Comments Add Comment

किन स्वस्थ्यकर मानिन्छ ब्राउन राइस ?

हाम्रो मूख्य खान्की भात । भात भन्नसाथ चामल भन्ने बुझाई छ । हुन त कतिपय स्थानमा मकैको च्याख्ला, कोदो वा फापरको ढिंडो पनि मूख्य खानाको रुपमा खाइन्छ । यद्यपि धेरैजसो नेपालीको भान्सामा भने चामलकै भात पाक्छ ।

पछिल्लो समय स्वास्थ्य सचेतना बढेसँगै सेतो चामल खानु त्यती फाइदाजनक नभएको बताइन्छ । कतिपय रोगमा त चामल खानु हानिकारक हुनसक्छ । त्यसो भए चामलको सर्वोत्तम विकल्प के हुनसक्छ त ? आटाको रोटी, मकैको च्याख्ला, कोदोको ढिंडो वा ब्राउन राइस ।

पछिल्लो समय धेरै चर्चा हुनेगरेको छ, ब्राउन राइस । अर्थात खैरो चामल । स्वास्थ्यप्रति सजगहरु खानाको लागि ब्राउन राइस नै रोजिरहेका छन् । आखिर किन ?

प्रशोधनको क्रममा बोक्रा ननिकालेको वा थोरै मात्रा निकालेको चामल हो, ब्राउन राइस । ब्राउन राइस प्राकृतिक एवं ब्लीच नगरिएको कारण यसमा पोष्टिक तत्व बढी हुन्छ ।

ब्राउन राइस ग्लूटेन फ्रि हुन्छ । यसमा पर्यापत फाइबर हुन्छ । म्यागनिज, फस्फोरस, सेलेनियम र पोटासियम जस्तो खनिज पदार्थ यसमा सुरक्षित हुन्छ ।

जबकी सेतो चामल प्रशोधनका क्रममा त्यसमा रहेको फाइबर, मिनरल्स, भिटामिन आदि नष्ट हुनेगर्छ । ब्राउन राइसमा भने यी सबै पोषकतत्व सुरक्षित हुन्छ । खाद्य विज्ञान र पोषणमा प्रकाशित एक अध्ययन अनुसार होल ग्रेन जस्ता ब्राउन राइसमा फेनोलिक यौगिक हुन्छ जसले मुटु सम्बन्धी रोग, मधुमेह र क्यान्सर जस्तो रोगको संभावना कम गर्छ ।

ब्राउन राइसको सेवनले पाचन यन्त्र चुस्त हुने, मुटुलाई स्वस्थ्य राख्ने, कोलेस्टोर नियन्त्रण गर्ने, रक्तचाप नियन्त्रण गर्ने बताइन्छ । मधुमेह रोगीका लागि समेत ब्राउन राइस उपयोगी हुन्छ ।

एन्टीअक्सिडेन्ट तत्व भरपूर पाइन्छ

ब्राउन राइसमा एन्टीअक्सिडेन्ट तत्व पर्याप्त मात्रा पाइन्छ, जसले अक्सिजन फ्रि रेडिकल्सबाट हुन सक्ने क्षतिबाट शरीरलाई संरक्षण प्रदान गर्छ ।

मोटोपनाबाट बचाउँछ

मोटोपना कम गर्न चाहने व्यक्तिका लागि ब्राउन राईस राम्रो विकल्प हुनसक्छ । ब्राउन राईसमा तुलनात्मक रुपमा क्यालोरीको मात्रा कम हुन्छ  भने फाइबर भरपुर हुन्छ । जसले गर्दा शरीरको मेटाबोलिज्म ( खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) चुस्त हुन्छ ।

पाचनतन्त्र बलियो बनाउँछ

ब्राउन राईसमा शरीरका लागि आवश्यक रेशा पाइन्छ, जसले पाचन तन्त्रलाई मजबुत बनाउन मद्दत गर्छ । यसमा रहेको फाइबरले आन्द्राको प्रक्रियालाई प्रभावकारी बनाउँछ र पेट अघाएको महसुस गराउँछ ।

मुटु स्वस्थ राख्छ

ब्राउन राईसमा सेलिनियम पाइन्छ, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्राउन राईसको सेवनका कारण प्लेकका कारण धमनिमा हुने गतिरोधमा कमी आउने गर्छ ।

तथापी, ब्राउन राईस खाँदा केही कुरामा भने अवश्य ध्यान दिनु पर्छ ।

–धेरै परिणाममा ब्राउन राईस खानु हुँदैन । लामो समय भण्डारण गरेमा यसमा भएको प्राकृतिक तेल नष्ट हुनसक्छ ।

–ताजा हो कि हैन भनेर सुनिश्चित गर्न  उत्पादन मिति हेर्न जरुरी छ ।

– ब्राउन राईसलाई कोठाको तापमानमा छ महिनाका लागि हावा नपस्ने भाँडोमा भण्डारण गर्न सकिन्छ ।

–ब्राउन राईसलाई एक पटक भन्दा बढी तताउनु हुँदैन र एक पटक पकाएर लामो समय राख्नु हुँदैन ।

–फाइबरको बाहिरी परतको कारण ब्राउन राईस पाक्नमा समय लाग्नसक्छ । र, पाक्नको लागि सेतो चामलको तुलनामा धेरै समय लाग्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment