Comments Add Comment

औषधि खरिद गर्नुअघि

घरमा कतिपय दीर्घरोगी हुन्छन्, जसलाई नियमित औषधि जरुरी हुन्छ । कुनै उपचारपछि पनि केही अवधिका लागि औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यस्तै सामान्य ज्वरो, खोकी, पखला जस्ता समस्यामा हामीलाई औषधि चाहिन्छ । यावत् अवस्थामा हामी कुनै औषधि पसल पुगेर औषधि खरिद गर्छौं ।

अक्सर औषधिप्रति हाम्रो ज्ञान एवं जानकारी कम हुनेगर्छ । कतिसम्म भने हामी आफुलाई चाहिएको औषधि कुन हो ? कुन कम्पनीको हो ? कस्तो हुन्छ ? यावत् कुरामा हामी अनभिज्ञ हुन्छौं । त्यसैले औषधि बिक्रेताले जस्तो औषधि थमाइदिन्छन्, चुपचाप हामी बोकेर हिँड्छौं । जबकी शारीरिक स्वास्थ्यसँग जोडिएको अति संवेदनशिल चिज हो यो ।

त्यसो त औषधिको डोज एवं मात्रा, खाने तरिका, उत्पादन मिति आदि पनि गहिरो चासो राख्दैनौं । औषधिको प्रभाव खाने मात्रा, तरिका र समयमा समेत पर्छ । तर, यस्तो कुरामा हामीलाई हेक्का हुँदैन ।

औषधि खरिद गर्दा हामी कतिसम्म अनभिज्ञ हुन्छौं भने आफुले मगाएको औषधि कुन हो, त्यसको मूल्य कति हुनसक्छ थाहा हुन्न । औषधि पसलमा पुगेर हामी आफ्नो समस्याको लक्षण बताएर औषधि मागिरहेका हुन्छौं । अर्थात ‘मलाई खोकीको औषधि दिनुहोस्, मलाई ज्वरो निको हुने औषधि चाहिएको छ, मलाई पखला ठीक गर्ने औषधि चाहियो ।’

सकेसम्म त औषधिको सेवन जथाभावी गर्न उचित होइन । चिकित्सकको सिफारिस अनुसार मात्र औषधि खरिद गर्ने र सोही मात्रामा सेवन गर्ने गर्नुपर्छ । त्यससँगै औषधि खरिद र सेवनमा केही कुरामा ध्यान दिनैपर्छ ।

कहाँ खरिद गर्ने ?

जथाभावी औषधि खरिद गर्दा गलत औषधि समेत पर्नसक्छ । आफुले भने बमोजिक औषधि नहुन सक्छ वा चिकित्सकको प्रेस्किप्सन नबुझी समेत औषधि थमाइदिन सक्छन् । यस्ता औषधिले दुष्प्रभाव पार्ने नै भयो । त्यसैले आधिकारीक एवं विश्वसनिय औषधि पसलबाट मात्र औषधि खरिद गर्नु उचित हुन्छ ।

केही प्रश्न

औषधि खरिद गर्दा त्यसको खाने मात्रा र समयबारे लेखिदिने गर्छन् । यद्यपि सबैले त्यसलाई स्पष्ट रुपमा बुझ्न सक्दैनन् । त्यसैले औषधि खरिद गरिरहँदा कति मात्रामा सेवन गर्ने, कुन समयमा थाहा पाउनुपर्छ ।

त्यसैगरी औषधि खरिद गर्दा उक्त औषधि सेवनसँगै कस्तो खानपान गर्नुपर्छ भनी स्ष्पट हुन जरुरी छ । कतिपय औषधिसँग खानपानको तालमेल पनि मिलाउनुपर्ने हुन्छ । औषधि सेवन गरिरहँदा के खाने, के नखाने यसबारे सोध्नुपर्छ ।

यदि अन्य किसिमको समस्या पनि भएमा वा कुनै औषधि सेवन गरिरहेकै स्थिति छ भने सो कुरा पनि बताउनुपर्छ ।

चिकित्सकको परामर्श

संभव भएसम्म आफुले नियमित जाँच गराइरहकै चिकित्सकको सुझाव अनुसार औषधि सेवन गर्नु उचित हुन्छ । आफ्नो समस्या अनुसार कुन औषधि खाने, कति खाने, कहिले खाने भनेर चिकित्सककै परामर्श लिनु उपयुक्त हुन्छ ।

औषधिमा उल्लेखित निर्देशन

औषधिको खोलमा त्यसको प्रयोग विधी वा अन्य जानकारी उल्लेख गरिएको हुन्छ । उत्पादन मितिदेखि प्रयोग विधीसम्म उल्लेख हुन्छ । त्यसैले औषधि सेवन गर्नुअघि उक्त औषधिको खोलमा दिइएको निर्देशन राम्ररी पढ्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment