Comments Add Comment

आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढा (बूढी) को !

संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोवर १ देखि इन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को घोषणा गरेको हो । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । यो वर्ष हामीले ३०औं दिवस मनाइरहेका छौं । यो वर्षको नारा ‘महामारीहरु : हामीले जसरी उमेर र वृद्धावस्थालाई सम्वोधन गर्छौं, के तिनले बदल्न सक्छन् ?’ भन्ने रहेको छ ।

ज्येष्ठ नागरिकको जनसंख्याः

विश्वमा ६० वर्ष माथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा २०६८ को जनगणनामा ८.१३ प्रतिशत देखिएको थियो । हाल, २०७७ सालमा करिब २५ देखि ३० लाख ज्येष्ठ नागरिक जनसंख्या रहेको अनुमान छ । यो जनसंख्या बढ्दो छ । ज्येष्ठ नागरिकको विश्व जनसंख्या वार्षिक ३.५% ले बढीरहेको र सन् २०५० सम्ममा करिब २१% हुने अनुमान छ । सन् २०५० मा ज्येष्ठ नागरिकको कूल संख्या १० वर्ष मुनिका कूल बालबालिकाभन्दा बढी हुनेछ । नेपाली समाज सन् २०३० देखि एजिंग सोसाइटीमा प्रवेश गर्नेछ भने सन् २०५६ देखि एज्ड सोसाइटीमा प्रवेश गर्ने अनुमान रहेको छ ।

ज्येष्ठ नागरिकलाई विश्वव्यापी राहतः 

हाल कोरोनाको संक्रमणमा सबैभन्दा संवेदनशील देखिएका ज्येष्ठ नागरिकलाई केन्द्रमा राखी विभिन्न मुलुकले राहतको घोषणा गरेका छन् जसअनुसार राज्य अमेरिकाले कोभिड १९ को राहत स्वरुप प्रतिव्यक्ति १२ सय अमेरिकीे डर उपलव्ध गराएको छ । यसैगरी, जापानले १ लाख येन, अस्ट्रेलियाले ७५० डलर, कोलम्बियाले २४० डलर, भारतले भारु १ हजार, अर्जेटिनले ४७ अमेरिकी डलर, सिंगापुरले ६८.५ डलर, ट्युनिसियाले ६८ डलर, टर्कीले २३० डलर, युक्रेनले ३५ डलर र मोनटेंगो ५० युरो उपलब्ध गराएका छन् ।

यसैगरी, यस सन्दर्भमा मासिक भत्ता र पेन्सन एडभान्समा दिनेमा कोष्टारिका, मेक्सिको, पेरु, दक्षिण अफ्रिका छन् भने मासिक भत्ता बढाउनेमा ब्राजिल र उज्वेकिस्तान रहेका छन् । यस अवस्थामा भत्ता दिने कार्यलाई खुकुलो तुल्याउनेमा बेलायत र इटाली पर्दछन् भने भविष्यका लागि भत्ता वृद्धि गर्नेमा कोलम्बिया र इन्डोनेसिया रहेका छन् ।

सबै प्रकारका भौतिक संरचनाहरु ज्येष्ठ नागरिक मैत्री तुल्याउनु पर्छ । ज्येष्ठ नागरिकको परिचयपत्र वितरणलाई व्यवस्थित तुल्याउनु पर्छ । ज्येष्ठ नागरिक भै मुलुकलाई योगदान गर्नेलाई वर्षेनी पुरस्कृत गर्नुपर्छ । यसरी ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्नु हामी सबैको कर्तव्य हो ।

साथै, अतिरिक्त सुविधाको घोषणा गर्नेमा अर्जेटिना, अर्मेनिया र टर्की छन् भने बालबच्चालाई सुविधा बढाउनेमा पोल्याण्ड र साउथ कोरिया छन् । यस अतिरिक्त घरविहीनलाई सुविधा, धाराबत्तीको शूल्क छुट र ज्येष्ठ नागरिकलाई ऋणमाफी गर्नेहरुमा स्पेन, एलसाल्भाडोर र बोलिभिया छन् भने स्वरोजगारलाई सघाउनेमा आयरल्याण्ड, पोर्चुगल, न्यूजिल्याण्ड रहेका छन् । यस क्रममा बेरोजगारलाई सघाउनेमा स्वीट्जरल्याण्ड, कार्यसमय कटौंति गर्नेमा न्यूजिल्याण्ड, घोषित सुविधा पाउने सरल व्यबस्था लागू गर्नेमा स्वीडेन, २ महिनालाई पुग्ने खाद्य सामाग्री उपलब्ध गराउनेमा अर्मेनिया, ज्येष्ठ नागरिकलाई औषधि र खाद्यान्न उपलब्ध गराउनेमा रसिया र ज्येष्ठ नागरिकको बीमा गरिदिनेमा ट्रिनिडी एण्ड टोवागो उदाहरणीय मुलुक ठहरिएका छन् ।

नेपाल गरिएको मागः 

वरिष्ठ कलाकार मदनदास श्रेष्ठ अध्यक्ष रहनु भएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सरकारसँग कोरोना कहरका समयमा ज्येष्ठ नगरिकका पक्षमा ३ वटा कुरा माग गरेको छ । जस अनुसार पहिलो, नियमित मासिक भत्ता पाइरहेकालाई एक महिनाको भत्ता बोनस देऊ । यस्का लागि करिब रु ५ अर्ब बजेट आबश्यक पर्छ। यसबाट करिब १२/१३ लाख ज्येष्ठ नागरिक लाभान्वित हुनेछन् ।

दोस्रो, ६० देखि ७० वर्ष समूहका ज्येष्ठ नागरिकले मासिक भत्ता पाएका छैनन्, तिनलाई एकमुष्ट रु ५ हजार देऊ । यसबाट करिब ८ लाख लाभान्वित हुन्छन् । यस्मा करिब रु ३.५ अर्ब बजेट आवश्यक पर्छ ।

तेस्रो, मुलुकका ११५ वटा बृद्धाश्रममा रहेका करिब २ हजार ज्येष्ठ नागरिकलाई एकमुष्ठ रु १५ हजार दिऊ । यस्का लागि रु ३ करोड बजेट आवश्यक पर्छ ।

ज्येष्ठ नागरिकका अत्यावश्यक सामग्रीः 

हाल ज्येष्ठ नागरिकलाई घरबाट वाहिर ननिस्किन आव्हान गरिएको छ । यसर्थ, सरकारबाट निम्न ८ प्रकारका सामाग्री उनीहरुलाई उपलब्ध गराउनु पर्ने विश्वव्यापी मान्यता छ । जस अनुसार पालिकाहरुले (१)कोठा र शौचालयको सफाइका लागि तन्ना, सिरक, रुमाल, साबुन, रुम स्प्रे, लौरो, टर्च लाईट (२) नियमित सेवन गर्ने औषधि, मल्टिभिटामिन, सिटामोल, रुघाखोकीबाट बच्न भिक्स, साइनेक्स, राइनेक्स जस्ता चक्की औषधि, खोकीको औषधि सहितको प्राथमिक उपचार बक्स (३) सर्जिकल मास्क, सेनिटाइजर, पंजा, बाल्टिन, मख, बाटा (४) कोठाभित्र व्यायाम गर्ने सामग्री (५) अदुवा बेसार पानी उमाल्ने विद्युतीय कित्ली, थर्मर, कप, बिस्कुट, हर्लिक्स (६) अत्यावश्यक सूचना सुन्न रेडियो सोको व्याट्री र इन्टरनेट सुबिधा (७) घरभित्रै मनोरन्जनका आबश्यक सामाग्री (८) राहत किट लगायतको अत्यावश्यक सामग्री उपलव्ध गराउनु पर्छ ।

प्रदेशका असल अभ्यासहरुः

प्रदेश १ मा ९० वर्ष माथिका लागि रु ५ हजार सम्मान स्वरुप प्रदान गरिएको छ । सो प्रदेशमा नमूना ज्येष्ठ नागरिक ग्राम बन्दैछ । यहां ज्येष्ठ नागरिक दन्त कार्यक्रम सफल भएको छ । ज्येष्ठ नागरिकसम्बन्धी प्रदेशिक नीति बन्दैछ । यस प्रदेशमा सूचकका आधारमा ज्येष्ठ नागरिकलाई राम्रो पालन पाषण गर्ने परिवारलाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रदेश २ सरकार ज्येष्ठ नागरिकप्रति गंभिर छ । यस प्रदेशको प्रत्येक जिल्लामा वृद्धाश्रम निर्माण गर्ने योजना छ । आर्थिकरुपमा बिपन्न ज्येष्ठ नागरिकको जिम्मा सरकारले लिनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको पाइन्छ ।

बागमती प्रदेशमा ज्येष्ठ नागरिकका विविध कार्यक्रम संचालनमा छन् । यस प्रदेशले छोरा छोरीको कमाईबाट आमा बाबुले केहि अंश पाउने कानून बन्नुपर्ने र राज्यले सक्नेकै पक्षमा मात्रै होइन, नसक्नेको पक्षमा पनि काम गरेको अनुभूति दिनु पर्ने मान्यता राखेको पाइन्छ ।

गण्डकी प्रदेशले ठूला बृद्धाश्रममा सुसारेको दरवन्दी श्रृजना गर्ने सोच बनाएको छ । यस प्रदेशका अस्पतालमा ज्येष्ठ नागरिक वार्ड बन्नेछ । ज्येष्ठ नागरिकलाई कोभिड १९ को बखत केही दिनै पर्ने भन्ने भावना यस प्रदेशमा रहेको पाईन्छ ।

प्रदेश ५ मा ८४ वर्षमाथिका सबै २०।२२ हजार ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिईएको छ । यस प्रदेशमा जेरियाट्रिक वार्ड सञ्चालनमा आएको छ । ज्येष्ठ नागरिकलाई खाद्यान्न, ग्यास चुल्हो, सिरक डसना, औषधि लगायत उपलव्ध गराइएको छ । यस प्रदेशमा वृद्धाश्रम होइन, खुशियाली घर सञ्चालनमा रहेको छ ।

कर्णाली प्रदेशमा मनमोहन ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालनमा छ । यस प्रदेशले लुम्बिनी लगायतको तीर्थाटनको कार्यक्रम सञ्चालन गरेका छ । यस प्रदेशलाई सडक मानबमुक्त गरिएको छ र ज्येष्ठ नागरिकलाई न्यानो कम्बल, औषधि लगायतको सेवा प्रबाह गरिएको छ ।

सुदूपश्चिम प्रदेशमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम लागू छ । यस प्रदेशमा ज्येष्ठ नागरिक चौतारो, मिलन केन्द्र संचालनमा छ ।ज्येष्ठ नागरिकको लालनपालनमा सरकारको अलावा परिवार पनि आफ्नो जिम्मेवारीबाट भाग्न नहुने र ज्येष्ठ नागरिकलाई स्वरोजगार र आत्मनिर्भरताको कार्यक्रम लागू गर्नु कुरा प्रदेश दृढ छ ।

ज्येष्ठ नागरिक भत्ताः

२०५१ सालबाट रु सयबाट आरम्भ भएको सामाजिक सुरक्षा भत्ता हाल स्वास्थ्य उपचार खर्च रु. १ हजार सहित रु ३ हजार छ । वर्तमान सरकारले यसलाई रु ५ हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कूल ग्राहस्थ्य उत्पादनको ईटालीमा १६ प्रतिशत, फ्रान्समा १४ प्रतिशत तथा भारतमा ४ प्रतिशत बजेट सामाजिक सुरक्षामा छुट्याइन्छ । नेपालमा कूल ग्राहस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्रै बजेट विनियोजन गरिएकाले यो अत्यन्त न्यून छ । यसर्थ, यस्तो भत्ता रकम जीवनयापन गर्न पुग्ने बराबरको हुनुपर्छ ।

ज्येष्ठ नागरिक भत्ता बितरणमा उमेर समूहका आधारमा वर्गिकरण गर्नुपर्छ । जस अनुसार ७० देखि ७९ वर्षकालाई मासिक रु ५ हजार भत्ता दिने र सो उमेर समूह माथिका लागि बढि रकम दिनुपर्छ । यस अनुसार ८० देखि ८९ वर्षकालाई मासिक रु १० हजार दिने हो भने यस समूहमा केवल करिब १ लाख ८१ हजार ३१४ जना रहेका छन् । यसैगरी, ९० देखि ९९ वर्षका लागि मासिक रु २५ हजार दिने हो भने यस उमेर समूहमा करिब २६ हजार ७२९ जना छन् ।

यस अतिरिक्त १०० वर्ष र सो माथिकालाई मासिक रु ५० हजार दिने हो भने यस उमेर समूहमा केवल ३,५६६ जना रहेको जनगणनाबाट देखिन्छ । यसर्थ, यसबाट सरकारलाई ठूलो आर्थिक भार पर्ने छैन ।

सामाजिक चेतनाको विकासः

ज्येष्ठ नागरिक प्रति सम्मान दर्साउने विषय स्कुल र कलेजको पाठ्य सामाग्रीमा समावेश गर्नुपर्छ । साथै, आम मानिसहरुलाई बुढेसकाल जीउने कलाको विषयमा तालीम दिनुपर्छ । साथै, ज्येष्ठ नागरिकका परिवारलाई वृद्धावस्था व्यवस्थापन र स्याहार सुसारको तालीम दिनुपर्छ । छोरा छारीको मासिक कमाइको आबश्यक्तानुसार आमा वुवाले १० देखि २५ प्रतिशत पाउने कानुन निर्माण गर्नुपर्छ । ज्येष्ठ नागरिकको सम्पत्तीमा उहांहरुकै आफुखुसी गर्न दिनुपर्छ । ज्येष्ठ नागरिक सम्वन्धीे स्रोत केन्द्रको स्थापना र प्रोफाईल तयार गरी उनीहरुको क्षमता राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाः

सबै केन्द्रिय र प्रदेशस्तरीय अस्पतालमा ज्येष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सक सहितको उपकरण, वार्ड र बेडको व्यबस्था गर्नुपर्छ ।सबै अस्पातलमा जेरियार्टिक वार्ड खडा गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि आवश्यक मल्टी भिटामिन र क्याल्सियम वितरण गर्नुपर्छ । ज्येष्ठ नागरिककोसबै उपचारमा सरकारी र सामुदायिक अस्पतालमा निशुल्क र निजी अस्पतालमा कम्तिमा ५० प्रतिशत छुटमा सेवा पाउने व्यवस्था गर्नुपर्छ । साथै, ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने र रु १ लाखको बीमलाई रु १० लाख तुल्याउनु पर्छ ।

वृद्धाश्रम र दिवा सेवा केन्द्रको स्थापनाः 

आर्थिकरुपमा विपन्न, बेबारिसे तथा बिबिध कारणले घरबारविहीनका लागि निशुल्क वृद्धाश्रमको व्यवस्था गर्नुपर्छ । आम ज्येष्ठ नागरिकको भेटघाट, अनुभवको आदन प्रदान, मनोरन्जन लगायतका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई मनोरञ्जन एवं शारीरिक योगा तथा व्यायाम गर्नका लागि ज्येष्ठ नागरिक वाटिका/पार्कको स्थापना गर्नुपर्छ । एकीकृत आरोग्य आश्रम खोल्नु पर्छ । ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्येष्ठ नागरिक चौतारो संचालनमा ल्याउनु पर्छ । ज्येष्ठ नागरिक ग्राम निर्माण गर्नुपर्छ ।

ज्येष्ठ नागरिक स्वरोजगार योजनाः

कुनै ज्येष्ठ नागरिकले व्यवसाय वा स्वारोजगार गर्ने भए रु ५ लाखसम्मको सरल व्यजदारको ऋण दिने गरीे च्यालेन्ज फण्ड खडा गर्नुपर्छ । ज्येष्ठ नागरिकले व्यबसाय गर्न सक्ने गरी बैंक र बीमा कम्पनीहरुसँग सहजिकरण गर्नुपर्छ । ज्येष्ठ नागरिकहरू विभिन्न ज्ञान, सीप र अनुभवयुक्त रहने हुँदा, कुन ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमता के कति छ त्यसको निर्याैल गरी उनीहरुलाई उचित मौका दिनुपर्छ ।

ज्येष्ठ नागरिकको सम्मान गर्नेः 

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको मौलिक हकको व्यवस्था छ । यस्को हुबहु कार्यान्वयन गर्नुपर्छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन अनुसार जेष्ठ नागरिकप्रति सबैले सम्माान गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई कानुनले सार्वजनिक यातायातमा दिएको छुट सुविधालाई कार्यान्वयनमा ल्याउनु पर्छ । सबै प्रकारका भौतिक संरचनाहरु ज्येष्ठ नागरिक मैत्री तुल्याउनु पर्छ । ज्येष्ठ नागरिकको परिचयपत्र वितरणलाई व्यवस्थित तुल्याउनु पर्छ ।

अन्त्यमा, ज्येष्ठ नागरिक भै मुलुकलाई योगदान गर्नेलाई वर्षेनी पुरस्कृत गर्नुपर्छ । यसरी ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्नु हामी सबैको कर्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
कृष्णहरि बास्कोटा

कृष्णहरि बास्कोटा सूचना आयोगका प्रमुख आयुक्त हुन् । त्यसअघि नेपाल सरकारका सचिव रहेका उनले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

ट्रेन्डिङ

Advertisment