Comments Add Comment

१५ वर्षको उमेरमै खोसियो भविष्यताको भविष्य

बार्सिलोना । नृत्यमा उनको सोख थियो । दुई महिना अघिमात्र ईनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाइन् । पहिलो चरण पार गर्दै दोस्रो चरणको लागि पनि भिडियो उनले आयोजकलाई पठाइन् । तर उनको दोस्रो भिडियोको नृत्य त्यति जोशिलो र फूर्ति थिएन ।

जुलाईको पहिलो हप्तादेखि ढाड दुख्ने समस्या देखियो । मुखमा दुख्ने र घाँटीमा विमिरा जस्तो थियो । कुमहरु दुखेपछि उनी हस्पिटल पुगिन् । इमर्जेन्सीबाट डाक्टरले औषधी दिएर पठाइदिए । फेमिली डाक्टरले पनि ठिकै छ भने । औषधी खाएपछि सन्चो भएको जस्तो भयो ।

५–६ दिनपछि कान दुखेपछि फेरि इमर्जेन्सीमा पुगिन् । डाक्टरले पुनः औषधी लेखिदिए । तर यसपटक निको भएन । पुनः अस्पतालमा उनको चेकजाँच भयो । उनलाई ब्लड क्यान्सर छ भनियो । अर्को अस्पतालमा रिफर गरियो । त्यहाँबाट निश्चित गरियो । स्पेनको आलिकान्तेस्थित अस्पतालमा ४२ दिनसम्म उनको आईसियुमा उपचार भयो । तर स्वास्थ्यमा सुधार आएन । अन्ततः १५ वर्षको कलिलो उमेरमा नै भविष्यता न्यौपानेको गत बिहीबार निधन भयो । झन्डै डेढ महिनाअघि अस्पताल भर्ना भएकी उनी घर फर्किनन् । सदाका लागि बिदा भइन् ।

उनका पिता भरतराज न्यौपाने आफैं पनि गीत संगीतप्रति रुचि र चासो राख्थे । स्पेनमा सामाजिक रुपमा पनि चिनिएका न्यौपानेलाई छोरी गुमाउँदा ठूलो ब्रजपात आइपरेको छ । दुई वर्षअघि परिवारलाई पनि उनले स्पेनमै ल्याएका थिए । तीन छोरीका पिता न्यौपाने अहिले पहिलो सन्तान गुमाउनु पर्दा अत्यन्त पीडामा छन् ।

भरतपुर–८ चितवन मूल घर भएका न्यौपानेको परिवार स्पेनको कोष्टाब्लान्कास्थित आल्तियामा बस्दै आएका छन् । भविष्यतालाई १५ दिनअघि आमा लक्ष्मी पन्त न्यौपानेले अस्पतालमै भेटेकी थिइन् । बोल्न नसकेपनि छोरीले आमाको हात समातेर आँशु झारेकी थिइन्। आमा र छोरीको त्यो नै अन्तिम भेट थियो ।

एकातिर कोरोनाको कहर । अर्कोतिर छोरीको उपाचार । दुई महिनायता न्यौपानेले आफूलाई तनावबीच नै झेले । दैनिक ६० किलोमिटर टाढा रहेको अस्पतालमा छोरीलाई भेट्न पुग्थे । १७ दिनसम्म भेन्टिलेटरमा राखेपछि भविष्यताको होस आएको थियो । भेन्टिलेटरबाट निकालियो । तर फेरि फोक्सोमा इन्फेक्सन देखियो र पुनः भेन्टिलेटरमा राखियो ।

होसमा छँदा उनले बोल्ने कोसिस गरिन् । ‘बाबा मलाई एकदमै भोक लागेको छ’ भनिन् । तर उनलाई बोल्न मनाही थियो । ‘छोरी तिमी छिट्टै निको हुन्छौ । केही समय अस्पताल बस्नुपर्छ । अहिले बोल्न हुँदैन’ भनेपछि उनले मुन्टो हल्लाउँदै आँखाबाट आँशु झारेकी थिइन् ।

न्यौपानेले भावुक हुँदै भने, ‘आजभन्दा साढे दुई वर्षअघि नेपालमा हुँदा आत्तिने, रिँगटा लाग्ने भएपछि हस्पिटल लिएर गइयो । एक हप्ता हस्पिटल राखियो । त्यस्तो केही देखिएन । दिल्ली गएर भिसा लाएपछि सबै यहीँ आयौं । यहाँ होलबडी चेकअप गरायौं । केही देखिएन । उसको समस्याको बारेमा भन्दा हार्मोनहरु चेञ्ज हुने बेलामा बच्चालाई त्यस्तो केही हुन्छ भने । हामी ढुक्क भएर आयौं । गएको वर्ष टन्सिल भएजस्तो देखियो । चेक गर्दा केही छैन भनियो । औषधी खाएपछि ठीक भयो । तर अहिले एक्कासी अप्रत्यासित घटना भयो । छोरीलाई गुमायौं ।’

सोमबार उनको स्पेनको आलिकान्तेमा नै अन्तिम संस्कार हुँदैछ । नेपाल स्पेन समाज कोष्टाब्लान्काले अन्त्यष्टिका लागि कागजी प्रक्रिया मिलाएको छ । शव ब्यबस्थापन तथा परिवारको सहयोगार्थ स्पेनका बिभिन्न शहरहरुमा रकम संकलन भइरहेको छ । कोस्टा कोष्टाब्लान्कामा मात्र झण्डै ६ हजार युरो संकलन भएको समाजका अध्यक्ष अकल बोहोराले जानकारी दिए । एनआरएनए स्पेनले पनि मूल सहयोग समिति गठन गर्दै सहयोगका लागि संघसंस्थाहरुलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment