Comments Add Comment
अबिच्युरी :

कर्णालीको सेवामा जीवन समर्पण गरेका डाक्टर

क्लिनिकका बिरामीलाई अस्पतालमा पठाएर अप्रेसन गर्थे

१७ असोज, सुर्खेत । हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीवासीले सबैभन्दा पहिला सम्झिने नाम हो डा. हरिप्रसाद सापकोटा । बच्चादेखि वृद्धसम्म उनको नाम नलिने र उनको उपचारले निको नभएका कर्णालीमा कमै होलान् ।

तिनै डा. बिहीबार अपराहृन ३ बजे धर्तीबाट विलीन भएका छन् । कोरोना संक्रमणले थलिएका उनको बाँकेस्थित भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डा.सापकोटाको निधनसँगै कर्णालीवासीले एक ‘भगवान’ गुमाएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा १४ वर्षदेखि कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटा २०६३ भदौ एक गते भेरी अस्पताल बाँकेबाट तीन महिनाको काजमा तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आएका थिए ।

डा. सापकोटाले क्षेत्रीय अस्पलाको सुरुआती चरणमा सम्पूर्ण व्यवस्थापकीय काम गरेका थिए । अस्पतालको भवन निर्माण हुँदा बिहानदेखि साँझसम्म खटिन्थे । मिस्त्री (कालिगड)सँगै बसेर काम गर्थे ।

विगत १४ वर्षदेखि डा. सापकोटासँगै रहेर काम गर्दै आएका कर्णाली प्रदेश अस्पातलका मेडिकल रेकर्डर विनोद बस्नेत भन्छन्, ‘तत्कालीन क्षेत्रीय अस्पतालको संरचना उहाँले नै बनाउनु भएको हो । सायद त्यही भएरै होला, डा. सापकोटाको अस्पतालप्रति लगाब अलि बढी नै थियो । उहाँले जस्तोसुकै अवसर अए पनि कर्णाली छोड्नुभएन ।’

कठोर थियो व्यक्तिगत जीवन

हाडजोर्नीसम्बन्धी विशेषज्ञता हासिल गरेपछि करिब दुई वर्ष भेरी अस्पतालमा काम गरेका उनले त्यसपश्चात् सुर्खेतलाई नै आफ्नो कर्मथलो बनाए ।

बाँकेको खजुरा गाउँपालिका-३ निवासी डा. सापकोटाले केही वर्षअघि आफ्नी श्रीमती पनि गुमाएका थिए । उनका एक छोरा र एक छोरी छन् । उनीहरु विदेशमा छन् ।

डाक्टर सापकोटाले १४ वर्ष प्रदेश अस्पतालको एक नम्बर क्वाटरमै बिताए । निधन हुनुअघिसम्म उनी त्यही क्वार्टरमा एक्लै बस्दै आएका थिए । पछिल्लो समयमा बढ्दै गएको एक्लोपनले उनलाई कठोर बनाएको निकटहरु बताउँछन् ।

विशेषज्ञ चिकित्सक भए पनि उनले सरल र सामान्य जीवनयापन गर्दै आएका थिए ।

क्लिनिकका बिरामीलाई सरकारी अस्पताल पठाएर अप्रेसन गर्थे

डा. सापकोटा प्रदेश अस्पतालमा ११औँ तहमा वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । अस्पतालबाट बचेको समय वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपयोग गर्थे ।

आर्थिक अभावकै कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु हुन्न भन्ने मान्यता राख्ने डा. सापकोटा नर्सिङ होममा उपचाररत न्यून आयस्तर भएका बिरामीहरुलाई प्रदेश अस्पतालमा रिफर गरेर अप्रेसन गर्थे । ‘नर्सिङ होममा आएका गरीब बिरामीलाई सरकारी अस्पताल पठाएर सस्तोमा अप्रेसन गर्दिनु हुन्थ्यो,’ डा. सापकोटालाई सम्झिँदै मेडिकल रेकर्डर बस्नेतले भने, ‘सरकारी अस्पतालमा पनि मैले नै अप्रेसन गर्छु । त्यहाँ सस्तो पर्छ, उतै आउँनुस् है भन्नुहुन्थ्यो ।’

समय पालक र बिरामीप्रति नम्र

समय पालक, कामप्रतिको लगाव र बिरामीप्रतिको नम्र व्यवहार नै डा. सापकोटाबाट अन्य चिकित्सकहरुले सिक्नु पर्ने प्रदेश अस्पतालका डा. नवराज केसी बताउँछन् ।

‘उहाँ एकदमै समय पालक हुनुहुन्थ्यो । १० मिनेट लेट भए बरु छुट्टीमा बस्नुहुन्यो तर अस्पताल आउँनुहुन्नथ्यो,’ डा. केसीले सापकोटालाई सम्झँदै भने, ‘उहाँले आफ्नो पूरै जीवन दुर्गम कर्णालीको सेवामा समर्पित मात्र गर्नुभएन, हामी जस्ता चिकित्सकहरुलाई आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने प्रेरणा पनि दिनुभयो ।’

तत्कालीन क्षेत्रीय अस्पतालमा दुईपटक निमित्त मेडिकल सुपरिटेन्डेन (मेसु) समेत भएर काम गरेका डा. सापकोटाका कुशल चिकित्सक मात्र नभई कुशल प्रशासकसमेत भएको डा. केसी सम्झन्छन् । ‘सुरुआती दिनमा मलाई काम गराउँदा ‘डा. नवराज यो तपाईंको अस्पताल हैन । घर हो, यहाँ झाडु लगाउनेदेखि गेट कुर्नेसम्मको काम गर्दा पनि हुन्छ’ भन्नुहुन्थ्यो,’ त्यति बेलाको कुरा स्मरण गर्दै डा. केसीले भने ।

डा. सापकोटाले जहिले पनि सुपथ मूल्यमा राम्रो उपचार गर्नुपर्छ भन्दै आएको उनी निकटहरु बताउँछन् ।

बिरामीलाई फकाएरै निको बनाउँथे

डा. सापकोटा बिरामीलाई जहिले पनि माया गर्थे । नम्र र शालीन तरिकाले बिरामीसँग कुरा गर्ने डा. सापकोटा जुन ठाउँको बिरामी छ, त्यही ठाउँको भाषामा बिरामीलाई बुझाउने गरेको सेवाग्राहीहरु बताउँछन् ।

डा. सापकोटा हरेक बिरामीलाई समान व्यवहार गर्थे । ‘डा. सापकोटासँग मैले धेरैपटक उपचार गरेँ, उहाँले एकदमै सरल तरिकाले हामीलाई सम्झाएरै निको बनाउनुहुन्थ्यो,’ सेवाग्राही नवीना गिरीले भनिन् ।

सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी मात्र नभई, उनीबाट सेवा लिएका बिरामी तथा आफन्तसमेत यतिबेला एउटा कुशल डाक्टर गुमाउनुपर्दा पीडामा छन् ।

सुर्खेतमा हाडजोर्नी हस्पिटल खोल्ने चाहना अधुरै

डा. सापकोटाको चाहाना सुर्खेतमा हाडजोर्नी विशेषज्ञ हस्पिटल खोल्ने थियो । उनको अर्को सपना पनि थियो, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रोफेसर भएर सेवा गर्ने ।

तर उनीसँगै उनको सपना पनि विलिन भए । एउटै विभागमा रहेर काम गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले डा. सापकोटाको निधनले कर्णालीको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए । ‘उहाँको काम र व्यवहारबारे चर्चा गरेर कहिल्यै सकिँदैन । सबैलाई सम्मान गर्ने र कामप्रतिको लगावबाट म पनि निकै प्रभावित भएको थिएँ’ उनले भने ।

डा. सापकोटाले सुर्खेतमै हाडजोर्नीसम्बन्धी हस्पिटल खोल्ने सपना बुनेको पनि डा. रावलले बताउँछन् । ‘मेरो केही ठाउँमा जग्गा छ, त्यसैमा हस्पिटल खोल्ने भन्नुभएको थियो,’ उनले भने, ‘तर आफैं कहिल्यै नफर्किने गरी जानुभयो ।’

कर्णाली सरकारले मरोणोपरान्त सम्मान गर्ने

कर्णाली प्रदेश सरकारले सापकोटाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उचित सम्मान गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड विपद् व्यवस्थापन समितिको बैठकले यससम्बन्धी आवश्यक प्रस्ताव लैजान सिफारिस गर्ने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयले पनि शोक वक्तव्यमार्फत डा. सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएका डा. सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापका दीर्घरोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार भेन्टिलेटरमा राखिएको थियो । अन्ततः उपचारकै क्रममा उनको निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment