+

सेती नदीको कटान रोकेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

२०७७ असोज  १८ गते १५:०६ २०७७ असोज १८ गते १५:०६
सेती नदीको कटान रोकेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

१८ असोज, पोखरा । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानलाई सुविधा सम्पन्न र व्यवस्थित गराउन गण्डकी प्रदेश सरकार१ करोड रुपैयाँ छुट्यायो भने संघीय सरकारले २ करोड । तर दुई सरकारबीच समन्वय नहुँदा काम भएन र ३ करोड रुपैयाँ फ्रिज भयो ।

गण्डकी प्रदेश सरकारले पहिलो वर्षको नीति तथा कार्यक्रम र बजेटदेखि नै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने योजना ल्याएको थियो । तर प्रदेशको नाममा एक टुक्रा जमिन थिएन ।

गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अध्ययन गर्न भन्दै आर्थिक वर्ष ०७५/०७६मा १ करोड रुपैयाँ छुट्याएको थियो । गत आर्थिक वर्षमा त्यही शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गर्‍यो । तर एक रुपैयाँ पनि खर्च गर्न सकेन ।

तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन जग्गा पहिचान गर्न नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङको संयोजकत्व बनेको ध्ययन समितिले पोखरा–३३ भरतपोखरीको पशुपतिघाटको १ सय ७४ रोपनी जग्गा उपयुक्त रहेको भन्दै सिफारिस ग¥यो । पोखरा–२९ र ३३ को सीमा सेती नदी किनारको त्यही जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदान बनाउन प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश सरकारको आग्रहअनुसार १० माघ २०७६ मा संघीय मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि गण्डकी प्रदेशलाई जग्गा उपलब्ध गराउने निर्णय गर्‍यो । क्रिकेट मैदान निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बीआरएस इन्जिनियरिङ सोलुसन प्रालिले तयार पारेको डीपीआरमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गर्न १ अर्ब ६३ करोड लागत अनुमान गरिएको छ ।

१२३ रोपनी क्षेत्रफलमा बन्ने रंगशाला १८ हजार प्याराफिट क्षमताको हुने छ भने ७ वटा पिच बन्ने डीपीआर प्रतिवेदनमा छ । ९०० खेलाडी अट्ने कक्ष, १२० भीभीआईपी र १२ सय भीआइपी सिटरहने छ । ४ सय गाडी र ६ सय वटा मोटरसाइकल अट्ने पार्किङ बनाउन डीपीआरमा प्रस्ताव गरिएको छ । ७० सवारी अट्ने भीआइपी पार्किङ रहने छ । १ सय जना अट्ने मिडिया कक्ष रंगशालामा हुने छ ।

टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने क्रिकेट मैदान निर्माण कम्तीमा ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

क्रिकेट मैदान बनाउने भनिएको जग्गाको पूर्व भाग अघिल्लो साल सेती नदीले कटान गरेको थियो । नदीले बहाव परिवर्तन गर्दा फेरि अर्को ठाउँमा हान्ने सम्भावना छ । बर्सेनि नदीले कटान गरिएको जग्गामा ठूलो बजेटको रंगशाला प्रदेश सरकारले बनाउँछ त ?

प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘तत्काल जग्गा संरक्षणका काम थाल्छौं । ठूलो बजेटको आयोजना भएकाले बहुवर्षीय आयोजनामा समावेस गरेर निर्माण थाल्छौं ।’ रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिइन् । ‘यो बजेटबाट तत्काल तटवन्ध निर्माण गर्ने काम अगाडि बढाउँछौं,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा सूचीकृत गर्न प्रदेश नीति तथा योजना आयोगमा पठाइएको मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जानकारी दिए । रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए)को प्रक्रिया अगाडि बढेको उनले बताए ।

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको काम थालनी भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । बहुवर्षीय आयोजनाका रुपमा अन्य सरकारसँगको समेत सहकार्यमा रंगशाला निर्माण हुने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

क्रिकेट रंगशाला खेलकुद पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
अमृत सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय