Comments Add Comment

प्रहरीको बदमासी : बलात्कार प्रयासको उजुरी कुटपिट शीर्षकमा दर्ता

१९ असोज, सप्तरी । सप्तरीको खडक नगरपालिकामा मिलापत्र गरेर लुकाउन खोजिएको बलात्कार प्रयास घटनामा नयाँ तथ्य बाहिर आएको छ । घटनापछि पीडित परिवार उजुरी दिन प्रहरी कहाँ जाँदा कुटपिट शीर्षकमा उजुरी दर्ता गरेको पाइएको छ ।

२५ भदौमा खडक नगरपालिका वडा नम्बर १० का ३ जना युवकले लालपुरकी १७ र १६ वर्षीया महिलाको बलात्कार प्रयास गरेका थिए । घटनापछि १७ बर्षीया किशोरी र उनकी आमा २६ भदौमा उजुरी दिन इलाका प्रहरी कार्यालय कल्याणपुर पुगेकी थिइन् । किशोरीकी आमाका अनुसार आफूहरुले घटनाबारे बताएपछि प्रहरीले कुटपिट शीर्षकमा उजुरी दर्ता गरेका थिए ।

त्यसलाई टेकेर इलाका प्रहरी कार्यालय कल्याणपुरकै प्राङ्गणमा २८ भदौमा पञ्चायती बसाएर मिलापत्र गराइएको थियो । पीडित परिवारलाई रकम दिन भन्दै पीडक पक्षबाट ५ लाख ५० हजार रुपैयाँ लिएर पञ्चहरुले मिलापत्र गराएका थिए ।

नगरपालिकाका मेयर हेमायु हक, वडा नम्बर ११ का वडाध्यक्ष रामकृष्ण चौधरी, नेकपाका स्थानीय नेता शत्रुधन साह ‘आजाद’, जनता समाजवादीका परमेश्वर साह, राजाराम यादवसहितका नेता र प्रहरीले मिलापत्र गराउन भूमिका खेलेका थिए ।

तर सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले भने त्यतिबेला कुटपिटकै उजुरी आएको बताउँछन् । उनले भने, ‘बलात्कार प्रयासको उनुरी आएको भए त्यहीअनुरुप अगाडि बढ्थ्यौं ।’

पीडित परिवारलाई मानसिक तनाव

श्रीमान वैदेशिक रोजगारीका निम्ति मलेसिया गएपछि १७ बर्षीया महिला आमासँग बस्दै आएकी थिइन् । आमा छोरीलाई बलात्कार प्रयासको पीडा त छँदैछ, स्थानीय अगुवाहरुले कुटपिट मात्रै भएको भन्न दबाव दिएपछि थप तनावमा परेका छन् ।

पीडित परिवारलाई दिन भन्दै सृजना फाइनान्स लिमिटेडको बोदे बर्साइन शाखामा खाता खोलेर राखिएको रकममध्ये १ लाख ५० हजार रुपैयाँ झिकेपनि उनलाई दिइएको छैन । यो रकम देखाएर पीडित परिवारलाई लोभ्याउने खेलमा स्थानीय अगुवा लागिपरेका छन् ।

जनता समाजवादी पार्टीका नेता परमेश्वर साह र लक्ष्मी मण्डलको नाममा खोलिएको संयुक्त खातामा पीडक पक्षबाट लिइएको ५ लाख ५० हजारमध्ये ३ लाख रुपैयाँमात्रै राखिएको थियो । त्यसमध्ये १ लाख ५० हजार रुपैयाँ झिकेर परमेश्वरले आफ्नो साथमा राखेका छन् ।

‘यो रकम झिकेर के गर्नुभयो ?’ भन्ने प्रश्न गर्दा परमेश्वरले यसबारेमा अहिले केही कुरा नगर्ने भन्दै फोन काटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment