै नयाँ सिजन सुरु हुनेछ । त्यतिबेला हामी आफ्नो उच्च विन्दुमा हुनुपर्छ ।’
‘हाम्रा खेलाडीहरुले पहिल्यै फुटबल जगतको सम्मान जितिसकेका छन् र मलाई लाग्दैन कि उनीहरुले कसैलाई केही प्रमाणित गरेर देखाउनुपर्ने छ । तर, फुटबलमा केही दुर्घटनाहरु हुन्छन् । मलाई लाग्दैन कि ८-२ को हार एउटा दुर्घटना थियो भनेर देखाउन बार्सिलोनाका कोही खेलाडी व्यग्र नहोलान् ।’
उक्त हारका बाबजुद टिमको आत्मविश्वासमा ह्रास नआएको पियानेचको भनाइ छ । यो सिजन क्लबको लागि राम्रो रहनेमा आशावादी रहेको उनले बताए ।
उनी सिरी ए च्याम्पियन युभेन्टस छोडेर बार्सिलोना आएका छन्, जस कुनै पछुतो नरहेको उनले बताए ।
प्रतिक्रिया 4