Comments Add Comment

कोरोना नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो- कांग्रेस

१९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था समेत गर्न नसकेको बताएका छन् । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई राख्ने समुचित आइसोलेसनको व्यवस्था सरकारले गर्न नसकेको कांग्रेसको आरोप छ ।

‘विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ ।’ नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक समेत रहेका महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

उचित व्यवस्थापन हुन नसक्दा संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेका कारण संक्रमण झन बढेको कांग्रेसको बुझाइ छ ।

मापदण्ड अनुरुप बस्ने व्यवस्था नभएका संक्रमितहरुलाई राख्न सरकारले आइसोलसनको तत्काल व्यवस्था मिलाउनु पर्ने र लक्षण देखिएका संक्रमितहरुलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनु पर्ने माग कांग्रेसले अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment