Comments Add Comment

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

१२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् ।

प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् ।

टिकटकमाथिको  प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । यद्यपि यस विषयमा आगामी दिनमा फैसला गरिने उल्लेख छ ।

अदालतमा सुनुवाइको क्रममा बाइटडान्सका वकिलले अमेरिकाले लगाएको यो प्रतिबन्धलाई तर्कहीन रहेको बताएका थिए । यस विषयमा अहिले पनि वार्ता जारी रहेको अवस्थामा प्रतिबन्ध लगाउनु उचित नरहेको बाइटडान्सले उल्लेख गरेको थियो ।

बाइटडान्सले सन् २०१७ मा टिकटक सार्वजनिक गरेको थियो । विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment