Comments Add Comment

साविक विजेता मुम्बईको दोस्रो जित, पन्जाब ४८ रनले हार्‍यो

१६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको छ । मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाबको टोलीले ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा मुम्बईको यो दोस्रो जित हो ।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । केएल राहुलले १७, मयंक अग्रवालले २५ र ग्लेन म्याक्सवेलले ११ रन बनाए । करन नैर खाता नखोली आउट भए भने जिम्मी निशम र सरफराज खानले ७–७ रन बटुले । कृष्णप्पा गौतम २२ रनमा नटआउट रहे ।

यसअघि अबुधाबीको शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सबैभन्दा धेरै ७० रन योगदान गरे । ४५ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । ओपनर क्विन्टन डिकक भने शून्य रनमा आउट भए । पहिलो ओभरको पाँचौ बलमा उनलाई शेल्डन कोटरेलले पेभेलियनको बाटो देखाए ।

कप्तान शर्मालाई साथ दिन आएका सूर्यकुमार यादव पनि ७ बलमा १० रन बनाएर आउट भए । उनलाई चौथो ओभरको अन्तिम बलमा मोहम्मद शमीले रन आउट गरे ।

त्यसपछि क्रिजमा आएका इशान किसनले कप्तान शर्मासँग मिलेर रनको गति बढाए । दुई विकेटको क्षतिमा २१ रनको स्थितिमा रहेको मुम्बईको स्कोर ८३ सम्म पुग्यो । त्यसपछि मुम्बईलाई तेस्रो झट्का लाग्यो । इशान किसन ३२ बलमा २८ रन बनाएर आउट भए । गौतमको बलमा करुण नायरको हातबाट उनी आउट भए ।

त्यतिबेला १४ औं ओभरमा मुम्बईको स्कोर तीन विकेटको क्षतिमा ८७ रन थियो ।

इशान किसनपछि ब्याटिङ गर्न केरोन पोलार्ड आए । १५ ओभरमा तीन विकेटको क्षतिमा मुम्बईले १०२ रन बनाउँदा कप्तान शर्मा अर्धशतकको नजिक थिए । १६ औं ओभरमा जिम्मी निशमको बलमा चौका प्रहार गर्दै शर्माले आफ्नो अर्धशतक पूरा गरे । फेरि पनि शर्ट बलमा शर्माले छक्का प्रहार गरे ।

१६ औं ओभर पन्जाबका लागि महँगो सावित भयो । यस ओभरमा जिम्मी निशमले २२ रन खर्चिए । तर लगत्तैको अर्को ओभरमा मोहम्मद शमीले जिम्मीको हातबाट रोहित शर्मालाई क्याच आउट गराए ।

रोहित पछि ब्याटिङमा आएका हार्दिक पाण्डयाले पहिलो बलमै एक रन बनाएर खाता खोले । १८ औं ओभरमा जिम्मी निशमको पहिलो बलमै हार्दिक पाण्ड्याले छक्का प्रहार गरे ।

पाण्ड्याले नटआउट ३० रन बनाए भने केरोन पोलार्ड अर्धशतक बनाउन ३ रनले चुके । बलमा ४७ रन बनाएका पोलार्ड म्यान अफ द म्याच बने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment