१५ असोज, काठमाडौं । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ ।
प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा विधिपूर्वक पूजाआजा गरी गजुर स्थापना गरिएको हो ।
मन्दिरको मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएको हो । जसमा करिब २५ तोला सुनको जलप लगाइएको छ । यो गजुरको उचाइ ६ फिट १० इञ्च छ ।
त्यसैगरी मन्दिरको चारै दिशामा रहेका चारवटा मण्डप शैलीका बुर्जाको शीर्षमा पनि गजुर राखिएको छ । ती साना प्रत्येक गजुरको तौल ३.३३ केजी रहेको छ जसमा १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ ।
गजुरको निर्माण ललितपुर महानगरपालिका–१२ का कालीगढ विनोद शाक्यको नेतृत्वमा भएको हो । २० दिन लगाएर निर्माण गरिएको गजुरमा सुनका जलप लगाउन पाँच दिन लागेको थियो ।
गजुर स्थापनासँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसैगरी, पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यीकरण तथा बत्ति राख्ने काम चलिरहेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको रानीपोखरीमा केही दिनअघि पानी भरिएको थियो ।

प्रतिक्रिया 4