+
+
Shares

फोक्सुन्डोमा ‘फोटोनेपाल’ कला प्रदर्शनी, १५ थान थाङ्का प्रस्तुत

प्रदर्शनीले डोल्पाको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको कला, संस्कृति र जीवनशैलीलाई समेत पर्यटन प्रवर्द्धनको कथासँग जोडेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डको ‘फोटोनेपाल’ अभियानअन्तर्गत डोल्पाको फोक्सुन्डोमा २ देखि ४ असोजसम्म तीन दिने फोक्सुन्डो आर्ट एक्जिबिसन आयोजना गरिएको छ ।
  • समुदुप फाटेन गुम्बामा भएको प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ थान थाङ्का चित्र र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
  • प्रदर्शनीले डोल्पाको प्राकृतिक, सांस्कृतिक र जीवनशैलीका कथालाई पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्य राखेको छ ।

५ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डको ‘फोटोनेपाल’ प्रदर्शनी अभियान अन्तर्गत डोल्पाको फोक्सुन्डोमा तीन दिने फोक्सुन्डो आर्ट एक्जिबिसन आयोजना गरिएको छ ।

२–४ असोजसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ थान थाङ्का चित्र प्रस्तुत गरिएको थियो । समुद्र सतहबाट ३ हजार ६ सय ११ दशमलव ५ मिटर (११ हजार ८ सय ४७ फिट) उचाइमा आयोजित प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रदर्शनीले डोल्पाको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको कला, संस्कृति र जीवनशैलीलाई समेत पर्यटन प्रवर्द्धनको कथासँग जोडेको छ । फोटोनेपालले सुरुदेखि नै नेपालका कथा जहाँ छन्, त्यहीँ पुगेर ती कथा प्रस्तुत गर्ने प्रयास गर्दै आएको बोर्डले जनाएको छ ।

फोटोग्राफीसँगै अन्य दृश्य कलालाई पनि यस अभियानसँग जोड्दै कलाकार, समुदाय र पर्यटकबीच सम्बन्ध स्थापित गर्ने उद्देश्य राखिएको छ ।

‘फोक्सुन्डो जस्तो प्राकृतिक तथा सांस्कृतिक रूपमा विशिष्ट स्थानमा कला प्रदर्शनी आयोजना हुनु फोटोनेपाल यात्राको अर्को महत्त्वपूर्ण आयाम हो,’ पर्यटन बोर्डका वरिष्ठ अधिकृत तथा फोटोनेपाल प्रदर्शनी अभियानका नेतृत्वकर्ता सुधन सुवेदीले भने ।

उनले कला प्रदर्शनीका लागि सहरका ग्यालरीमै सीमित हुन आवश्यक नरहेको बताए । ‘कहिलेकाहीँ हिमाली गाउँ, गुम्बा वा स्थानीय समुदाय र पर्यटक भेटिने सार्वजनिक स्थल नै कला प्रस्तुत गर्ने उत्कृष्ट ठाउँ बन्न सक्छ,’ सुवेदीले भने, ‘यस्ता कार्यक्रमले गन्तव्यलाई केवल प्राकृतिक दृश्यबाट मात्र नभई त्यहाँका मानिस, परम्परा, सिर्जनशीलता र जीवन्त संस्कृतिबाट पनि बुझ्ने अवसर दिन्छ ।’

सन् २०१६ मा पर्यटन बोर्डबाट सुरु भएको फोटोनेपाल नेपालका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, जनजीवन र गन्तव्यलाई फोटोग्राफी तथा दृश्य कथामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अभियानका रूपमा अघि बढ्दै आएको छ ।

अभियान अन्तर्गत नेपालका विभिन्न गन्तव्य तथा स्वदेश र विदेशका विभिन्न स्थानमा फोटो तथा कला प्रदर्शनी आयोजना हुँदै आएका छन् । हालसम्म फोटो नेपालको सयभन्दा बढी प्रदर्शनी आयोजना भइसकेको छ ।

फोक्सुन्डो आर्ट एक्जिबिसन पर्यटन बोर्ड, फार ग्यालरी, तेर्च्हु निर्माण सेवा प्रालि, बज्र प्रिन्ट्स तथा एक्स्प्लोर, डोल्पो ट्रेक एन्ड एक्स्पिडिसन प्रालिको सहकार्यमा आयोजना गरिएको हो ।

प्रदर्शनीले डोल्पाको कला, संस्कृति र गन्तव्य पहिचानलाई दृश्य माध्यमबाट थप उजागर गर्नुका साथै फोटोनेपालका माध्यमबाट नेपालको विविध पर्यटन कथालाई स्थानीय तहसम्म पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?