Comments Add Comment

देशैभर खुले पर्यटकीय गतिविधि, घुमघाममा भने अझै अन्यौल

फाइल तस्वीर

१८ असोज, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ ।

नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन् । यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, रारा ताल र पोखराका गन्तब्यमा नेपालीहरुको चासो बढी देखिएको छ । नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीका अनुसार १ असोजपछि देशैभर आन्तरिक पर्यटनका धेरैजसो गतिविधि सुचारु भएका छन् ।

पहिला व्यवसायी र सरोकारवाला निकायहरु नै घुमफिर गरेर पर्यटकीय माहोल बढाउने प्रयास भइरहेको छ । ‘आफैं सर्वप्रथम फिल्डमा गएर अनुभव गरेपछि मात्र आफ्ना पाहुनालाई राम्रो सेवा दिन सकिन्छ,’ सीइओ रेग्मी भन्छन्, ‘त्यसकारण पर्यटन व्यवसायीलाई नै घुमघाममा प्रोत्साहन गरिरहेका छौं ।’

पदयात्रा र पर्वतारोहण

बहराइनको टोली

सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेसँगै यससँग सम्बन्धित गतिविधि बढेको छ । अहिले बहराइनका १८ जनाको टोली सगरमाथा क्षेत्रमा छ । बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल चढिसकेको छ । अब सोही टोली मनास्लु हिमाल आरोहणमा जाने छ ।

पर्यटन विभागका अनुसार एक टोलीले यो सिजन हिमाल आरोहणका लागि अनुमति लिएको छ । पदयात्राका लागि भने विदेशबाट पर्यटक आइसकेका छैनन् । नेपालीहरुको चासो भने बढेको व्यवसायी बताउँछन् ।

घुमफिरका लागि आकर्षक प्याकेज ल्याएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सगरमाथा क्षेत्रका लागि धेरै नेपालीले दशैंमा घुमफिरको योजनासहित प्याकेज बुक गरिसकेका छन् । दोस्रो आकर्षण मुगुको रारामा देखिएको छ । तेस्रोमा कास्कीको घान्दु्रक यात्राका लागि नेपालीको बढी बुकिङ आइरहेको छ ।

देशैभर खुले होटेल

होटेल संघ नेपाल (हान)का अनुसार देशभरका मुख्य पर्यटकीय गन्तब्यका होटेल खुलेका छन् । यद्यपि, पाहुना भने छैनन् ।

देशभर क्वारेन्टिन भनि तोकिएका बाहेक अन्य होटेल पनि खुला भएको सन्देश प्रवाह गर्न होटलहरु खुलेको संघका सदस्य युवराज श्रेष्ठ बताउँछन् । ‘अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल खुल्यो भन्ने सन्देश दिन मात्र होटेल खुलेका छन्,’ श्रेष्ठ भन्छन्, ‘तर, पाहुना छैनन् ।’

उनका अनुसार पोखरा, चितवन र धुलिखेलमा भने नेपाली पाहुनाको आगमन बढ्न थालेको छ । सोहीअनुसार यी गन्तब्यमा व्यवसायीले पनि सस्तो प्याकेजमा सेवा बेच्न थालेका छन् ।

ठूला शहरबाट नजिकै रहेका गन्तब्यमा शुक्रबार र शनिबार पाहुना बढेको हानको भनाइ छ । चन्द्रागिरि रिसोर्टसहित काठमाडौं नजिकका रिसोर्ट, धुलिखेल, सौराह र पोखरामा आन्तरिक पर्यटक बढिसकेका छन् ।

उड्न थाले प्याराग्लाइडिङ

नेपाल पर्यटन बोर्ड पोखरा च्याप्टरका अनुसार नेपालको मुख्य पर्यटकीय गन्तब्य पोखरामा २ असोजबाट सम्पूर्ण पर्यटकीय गतिविधि सुचारु भएको छ । यसमा सबैभन्दा आकर्षक प्रडक्ट प्याराग्लाइडिङ बनेको छ ।

यसबाहेक पोखरामा होटेल, ट्रेकिङ, ट्राभलसहितका पर्यटकीय गतिविधि खुला भएका छन् । काठमाडौंबाट हरियो नम्बर प्लेटका पर्यटक गाडीले पोखरा र चितवनका लागि सेवा थालेका छन् ।

यी सबै गतिविधिमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकारको गाइडलाइन र नेपाल पर्यटन बोर्डले बनाएको सुरक्षा मापदण्डलाई पूर्ण पालना अनिवार्य गरिएको बोर्ड, पोखरा च्याप्टरले बताएको छ ।

देशैभरका होमस्टे पाहुनाको स्वागतमा तयार

पछिल्लो समय आतिथ्य सेवामा आकर्षक उत्पादन हो होमस्टे । कम लगानीमा मनग्य आम्दानी हुने र ग्रामिण भेगमा शहरको पैसा आउने उत्पादनका रुपमा रहेका होमस्टेले देशभरबाट सेवा सुरु गरिसकेको होमस्टे एशोसिएसनका अध्यक्ष केशव बडालले जानकारी दिए ।

‘बढी संक्रमण रहेको स्थानमा स्थानीय समुदायको समन्वयमा एक–दुई स्थानमा सुचारु हुन बाँकी होला’, उनी भन्छन्, ‘तर, देशैभर होमस्टे खुला गर्ने निर्णय हामीले गरिसकेका छौं ।’

बडालका अनुसार लकडाउन र निषेधाज्ञाको समयलाई धेरै होमस्टेले अपुग पूर्वाधार थप गर्ने अवसरका रुपमा उपयोग गरे । अहिले क्षमता अभिवृद्धिसहित होमस्टेहरु पाहुनाको सेवामा तयार भएको उनले बताए । अब लमजुङको घलेगाउँदेखि बर्दियाको डल्लासम्मका होमस्टेमा अब निर्धक्क बस्न सकिने बडाल बताउँछन् ।

जलयात्रा र जीपलाइन पनि सुरु

नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा)ले १ अक्टोवरबाट देशभरका नदीमा जलयात्रा खोल्ने निर्णय गरेको छ । आफ्नो समूह बनाएर पर्यटक जलयात्रामा जान चाहेमा त्यसको प्रवन्ध गरिने नाराका अध्यक्ष गंगा प्रसाद नेपाल बताउँछन् ।

आन्तरिक तथा बाह्य पर्यटकबाट चासो राखेर सोधखोज शुरु भएकोले यो निर्णय गरेको उनले बताए । कोरोनापछि कुनै टोली नदीमा जलयात्राका लागि भने गइसकेको छैन । नेपालमा जलयात्राको मौसमसमेत भर्खरै प्रारम्भ भएको छ ।

धुलिखेलमा जीपलाइनमा रमाउन चाहनेका लागि पनि उत्साहजनक खबर छ । कम्पनीले पूर्ण सुरक्षा प्रवन्ध गरेर शनिबारबाट सेवा प्रारम्भ गरेको जानकारी दिएको छ ।

बन्जीका लागि भोटेकोशी जानेहरुले भने अझै केही समय कुर्नुपर्ने भएको छ । कम्पनीले शुक्रबार फेसबुकमा आफ्ना ग्राहकलाई एक सन्देश पोष्ट गरेको छ, जसअनुसार अब बन्जीका लागि सबै मुलुकका नागरिकले समान शुल्क तिर्नुपर्ने छ ।

घुमघाममा अन्यौल कायमै

पर्यटकीय गतिविधि प्रारम्भ भएपनि आम मानिसमा अन्यौल कायम छ । हवाई उडान शुरु भएका तीन गन्तब्य लुक्ला, मुगु र डोल्पा विमानस्थलमा स्थानीय सरकारले पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य भनेका छन् । यसले ती क्षेत्रको गन्तब्यमा जाने यात्रुले कोरोना परीक्षण गराउनै पर्नेछ ।

दुर्गमका गन्तब्यमा पर्याप्त पूर्वाधारको अभाव छ । सबैतिर सामाजिक दूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना हुनेमा पनि पर्यटक ढुक्क हुनसक्ने वातावरण छैन । महामारीका बेला जहाँ सहज छ, त्यहीँबाट यात्रा गर्नुपर्ने बोर्डका सीइओ रेग्मी बताउँछन् ।

‘पर्यटन उद्योगलाई बचाउन घुमफिरको विकल्प छैन,’ उनले भने, ‘तर यस्तो बेला आफू जान चाहेको गन्तब्यमा समस्या छ भने अर्को ठाउँको यात्रामा निस्कनु राम्रो हुन्छ ।’

आन्तरिक एअरलाइन्सका अक्कुपेन्सी ९० प्रतिशत

५ असोजबाट आन्तरिक एअरलाइन्सले साविकको तुलनामा २५ प्रतिशत उडान गर्न थाले । १५ असोजबाट यो संख्या १०–१५ प्रतिशतसम्म वृद्धि भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु औसत ९० प्रतिशत सिट भरिएर उडिरहेका छन् ।

हवाई यात्रा गर्नेमा अधिकांश घुमफिर नभई अत्यावश्यक काममा निस्कनेहरु छन् । दशैंका सामान किनमेल गर्ने व्यापारीदेखि बिरामी र अत्यावश्यक काममै निस्कने यात्रुले जहाज भरिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment