Comments Add Comment

काठमाडौंमा सामाजिक दुरी घट्दैछ, कोरोना बढ्दैछ !

जिल्ला प्रशासन भन्छ - आफैं सचेत हुनुपर्‍यो

१६ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एकै दिन १६ सय बढी कोराना संक्रमित भेटिएको विवरण सुनाइरहेकै बेला असन क्षेत्रमा देखिएको भिडले राजधानीमा कोभिड-१९ (कोरोना भाइरस) को महामारी छ भन्ने विषयलाई बिर्साइदिन्छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या निरन्तर उकालो लागिरहेका बेला बजारमा भने अत्यधिक भीडभाड बढेको छ । स्थानीय प्रशासनले भीड नियन्त्रण गर्न सकिरहेको छैन ।

इन्द्रचोकमा भेटिएकी पूर्णिमा गुरुङले बजारमा यति साह्रो भीड हुन्छ भन्ने सोचेको भए आफू किनमेल गर्नै नआउने बताइन् । ‘लकडाउन र निषेधाज्ञाले धेरै मानिसहरु घर फर्किसकेकाले भिडभाड हुँदैन होला भन्ने सोचेकी थिएँ’, गुरुङले अनलाइनखबरसँग भनिन्, ‘पसले आफैंले पनि सामाजिक दुरी कायम गरेर सामान बिक्री गर्ने व्यवस्था गरेका होलान् भन्ने सोचेकी थिएँ ।’

असनमा पसल सञ्चालन गरिरहेका मदनलाल बलामी स्वास्थ्य सावधानी अपनाउनुपर्ने कुरामा आफू सचेत रहेको बताउँछन् । तर, २५ वर्षको अनुभवमा हालसम्मकै सबैभन्दा कम ग्राहक यसपटक आएको उनको गुनासो छ ।

‘अहिले मान्छे छिर्नलाई नै गाह्रो छ, त्यही पनि ग्राहक आएपछि स्यानिटाइजर लगाउनलाई भनेर ढोकामै राखेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘मास्कचाहिँ दिनभरि लगाएर बस्न गाह्रो हुन्छ, मान्छे छिरेपछि मास्क लगाउँछौं, नत्र खोलेरै बस्छौं ।’ ग्राहक आउने र जाने वित्तिकै पनि स्यानिटाइजर लगाउने गरेको उनले बताए ।

ठूला पसलहरुले स्नानिटाइजरको व्यवस्था त गरेका छन् । तर, सामाजिक दुरी कायम गर्ने विषय भने पालना भएको देखिएन । फुटपाथमा राखिएका पसलमा स्यानिटाइजर समेत थिएन । कतिपय विक्रेताले आफैंले पनि मास्क लगाएका थिएनन् ।

सातदोबाटोबाट किनमेलका लागि असन पुगेका सहदेव अधिकारी भन्छन्, ‘के गर्नु, सामान किन्नैपर्‍यो, महामारीबाट सावधानी अपाउने व्यवस्था त पसलेले पनि गर्नुपर्ने हो ।’

अधिकारीका अनुसार व्यवसायीले निश्चित घेरा बनाएर पालैपालो सामान किन्ने व्यवस्था मिलाएको भए राम्रो हुन्थ्यो । तर, ६ महिनादेखि ठप्प व्यापारका बीच दसैंको मुखमा लागेको भिडलाई अवसरका रुपमा लिएका व्यवसायीहरु त्यसो गर्ने पक्षमा छैनन् ।

फुटपाथमा पसल सञ्चालन गरिरहेका व्यवसायीहरु भने स्नानिटाइजर राखेर साध्य नै नहुने बताउँछन् । एक व्यवसायीले सुनाए, ‘कति ग्राहक आउँछन्, जान्छन्, स्नानिटाइजर राख्दा घाटै लाग्छ ।’ बरु आफूले चाहिँ नियमितरुपमा स्यानिटाइजर प्रयोग गर्ने गरेको उनले बताए ।

प्रशासन भन्छ – सर्वसाधारण आफैं सचेत हुनुपर्‍यो

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने बजारको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तीनजनाको समिति बनाइएको बताए । उनका अनुसार समितिलाई बजार अनुगमनसँगै स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको विषयमा हेर्न भनिएको छ ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी सुनिलजंग शाह भने खाद्य संस्थान, आपूर्ति विभागलगायतले बजार अनुगमन गरिरहे पनि सामाजिक दूरी कायम गराउने जस्ता विषयमा हालसम्म कुनै पनि निकायले समन्वय नगरेको बताउँछन् ।

‘प्रहरीले आफ्नो तर्फबाट आमनागरिकलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन भनेर दैनिक माइकिङ गरेर सचेतना फैलाउने काम गरिरहेको छ’, शाहले अनलाइनखबरसँग भने ।

काठमाडौंका प्रजिअ दाहाल दशैं आए पनि कोरोना भाइरस जस्ताको त्यस्तै रहेको बताउँदै यसबाट आफू पनि बच्दै अरुलाई पनि सुरक्षित राख्नु सबैको दायित्व भएको बताउँछन् । त्यस आधारमा व्यवसाय गर्ने व्यक्ति र ग्राहक सर्वसाधारण आफैं पनि सचेत बन्नुपर्ने उनले बताए ।

‘सरकारले विगत ६ महिनादेखि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्न पटकपटक भनिरहेको छ’, दाहालले अनलाइनखबरसँग सुनाए, ‘अहिले सरकारले व्यवसाय निर्वाद रुपमा सञ्चालन गर्न दिएसँगै स्वास्थ्य सावधानी पालना गर्ने, गराउने विषय व्यवसायीको पनि दायित्व हो ।’

अब प्रशासनले कारबाही गर्नु मात्र सामधान नभएको उनले बताए । ‘दसैं त अर्को वर्ष पनि आउँछ तर, कोरोना लाग्यो भने कति दुःख हुन्छ, त्यो सबैले सोच्नुपर्छ’, दाहालले भने, ‘त्यसैले सबैले आफ्नो दिनचर्यालाई कोभिडबाट बच्ने खाल्को बनाउनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन दसैंको किनमेलमा जाँदा सबैभन्दा बढी जोखिममा विक्रेता हुने बताउँछन् । ‘जो बढी मात्रामा मानिसहरुसँग संम्पर्कमा छन्, उनीहरु उच्च जोखिममा देखिन्छन्’, पुनले अनलाइनखबरसँग भने, ‘त्यस्तो अवस्थामा धेरै ग्राहकको भिडमा रहने हुँदा व्यवसायी थप सतर्क हुन जरुरी हुन्छ ।’

सम्भावित जोखिमबाट बच्नका लागि पसलमा सकेसम्म सामाजिक दूरी कायम गराउनुपर्ने उनी बताउँछन् । ‘ग्राहकलाई भन्न अफ्ठ्यारो भए लेखेर टाँसिदिनुपर्छ, यसले पनि केही हदसम्म सहयोग गर्छ’, पुनले थपे, ‘धेरैपटक नोट गन्नुपर्ने भएकाले छोएपछि स्यानिटाइज पनि गर्नुपर्छ ।’

स्यानिटाइज नगरेसम्म ग्राहक र व्यवसायी दुवैले नाक, आँखा र मुखमा हात लैजानु नहुने उनको सुझाव छ । कतिपय अवस्थामा बोल्दा मास्क तल झार्ने बानी रहेको उल्लेख गर्दै त्यसमा सचेत रहन पुनले आग्रह गरेका छन् । ‘ग्राहकले पनि भिडभाडमा जाँदैछु भनेपछि संक्रमणको जोखिममा प्रवेश गरेको बुझ्नुपर्छ र हुलमुलमा भए, मास्कलाई सही तरिकाले लगाउनु पर्छ’, पुनले सुझाव दिँदै भने, ‘अनावश्यक सामानलाई सकेसम्म छुनु हुँदैन ।’

जोर-बिजोर प्रणालीको कार्यान्वयन हुन छाड्यो

उपत्यका प्रशासनले २४ भदौमा २० दिन लामो निषेधाज्ञा अन्त्य गर्दै सवारीसाधनलाई जोर-विजोर प्रणालीमा चल्न दिने निर्णय गर्‍यो । त्यसबेलाको निर्णयमा सार्वजनिक सवारी साधनको हकमा १६ सिटभन्दा बढी क्षमताका मात्र चल्न पाउने भनिएको थियो ।
यसरी सवारी साधन सञ्चालन गर्दा कुल सिट क्षमताको आधार नबढ्ने गरी एक लहरमा एकजना मात्र यात्रु राख्नुपर्ने भनिएको थियो । तर, यो नियम हाल कार्यान्वयन भएको छैन ।

१६ सिटभन्दा कम क्षमताका सवारी साधन पनि सञ्चालनमा छन् भने जोर-विजोर प्रणालीको कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन । प्रहरी, प्रशासनले अनुगमन पनि गर्न सकेको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल भने अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिइएको बताउँछन् । महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने तीन दिनदेखि जोर-बिजोर प्रणालीमा थप कडाइ गरिएको बताए ।
‘शुक्रबार अहिलेसम्मको अवधिमा मात्रै १ हजार १२५ जनालाई होल्ड गराएका छौं’, ढकालले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment