Comments Add Comment

बाबरी मस्जिद प्रकरणका सबै अभियुक्तले पाए सफाइ

१४ असोज, काठमाडौं । भारतको लखनउस्थित केन्द्रीय अनुसन्धान ब्युरोको विशेष अदालतले सन् १९९२ मा हिन्दु प्रदर्शनकारीहरुले भत्काएको बाबरी मस्जिदमा सुनियोजित नभएको भन्दै आरोप लागेका सबैलाई निर्दोष भएको फैसला सुनाएको छ । अदालतले सत्तारुढ भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीसहितका नेतालाई पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको विशेष अदालतले २८ वर्ष पुरानो मुद्दामा सुनाएको फैसलामा पूर्व उपप्रधानमन्त्री समेत रहेका आडवाणीसहित सबै ३२ जना अभियुक्त निर्दोष रहेको उल्लेख गरिएको छ । ३२ जनालाई नै १६ औं शताब्दीमा बनेको बाबरी मस्जिद भत्काएको आरोपमा आपराधिक गतिविधिमा मुद्दा दायर गरिएको थियो । बाबरी मस्जिद लखनउभन्दा १३५ किलोमिटर टाढा रहेको अयोध्यामा अवस्थित थियो । सन् १९९२ मा भएको धार्मिक दंगाको क्रममा हिन्दुवादीहरुले यो मस्जिद भत्काइदिएका थिए । यो क्रममा भएको हिंसामा करिब दुई हजार मानिसको मृत्यु भएको थियो । जसमा अधिकांश मुस्लिम थिए ।

बुधबार अदालतले सफाइ दिएका अन्य वरिष्ठ नेताहरुमा पूर्व मन्त्रीहरु मरली मनोहर जोशी, उमा भारती, विनय कतियार र उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह छन् ।

अदालतको फैसलाबारे बोल्दै भारतका वरिष्ठ वकिल प्रशान्त भुषणले अदालतमा कुनै न्याय नहुने तर मानिसहरुलाई अदालतबाट न्याय पाइन्छ कि भन्ने भ्रम रहने प्रतिक्रिया दिएका छन् । भारतीय मुस्लिम संगठनका नेताहरुले पनि यो फैसलाको आलोचना गरेका छन् । यसैबीच अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डका सदस्य जफरयाब जिलानीले यो फैसलामा आफूहरु असन्तुष्ट रहेको भन्दै उच्च अदालतमा चुनौती दिने बताएका छन् । अदालतले सबै प्रमाणहरुलाई बेवास्ता गर्दै एकतर्फी फैसला सुनाएको उनको आरोप छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अदालतले फैसलाले २८ वर्षअघिको यो घटना राजनीतिकरुपमा पूर्वाग्रही भएर भाजपालाई नेताहरुलाई फसाइएको षडयन्त्र भएको पुष्टि भएको भन्दै यसका लागि उनीहरुले माफी माग्नुपर्ने बताएका छन् ।

स्रोत : अलजाजिरा/बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment