Comments Add Comment

आशय करणी मुद्दामा १० दिन कैद सजाय तोकिएका चार जना पक्राउ

१२ असोज, सप्तरी । आशय करणीको मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार रहेका चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

चार वर्षअघि जिल्ला अदालतले आशय करणी मुद्दामा गरेको फैसला अनुसार ५ सय रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डाक्नेश्वरी ४ का ७० वर्षीय बिन्देश्वर शर्मा, ६० वर्षीय खुशीलाल मण्डल, ३२ वर्षीय पवन पण्डित र रुपनी गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षीय चन्दन लाल यादव छन् ।

आशय करणी मुद्दामा यी चारै जनालाई जिल्ला अदालतले २०७४ साल असार २१ गते १० दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोक्ने आदेश दिएको अदालतका श्रेश्तेदार कुमार मास्केले जानकारी दिए ।

कैद तथा जरिवानाको फैसला सुनाइएपछि फरार भएका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।

लगत कट्टा नगरिँदा पुनः पक्राउ

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा जबरजस्ती करणी मुद्दाकै प्रतिवादी अग्निसाइर कृष्णासावरण गाउँपालिका-१ जण्डौल निवासी महम्द इसराइल खलिफा मियाँलाई पनि आइतबार पक्राउ गरेको छ ।

मियाँलाई पक्राउ गरी अदालतमा पेश गर्दा अदालतले तोकेको कैद उनले भुक्तान गरेको पाइयो । कैद भुक्तान गरेको पाइएपछि उनलाई छाडिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।

‘अदालतले कैद भुक्तान नगरेका व्यक्तिहरुको सूचीसहित पत्र पठाएपछि त्यस्ता व्यक्तिहरुको हामीले खोजी कार्य सुरु गरेका हौं,’ उनले भने, ‘सोही क्रममा उनी पक्राउ परेका हुन् । उनले कैद भुक्तान गरिसकेको पाइएपछि रिहा गरेका हौं ।”

मियाँलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले २०६९ साल कात्तिक २० गते ५ वर्ष कैदको फैसला सुनाएको थियो । उनले यो कैद भुक्तान गरिसक्दा समेत जिल्ला अदालतले लगत कट्टा नगरी प्रहरीलाई पत्र पठाएपछि उनलाई पक्राउ गरिएको एसपी धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment